‘कलात्मक विचारको अभिव्यक्ति हो कविता’

वरिष्ठ प्रगतिवादी कवि : प्रथा

नेपाली साहित्य सिर्जनाका वरिष्ठ प्रगतिवादी कविका रुपमा परिचित छन् प्रथा । झापा बाह्रदशी-१ मा जन्मिएका उनको हाल धेरै समय काठमाडौँमा बित्छ । एकाउन्टिङमा एमबीए गरेका उनी पेशाले शिक्षक हुन् । कवितामा उत्पीडन, दमन, विभेद र सामन्तवादको विरोध तथा सिमान्तकृत मान्छेहरूको पक्षमा वकालत गर्ने उनी उन्मुक्ति र स्वतन्त्रताको नि:शर्त पक्षपोषण गर्छन् । उनको पहिलो प्रकाशित कृति “किनारामा उभिएको मान्छे” हो । जुन २०७१ सालमा बजारमा आएको थियो । उनले पछिल्लोपटक ‘युद्ध शिविरमा हिँडेको मान्छे’ कविता सङ्ग्रह बजारमा ल्याएका छन् । उनका कविता समाजसँग जोडिएको र मानवीय अन्तरविरोधलाई समाजशास्त्रीय दृष्टिकोणबाट व्यक्त भएको पाइन्छ । कवितामा जीवन र जगतका व्यावहारिक पाटोलाई उजागर हुनुपर्छ भन्ने कवि गहिरो विम्बको प्रयोग गर्छन् । विचारलाई मुख्य आधार बनाएर कविता लेख्नु पर्ने र वर्गीय पक्षधरतालाई साहित्यमा समेट्नु पर्ने उनको तर्क छ । ‘युद्ध शिविरमा हिँडेको मान्छे’मा उनले ४९ वटा कविताहरु समावेश गरेका छन् । १० वर्षे जनयुद्धको भोगाई र जनयुद्धको तत्कालिक अवस्थालाई कवितामा कलात्मक प्रस्तुत गरिएकोले प्रथाको कवितासंग्रह लोकप्रिय बनेको छ । दुई दशकदेखि निरन्तर कविता यात्रामा रहेका कवि प्रथासँग मदन भण्डारीले गरेको कुराकानी :

‘युद्ध शिविरमा हिँडेको मान्छे’ कविता संग्रहमा के छ ?
२०५२ देखि ०६३ सालसम्म मैले लेखेको कविताहरु यसमा संग्रहित गरेको छु । ढिलै भए पनि पाठकको हातसम्म र्पुयाउने कोसिस गरेको छु । खासगरी श्रम र सिर्जनालाई मानव जीवनसँग जोडेर कविता रच्ने गर्छु म । लामो समय, अर्थात् एक दशकभित्रका कविता रहेकाले यसमा विभिन्नता पक्कै पाउन सक्नुहुन्छ पाठकले । कविता लेखनमा मेरो आधार इलाका भनेको झापा नै हो । झापाको पनि बाह्रदशी राजगढ । मेरो मस्तिष्कको हार्डडिस्क भनेको झापै हो । म काठमाडौँ गएँ हुँला, तर काठमाडौँ मेरो लागि सफ्टवेयर हो । जे बनेँ, झापाले नै बनायो । त्यसैले यस संग्रहमा पाठकले समग्र झापा अनुभूत गर्न पाउनुहुनेछ ।

