खुला दिसामुक्त अभियान कसरी सफल बन्ला ?

सन् २०१७ सम्ममा नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने अभियान जारी छ । २०१७ सकिन अब २५ दिन बाँकी रहँदा अझै धेरै क्षेत्र र जिल्लाहरु खुला दिसामुक्त घोषणा हुन बाँकी छन् । व्यस्त सहरहरुमा सार्वजनिक शौचालय नहुँदाको समस्या ज्यूँका त्यूँ छन् । खुलेआम दिसापिसाब गर्नेहरु अझै भेटिन्छन् । खोला किनार, झाडी, जङ्गल र अव्यवस्थित शौचालयका कारण अझै धेरै ठाउँ दुर्गन्धित छन् । के अब २५ दिनभित्रमा नेपाल खुला दिसामुक्त घोषणा होला ? नेपाललाई साँच्चै खुला दिसामुक्त घोषणा गर्न कस्तो पहल जरुरी छ ? कस्ता कार्यक्रम आवश्यक छ ? यसका लागि सर्वसाधारण र सम्बन्धित निकायको कस्तो भूमिका आवश्यक छ ?

गीतकार मोहन बराल थापा
सर्वप्रथम त यस बारेमा प्रत्येक समुदायमा स्थानीय निकाय वा सम्बन्धित निकायबाट समय-समयमा एउटा-एउटा भेला गराएर जनचेतनामुलक प्रभावकारी सूचना तथा सन्देश प्रवाह गर्न अपरिहार्य हुन्छ । त्यसपछि आ-आफ्नो घर, विद्यालय, कार्यालय, संघसंस्थामा शौचालयको सही सदुपयोग, यसको प्रयोगबाट हुने फाइदा अनि बेफाइदा, शौचालय निर्माण गर्नुको सार्थकता, खुल्ला दिसा-पिसाब गर्दा हुने वातावरणीय प्रदूषण र यसका असरहरू, जलीय प्रदूषण इत्यादिका बारेमा बेला-बेलामा छलफल चलाउनु अनिवार्य हुन्छ । थोरै समय अवधिमा यसबारेमा प्रभावकारी ढ·ले सूचना सञ्चार गर्न नसकिए तापनि एउटा दीर्घकालीन ठोस कार्य योजना बनाएर फरक-फरक समयमा विभिन्न तौर-तरिकाबाट यसको प्रचार-प्रसार गर्न सकिन्छ ।

त्यति मात्र नभई अन्य सञ्चारका माध्यमहरु जस्तै रेडियो, टेलिभिजन, पत्रपत्रिकामार्फत श्रव्य-दृश्यमूलक, सन्देश मुलक रेडियो नाटक, गीति सन्देश, लघु टेलिशृङ्खलालाई प्राथमिकताका साथ प्रसारण गर्नुपर्ने हुन्छ । सुरुमा शौचालय नभएका घरमा अनिवार्य शौचालय निर्माण गर्न लगाउने र तत्पश्चात हौसला र सान्तवना स्वरुप सामान्य पुरस्कार प्रदान गर्नुपर्छ । शौचालय निर्माणपछि त्यसको सदुपयोग भइरहेको छ या छैन, यस बारेमा पनि बेला-बेलामा अध्ययन, अवलोकन र मूल्याड्ढन हुनु पर्दछ । सार्वजनिक स्थल वा अन्य स्थलहरूमा खुल्ला रुपमा यदि कसैले शौच गरेको पाइएमा त्यस्ता व्यक्तिहरूलाई जरिवाना गराउनु पर्दछ ।

झापाली घाँ डो
सर्वप्रथम त गरिबी र अशिक्षित जहाँ बढी हुन्छन् त्यही दुर्गन्धित बढ्ने हो ! शिक्षाको कमीले यस्ता समस्या आउने हुन् । जहाँ गरिबी र बाक्लो बस्ती हुन्छ, त्यहीँ खुल्ला दिसामुक्त छेत्र हुन सकिराख्या छैन । अझै पनि त्यस्ता गरिबी र पिछडिएका वर्गमा सरकारले नै अनुदान स्वरुप सामुहिक शौचालय बनाइदिनुपर्ने हुन्छ ! सबैलाई सचेनामूलक कार्यक्रममा सहभागी गराइ सचेत बनाउन जरुरी छ । खुल्ला दिसा गर्दा त्यसले निम्त्याउने रोग र समस्याका बारेमा जानकारी नहुनु कै उपज हो अझ यो समस्याबाट समाज अछुतो नरहनुको कारण ! बजार क्षेत्रमा सार्वजनिक शौचालय जनघनत्वअनुसार निर्माण नहुनु पनि अर्को मूल समस्या हो !

