एक्सेलको नाफा १५ करोड

बिर्तामोड । झापाको पहिलो विकास बैंक एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले चुक्ता शेयर पुँजीको ३० दशमलव १२ प्रतिशतका दरलेे बोनस शेयर वितरण गर्ने भएको छ । आइतबार बिर्तामोडमा भएको बैंकको १२ औँ वार्षिक साधारणसभाले यस्तो प्रस्ताव पारित गरेको हो ।

त्यस्तै, उक्त बोनस शेयर वितरण गर्दा कर मिलान प्रयोजनार्थ १ दशमलव ५९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । साथै, साधारणसभाले सर्वसाधारण समूहका शेयरधनीहरुमध्येबाट पुरुषोत्तम लम्साललाई संचालक निर्वाचित गरेको छ ।

आर्थिक वर्ष २०७३/०७४ मा खुद मुनाफा १५ करोड ०४ लाख ४९ हजार रुपैयाँ गर्न सफल यस बैंकको हालसम्म लगानीमा रहिरहेको कर्जा ३ अर्व ९३ करोड रुपैयाँ रहेको छ । निक्षेप संकलन ४ अर्ब ५१ करोड रुपैयाँ रहेको छ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको यस बैंकले हाल झापा, इलाम र मोरङका विभिन्न २१ स्थानमा रहेका आफा शाखा कार्यालयहरुमार्फत ग्राहकसमक्ष बैंकिङ सेवा प्रदान गरिरहेको छ । आगामी दिनमा थप शाखा विस्तारकोे लक्ष्य लिइएको छ । १२ औँ वार्षिक साधारणसभाबाट पारित बोनस शेयर तथा चालु आर्थिक वर्षमा निष्काशन गरिएको हकप्रद शेयर पश्चात बैंकको चुक्ता पुँजी ६९ करोड २६ लाख ७४ हजार रुपैयाँ पुग्नेछ । बैंकले चाँडै बिर्तामोडको गरामनी बजारमा शाखा सञ्चालनमा ल्याउने योजना बनाएको छ ।

सञ्चालक समितिका अध्यक्ष हेमराज ढकालको अध्यक्षतामा भएको वार्षिक साधारणसभाको उद्घाटन प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी र ढकालले संयुक्त रुपमा गरेका थिए । सञ्चालक गणेश खनालले स्वागत गरेका कार्यक्रममा नगर प्रमुख शिवाकोटी, पूर्वअध्यक्ष चेतप्रसाद भट्टराई, पूर्वसञ्चालक कृष्णप्रसाद मिश्र, ज्येष्ठ नागरिक कृष्णप्रसाद उप्रेतीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Facebook Comments