वर्तमान अवस्थामा कविता कस्तो हुनुपर्छ ?
कविता मूलभूत रुपमा विचार हो । कला पनि चाहिन्छ । विचारलाई जब कलात्मक तरिकाले प्रतिविम्बन गरिन्छ, तब कविता बन्छ । सम्वेग, समवेदना अनुभूति त रहने भइहाले । त्यसलाई अलिकति विचार थपेर कलात्मक सटिक अभिव्यक्ति नै कविता हो । कवि सामाजिक प्राणी हो, त्यस हिसाबले उसमा सामाजिक जिम्मेवारी छ । समाज रुपान्तरणमा कविको भूमिका के ? कविलाई स्रष्टा र द्रष्टा भनिन्छ । त्यसकारण कविले सामाजिक चेतना, विकृति, विभेद, पहिचानका मुद्दाहरु पनि बलियो ढङ्गमा उठाउन सक्नुपर्छ । कवितामा मान्छे हुनुपर्छ । जहाँ मान्छे हुन्छ, त्यहाँ विचार हुन्छ, चेतना हुन्छ । कविता शब्दको त्यस्तो काव्यिक मिसायल हो, जसले जबरजस्त रुपमा धक्का हानेर समाज रुपान्तरणका लागि एउटा भूमिका निर्माण गर्ने गर्छ । त्यसैले हरेक सर्जकले सचेत विचारलाई सिर्जनामा समेट्नु पर्छ भन्ने मलाई लाग्छ ।

कविताको बारेमा हिजो र आजमा तुलना गर्नुपर्दा ?
धेरै अगाडि, भानुझकालदेखि कै कुरा गर्नु पर्दा त्यसबेला सामन्तवाद धारामा लेखियो । आदिकवि भानुझा केही राम्रा कुरा पनि छन् । तिनलाई सकारौँ पनि । कयौँ नराम्रा कुरा पनि छन् । जस्तो वधु शिक्षामा महिला त दास हुन्, महिलाले हाँस्नु हुँदैन, जो हाँस्छ त्यो बासेको ठहरिन्छ । तिनीहरुले घर भाँड्छन् भन्ने ढङ्गबाट चित्रित गरिएको थियो । यद्यपि, उहाँप्रति श्रद्धा सुमन नै गरौँ । तर, नराम्रा कुरामा विरोधका मतहरु पनि राखौँ । त्यसपछि महाकवि लक्ष्मीप्रसाद देवकोटाको कालमा उनी अलिक प्रगतिशिल देखिए । यद्यपि उनी पनि समाजको जुन चेतनाको तह थियो, त्यसमा ओर्लिएनन् । उनी कल्पनाको तहमा चाहिँ विश्वलाई नै मात खुवाउने किसिमले बढे । हामीले त्यस कुरामा सलाम गर्नैपर्छ । त्यसबाट उहाँलाई राज्यले महाकविको उपमा पनि दियो । के त्यो समयमा महिला विभेद, कुरीति, जातीय विभेद, पहिचानका कुरा थिएन र ? यी कुराहरु किन उहाँबाट नजरअन्दाज भयो ? उहाँको ध्यान त्यसतर्फ पनि केन्द्रित हुनुपर्थ्यो । मानिस ठूलो दिलले हुन्छ र यात्री कवितामा उहाँले जीवनलाई जोड्नु भयो । त्यसबाहेक उहाँ युग चेतनासँग कहाँ जोडिनु हुन्छ ? त्यसपछि लेखनाथ पौड्यालले नीतिशास्त्रका कुरा दिनुभयो । अर्थात् पहिलेका कविहरुले व्यावहारिक जीवन, युग चेतनाको उच्चतम् निकास दिन सक्नुभएन । अबको ढाँचामा यी कुरालाई ध्यान दिइनुपर्छ । आज सर्जकले समाज परिवर्तन र चेतनाका कुरालाई जोड्न सक्नुपर्छ ।