झापाली ठिटो
नेपालमा धेरै मानिस गरिब छन् । उनीहरुले उचित शिक्षा पाउन सकेका छैनन् । सरकारले पनि उचित शिक्षा दिन नसक्नु भनेको नेपाल सरकारको लाजमर्दो कुरा हो । अटेरी व्यवहार पनि एउटा कारण हो । त्यसमाथि अशिक्षित हुनु अर्को नराम्रो कुरा हो । खुला दिसामुक्त सफल बनाउन सरकारको एकतर्फी प्रयासले मात्र हुँदैन । सबै नेपालीले पनि यो अभियानलाई सफल बनाउन सरकारलाई सहयोग गर्नुपर्छ । दुर्गम भेगमा गरिबी र अशिक्षाको कारणले यो अभियान सफल हुन सकेको छैन । यसको लागि गरिबी हटाउन आयस्तर बृद्धि गर्न जरुरी छ । अनि सबैलाई दिसापिसाबबाट लाग्ने रोगको जानकारी र्पुयाउन पनि आवश्यक छ ।

विसरराज चुडाल
देशलाई खुला दिसामुक्त बनाउनु राम्रो कुरा हो । त्यसका लागि सार्वजनिक चर्पी हुनुपर्छ, खुला ठाउँमा दिसा गरे विभिन्न सरुवा रोग लाग्छ भन्ने ज्ञान सबैमा हुनुपर्छ । विभिन्न कारणले गर्दा सुकुम्बासी हुन बाध्य भएका मानिस छन् । उनीहरुको चर्पी बनाउने ठाउँ छैन, आर्थिक अवस्था छैन । हो यस्ता मानिसलाई स्थानीय सरकारले वैकल्पिक उपाय बारेमा सोच्नुपर्छ । हाम्रो बानी के छ भने समय भइन्जेल याद नगर्ने, समय सकिन आँट्दा हतारहतार गर्ने । हो यस्तै देखिएको छ अहिले २५ दिनमा खुला दिसामुक्त बनाउन धेरै गाह्रो हुन्छ ।

वेदप्रकाश दवाडी
नेपाल एउटा विकासोन्मुख राष्ट्र हो । यहाँका धेरै जनता अशिक्षा र गरिबीको रेखामुनि रहेका छन् । धेरै ठाउँहरुमा सुकुम्बासी बस्तीहरु छन् । दिनभरिको निमेक र मजदुरीले दुई छाक टार्न नसक्ने जनताले आफ्नो दैनिक गुजरा चलाउनु कि व्यवस्थित शौचालय बनाउनु ? अर्को पक्ष त यो पनि छ कि एउटै शौचालयमा अर्थात् एकै ठाउँमा दिसापिसाब गर्नुहुँदैन भन्ने पनि विभिन्न समुदायमा अन्धविश्वास प्रशस्तै भेट्न सकिन्छ । कतिपयले शौचालयको महत्व तथा खुला ठाउँमा दिसापिसाब गर्दा हुने सम्भावित हानि र रोगहरुको बारेमा थाहा नपाएर पनि खुला स्थानमा दिसापिसाब गर्ने गर्छन् । विडम्बना त यो पनि छ कि नेपालकै विकसित तथा व्यवस्थित मानिने सहरहरुमा सार्वजनिक शौचालयको अभाव छ । त्यसैले जहाँत्यहीँ दिसापिसाबबाट दुर्घन्धित भएको पाइन्छ ।

सन् २०१७ भित्रमा नेपाल एउटा खुला दिसामुक्त क्षेत्र हो भनेर कागज र भाषणमा त घोषणा गर्न सकिएला तर व्यावहारिक रुपमा घोषणा हुन असम्भजस्तै छ । नेपाललाई साच्चिकै खुला दिसामुक्त राष्ट्र बनाउन स्थानीय स्तरबाटै पहल गरिनु पर्छ । सबैमा शौचालयको महत्व तथा आवश्यकता जनाउने किसिमको जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिनु पर्दछ । विपन्न वर्गका परिवारहरुलाई शौचालय निर्माणका लागि अनुदानको व्यवस्था गरिनु पर्दछ । सबै नागरिकमा आफ्नो ठाउँ आफै बनाऔँ भन्ने भावना जागृत हुनु आवश्यक छ । व्यस्त सहरहरुमा पर्याप्त सार्वजनिक शौचालय र महिलामैत्री शौचालयहरु बनाइनु आवश्यक छ । सबै अशिक्षित नागरिकमा शौचालय प्रयोग गर्न शिक्षित नागरिकले प्रेरित गर्नु पर्दछ । अनि शौचालयबाहेक खुला ठाउँमा दिसापिसाब गर्नु अपराध हो भन्ने मनसाय सबैमा घुस्न सक्यो भने मात्र नेपाल साच्चिकै खुला दिसामुक्त राष्ट्र हुनेछ ।

