रेगुलेटरबाट ग्यास चुहिएर काँकरभिट्टामा आगलागी, १२ लाखको क्षति

विमर्श उप्रेती

झापा/ झापाको काँकरभिट्टा मावि परिसरमा सञ्चालित क्यान्टिनमा खाना पकाउने ग्यास सिलिण्डर पड्केर आगलागी हुँदा १२ लाख रुपैयाँभन्दा बढीको सामानमा क्षति पुगेको छ ।

मेचीनगर-६ का नारायण विष्टले सञ्चालन गरेको क्यान्टिनमा बिहीबार बिहान ५ बजे रेगुलेटरबाट ग्यास चुहिएर विस्फोट हुँदा भएको आगलागीबाट उक्त मूल्य बराबरको सामानमा क्षति भएको हो ।

आगलागीका कारण मानवीय क्षति नभएको र टिनको छानो रहेको क्यान्टिन पूर्ण रुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डिएसपी टङ्कप्रसाद भट्टराईले जानकारी दिए ।

मेचीनगर नगरपालिकाको वारुणयन्त्र, सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयबासिन्दाको संयुक्त प्रयासमा आगो नियन्त्रणमा आएको छ ।

Facebook Comments