वाचन गर्दा वाह-वाह र ताली पाउने कविले पुस्तक निकालिरहँदा किनेर नपढिदिने, कति पुस्तक खोज्दा पनि पाठकले नपाउने अवस्थालाई तपाईं के भन्नुहुन्छ ?
कविता संसारमै बढी लेखिने साहित्य विधामा पर्छ । त्यसमा शक्तिशाली र कालजयी रचनाका लागि एउटा लेखकले निकै ठूलो तपस्या गर्नुपर्छ । निरन्तरको साधनपछि मात्रै एउटा शक्तिशाली रचना निर्मित हुन्छ भन्ने लाग्छ । दोस्रो कुरो, कवितालाई बुझ्न काव्यिक चेतना भएका पाठक चाहिन्छ । जस्तो उपन्यासलाई सामान्य मान्छेले पनि अनुभूत गर्न सक्छन्, बुझ्छन् । कविता चाहिँ काव्यिक चेत भएकाले बुझ्ने भएकाले पनि आम पाठकमा यो सम्प्रेषण हुन नसकेको हो । तेस्रो कुरा, बजार । लेख्न त लेख्छन्, तर छपाईमा उत्पादन लागत कति लाग्ने भन्ने कुरा हुन्छ । यस कुरामा भर्खर सिक्दै गरेका र प्रखर कवि जो आर्थिक रुपमा सबल छैनन्, उनीहरुलाई समस्या छ । किनकि प्रकाशकले पनि सितिमिती कवितालाई एक्सेप्ट गर्दैन । उपन्यासको मूल्य ५-६ सयसम्म राखिन्छ । त्यो उनीहरुले पुस सेल गरेर पनि ठेल्छन् । कविताको धेरैमा ३ सयसम्म राखिन्छ । सीमित हुन्छन् पाठकहरु । त्यसकारण बजारमा यो धेरै पनि जाँदैन । त्यसैले कविता प्राथमिकतामा पर्दैन । आफैँले लगानी गरिसकेपछि बजारमा जाँदा प्रमोसनका कुरा आउँछन् । प्रमोसनमा पनि लगानी नै गर्नुपर्ने हुन्छ । यसले कविता विधाको प्रकाशनमा समस्या छ र कति पुस्तक पुग्नै पर्ने पाठकको हातसम्म पुग्दैन । यद्यपि, नेपालको सन्दर्भमा चाहिँ सबैभन्दा बढी बिक्री हुने संग्रह कविता नै हो । जस्तो मुना मदन, घुम्ने मेच माथि अन्धो मान्छे कविता संग्रहले रेकर्ड बनाएका छन् ।

आधुनिकतासँगै सामाजिक सञ्जालमा साहित्य वाचन गर्ने क्रम बढेको पाइन्छ, सर्जक पनि त्यता बढी आकर्षित छन् नि ?
कविताका मौन शब्दहरु वाचनले ब्युँझन्छन् र अभिनयले जीवन्त बन्छन् । सपाट रुपमा हेर्दा कविताका शब्द नमीठो लाग्न सक्छ । तर, त्यसलाई विशिष्ट किसिमको वाचन शैलीमा प्रस्तुत गर्ने हो भने त्यो सही ढङ्गमा पाठकमा सम्प्रेषण हुन्छ । नाटकको जस्तो अभिनय गरी कवितालाई पनि प्रस्तुत गर्न सकिन्छ । कवि स्वयम्ले हाउभाउका साथ अभिनय गरेर वाचन गर्ने हो भने त्यो प्रभावकारी हुन्छ । त्यस हिसाबले वर्तमान अवस्थामा प्रविधिमा जोडिएर, सामाजिक सञ्जाल र युट्युबमार्फत् कवि आउन जरुरी छ । किनकि यहाँ हामीले हजारौँ, लाखौँ फ्यान पाउन सक्छौँ । उहाँहरुको प्रत्यक्ष प्रतिक्रिया पाउन सक्छौँ ।