कुशल नेपाल
देशको समृद्धिका लागि खुल्ला दिसामुक्त बनाउन अति आवश्यक छ । नेपाल सरकारले खुल्ला दिसा मुक्त क्षेत्र बनाउनको लागि अभियान नै चलाएको छ । यसमा हामीले पनि साथ दिन जरुरी छ । खुल्ला दिसा गर्दा हुने विभिन्न रोगहरुको बारेमा हामी जानकारहरुले सबैलाई सचेत गराउनुपर्छ । प्रत्येक घर-घरमा शौचालय हुन जरुरी छ । नेपालमा भएका गरिब तथा पिछडिएका वर्गका बस्तीमा सरकार वा कुनै संस्थाद्वारा सामुहिक शौचालय बनाइनुपर्छ । यसबाट खुल्ला दिसामुक्त क्षेत्र बनाउने अभियानलाई अझ टेवा पुग्छ । सरकारले देशको मुख्य मुख्य सहरमा सार्वजनिक शौचालयको निर्माण गरिदिए खुल्ला दिसामुक्त क्षेत्र अभियानका लागि ठुलो उपलब्धि हुने थियो ।

रञ्जना खतिवडा
विडम्बना त के छ भने जहाँ दिसापिसाब गर्न मनाही छ भनेर होर्डिङ बोर्ड राखिएको हुन्छ, त्यसकै पछाडि गएर दिसापिसाब गर्नेको घुइँचो हुन्छ । नगरुन् पनि कसरी भोक सहन सकिन्छ तर दिसापिसाब रोक्न सकिँदैन र रोक्नु पनि हुँदैन । किनकि यसले स्वास्थ्यमै असर गर्छ । आफ्नो गाउँ आफैँ बनाउँ भन्ने सोच रखेर प्रत्येक चोक र मानिसको भिडभाड हुने स्थानमा सार्वजनिक शौचालय बनाउन सके खुला दिसापिसाब मुक्त क्षेत्र बनाउन सकिन्छ । यदि सरकार, स्थानीय बासिन्दा र सम्पूर्ण संघसंस्था मिलेर खुल्ला दिसापिसाबमुक्त देश बनाउन सके दुर्गन्ध र अनेकौँ रोगबाट पनि मुक्ति पाइने थियो । तर, यात्रा गर्दा सार्वजनिक शौचालय त के आफूले खाना खाएको होटलमा शौचालय नहुँदा बाटोको किनारमा मुख छोपी बस्न जो कोही बाध्य छ ।

अमित संग्रौला
सर्वप्रथम यो थाहा हुनुर्पयो कि हामीले चर्पीमा दिसापिसाब गर्नुपर्छ । घर-घरमा चर्पी अनिवार्य रुपमा बनाएको हुनुपर्छ । गरिब अशिक्षा जनचेतनाको अभाव पिछडिएको समुदायको परिवारले चर्पी बनाउँदैनन् । तिनीहरुले खुला ठाउँमा शौच गरिएको देखिन्छ । जनचेतनाको अभाव र चेतना भएकाले समेत चर्पीमा गर्ने बानी बसाउँदैनन् । चर्पीमा मात्र दिसापिसाब गर्दा के हुन्छ ? खुल्ला ठाउँमा गर्दा के हुन्छ ? यो कुरा अव्यवस्थित भयो भने कस्ता कस्ता रोग लाग्न सक्छ ? यसबारे विभिन्न ठाउँमा जनचेतनामूलक कार्यक्रम लिएर लैजानु पर्छ । अहिलेको यो समयमा स्व्च्छता हुन धेरै आवश्यक छ । यस कुरामा सरकारको विशेष पहल हुनुपर्दछ । घर-घरमा चर्पी बनाऔँ आफू बसेको ठाउँमा स्वच्छता कायम राखौं भन्ने मूल नारा लिएर अघि बढ्नु पर्छ । यसलाई आफू बसेको ठाउँबाट नै सुरु गर्ने हो । खुल्ला ठाउँमा दिसापिसाब नगर्ने कसैले गरेको देखियो भने उनीहरुलाई चर्पीमा मात्र गर्न अनुरोध गर्ने, उनीहरुलाई सिकाउने गर्नुपर्छ । यस अभियानमा हामी सबैले साथ दियौँ भने सफल हुन केही बेर लाग्दैन ।

Facebook Comments