सीमा नाकाबाट नेपाल छिरे भारतीय नागरिक

झापा । आसन्न निर्वाचनलाई मध्यनजर गर्दै नेपाल-भारत सीमा नाका शिल गरिएपछि सर्वसाधारणले आवागमनमा सास्ती व्यहोर्नु परेको छ । नेपाली नागरिकलाई परिचयपत्र हेरेर नेपाल प्रवेश गर्न दिइए पनि विराटनगरको रानी नाकाबाट भारतीय नागरिकहरु सहज रुपमा नेपाल प्रवेश गरिरहेका छन् ।

रानीदेखि करिब ३ सय मिटर उत्तर-पश्चिमको भारतीय मार्ग प्रयोग गरेर भारतीय नागरिक आउने क्रम जारी रहेको हो । विराटनगरको मुख्य नाका क्षेत्र रानीमा सशस्त्र प्रहरी तैनाथ गरेर आवतजावतमा पूर्ण प्रतिबन्ध गरिए पनि सहज रुपमा भारतीय नागरिकले आवतजावत गर्न थालेपछि निर्वाचन मुखमा सुरक्षा चुनौती बढेको छ ।

नेपाल-भारतको सीमा क्षेत्र दरैयाबाट पनि नेपाल प्रवेश गर्नेको घुइँचो लाग्ने गरेको छ । त्यहाँ खटिएका सुरक्षाकर्मीले नेपाल प्रवेश गर्नेको कुनै अभिलेख नराखी निर्वाध रुपमा नेपाल प्रवेश दिइरहेको भेटिएको छ ।

नेपालबाट भारत जानेलाई रोक
दरैया सीमा क्षेत्रमा तैनाथ एक सशस्त्र प्रहरीका अनुसार भारतबाट आउनेलाई प्रवेश दिए पनि नेपालबाट जानेलाई प्रवेशमा भने रोक लगाइएको छ । यद्यपि, मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य सीमा पूर्ण रुपमा शिल गरिएको दाबी गर्छन् । ‘इमेरजेन्सी बाहेको अवस्थामा कसैलाई नेपाल-भारत आवतजावतका लागि अनुमति दिइएको छैन’, उनले भने, ‘आकस्मिक अवस्थामा पनि उनीहरुको अभिलेख राखेर आवतजावतमा सहजीकरण मात्र गरिएको छ ।’

आर्चायले सीमा क्षेत्रमा कडाइका साथ आवतजावतमा रोक लगाइएको बताइरहँदा दरैया क्षेत्रबाट नेपाल प्रवेश गर्ने भारतीय नागरिकको अभिलेख समेत राख्ने गरिएको छैन । दरैया नाका जोगवनी रेल स्टेशनबाट भित्री मार्ग भएर नेपाल प्रवेश गर्न मिल्ने नाका हो । स्थानीय प्रशासनले मंसिर २१ गते साँझ ६ बजेसम्मका लागि नेपाल भारतको सीमा शिल गरेको छ । मोरङ जिल्लाअन्तर्गत भारतसँग सीमा जोडिएको ६३ किलोमिटर क्षेत्र छ ।

सीमा बन्दले निम्त्याएको सास्ती
नेपाल-भारत सीमा सहर काँकरभिट्टा नाकामा मङ्गलबार भारतबाट आउने यात्रु र भारततिर जाने यात्रु तथा सर्वसाधारणको भीड लागेको थियो । भीड नियन्त्रण गर्न प्रहरीलाई हम्मे परेको थियो । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी टंक भट्टराईले नेपाली परिचयपत्र वाहक यात्रुहरुलाई मात्रै प्रवेश गर्न दिइएको बताए । ‘नेपाल आउनेलाई नेपाली नागरिकता तथा परिचय खुल्ने कागजातका आधारमा प्रवेश गर्न दिइएको छ’, भट्टराईले भने, ‘भारततिर जानेलाई खुला छ ।’ काँकरभिट्टासँगै बिहारसँग सीमा जोडिने भद्रपुर नाकामा पनि सर्वसाधारणले सास्ती पाएका छन् । प्रशासनले खासगरी भारतबाट आउने यात्रुलाई विशेष निगरानी गरेको छ । नाका बन्दका कारण मेची भन्सार र भद्रपुर छोट्टी भन्सार कार्यालयको आयातनिर्यात समेत ठप्प छ । बजारहरु पनि निर्वाचनका कारण सुनसान छन् ।

Facebook Comments