जो पनि काठमाडौँमै केन्द्रित किन ?
अवसरका हिसाबले मुलुक नै काठमाडौँ केन्द्रित बन्यो । ७५ जिल्लाकै मानिस त्यहाँ थुप्रिन्छन् । त्यहाँ पुगेर मुकाबिला गर्ने भन्ने हुँदो रहेछ । त्यहाँ राजनीतिकदेखि आर्थिक, सामाजिक कुरामा पनि झापाको भूमिका दर्बिलो छ । म झापामै हुर्किए, सबै कुरा यहीँ पाएँ । केन्द्रमा गएर त मैले आर्जन गरेका कुरामा पोलिस मात्रै गरेको हुँ । मेरो आधारभूमि झापा नै हो । त्यसैकारण भावनात्मक रुपमा झापासँगै बढी जोडिएको छु । तर, अवसरको खोजीमा मानिस देश-विदेश पुग्छन् । किनकि मान्छेले सपना देख्छ, त्यसलाई पूरा गर्न उसले भौतिक प्रयत्न गर्छ । त्यही सिलसिलामा मान्छे झापाभन्दा बाहिर गएका छन् भन्ने लाग्छ । मलाई लाग्छ, उहाँहरु सबैमा झापाको माया भन्ने कुरामा विश्वस्त छु ।

 

कालो समय
*******
अब छेकबार हुनेछैन
यो कालकोठरीको बुइँगलमा— कसैको !
गौँडो ढुकेर बस्ने चन्द्रवीर
सपनाको लट्टाई बोकेर— अरब गएको छ !
नोटका फ्याउरी नचाएर
भ्याएसम्म उठाऊ
पसिनाको खमारबाट— नीला बिस्कुनहरू !
यही बिस्कुनको भर्याङ चढेर
भोलि उक्लिनु छ
तिमीले आफ्नै जिन्दगीको अग्लो पहाड !
…………………

चोया खिपेझैँ खिप
यो अर्थतन्त्रका कुरकुरे करङहरू
र ठड्याऊ भूतबङ्ला
जहाँ तिमी ढुक्कले निदाउन सक्छौ !
बुलेटका धारहरू ओछ्याएर
कोक्रामा सुताइदेऊ
हाम्रा ब्यालेटका युगीन सपनाहरू
र घन्काऊ घिन्ताङ-घिन्ताङ– राष्टवादको मादल !
आयुका लङ्गुरहरू
सत्ताको लाबरझैँ तन्किएर
आफैँ छमछमी नाचिरहनेछ— तिम्रो प्रजातन्त्र !
………………….

यो जुवाघरबाट निस्किएर
जति सक्छौ रेट
यो सारङ्गीजस्तै बूढो देशको घाँटी !
भोकले गलेका तारहरूबाट
मसिनो धुन निस्किएर
बेस्सरी गाइरहनेछ— एउटा प्रेमील कोरस !
जस्तो कि :-
क्या राम्रो देख्छु गुएँली फूल
मै चुँडी सिउरौँ कि
पिरीमा पिरी पिपीरी पात
मै टिपी बजाऊँ कि !
……………………..

काँचो धागो टुटेर
कति चङ्गाहरू चेट भइरहेछन्
कुनै हिसाब छैन— शासकका बहीखाताहरूमा !
मरूभूमिको एक्लो पठारबाट
चन्द्रमाजस्ता चन्द्रवीरहरू
कहिलेसम्म कफन-बाकसमा घर फर्किरहन्छन् ?
र सिंहदरबारको छायाँमुन्तिर
अलख जागिरहन्छ– एउटा कालो समय !
रातको बुई चढेर
कसले डढाइरहेछ– बस्तीका सारा गोठहरू ?
र अबोध केटाकेटीहरूलाई
बाबुको तस्बिर देखाउँदै रोइरहेछन् – आमाहरू !
………………..

आँधीअघि नै
जति सक्छौ लठ्ठिँदै नाच
तिम्रा खुसीहरूको चतुर्भुजी आँगनमा !
सायद
अब केही बेरमै
जिन्दगीको अन्तिम पत्रमा हस्ताक्षर गर्नु छ !
म त छापामार हुँ
देश खोज्न निस्किएको छु !
तिमीसँग संवाद गर्न
अब मसँग कुनै शब्दहरू बाँकी छैनन् !
यतिखेर म
आवाजविहीन लाटो बनको छु— बमको गोलाजस्तै !
…………………
प्रथा

Facebook Comments