सूर्योदय यातायात आजदेखि सञ्चालनमा

बिर्तामोड । झापामा नयाँ बस सेवा सञ्चालनमा आएको छ । यात्रुहरुको सुविधाको लागि सूर्योदय यातायात एन्ड अटो प्रालि बिर्तामोडले झापाका विभिन्न स्थानबाट शनिबारदेखि सुविधासम्पन्न आधुनिक बसहरु सञ्चालनमा ल्याएको हो ।

प्रालिका अध्यक्ष देवेन्द्रकुमार न्यौपानेका अनुसार सञ्चालनमा आएका बसहरुमध्ये सूर्योदयका बसहरु सुरक्षित, आरामदायी र भरपर्दो रहेका छन् । बसमा रहेका सिसी क्यामेराले यात्रुहरुलाई सुरक्षित यात्राको महसुस गराउने उनले बताए । ‘सूर्योदयका बसमा भित्र मात्र होइन बसको बाहिर पनि सिसी क्यामेरा रहनेछन्’, प्रालिका प्रबन्ध सञ्चालक सरोज न्यौपानेले भने, ‘यसले यात्रुलाई अझ सुरक्षित महसुस गराउनेछ ।’ बसको बाहिर रहने क्यामेराले दुर्घटना हुँदा कसको गल्ती रहेछ भन्ने प्रस्ट हुने कम्पनीको भनाइ छ । त्यस्तै, बसको विशेषता भनेको समयमै छुट्ने र समयमै गन्तव्यमा र्पुयाउने रहेको न्यौपानेले बताए ।

सूर्योदयका बसमा आरामदायी सिट रहनेछन् । त्यस्तै, बसमा एलसिडी टिभी, जिपिएस सुविधाले यात्रुलाई थप सहज बनाउने सञ्चालक नेत्र न्यौपानेले बताए । बसमा यात्रा गर्ने यात्रुलाई मेसिनबाट टिकट प्रदान गरिनेछ । त्यस्तै, बसमा यात्रा गर्ने यात्रुहरुको टिकटलाई लक्की ड्रमा सहभागी गराइने भएको छ । प्रत्येक महिनाको ५ गते एक महिनाभरिको टिकटलाई लक्की ड्रमा सामेल गराई एकजना विजेतालाई ३२ इन्चको एलसिडी टिभी प्रदान गरिनेछ । दोस्रो हुनेलाई एक थान राइस कुकर र तेस्रो हुनेलाई एक थान भित्ते घडी उपलब्ध गराइनेछ । विजेताको नाम स्थानीय सञ्चारमाध्यमबाट सार्वजनिक गरिनेछ ।

अध्यक्ष न्यौपानेका अनुसार सूर्योदयका बसहरु झापाको काँकरभिट्टा, भद्रपुर र बुधबारेबाट दैनिक दिवा सेवाका रुपमा छुट्नेछन् । धरान, विराटनगर, गाईघाट, कटारी, राजविराज, जनकपुर, फत्तेपुर, वीरगञ्ज, सिन्धुलीसम्म पुग्ने बसहरु झापामा सञ्चालित यातायाता कम्पनीका पहिलो बसहरु हुन् । सूर्याेदयका ३१ वटा बसले यात्रुलाई गन्तव्यसम्म र्पुयाउनेछन् । आगामी दिनमा यात्रुको मागअनुरुप सुविधासम्पन्न बसहरु थप गर्दै लगिने न्यौपानेले बताए ।

१३ करोड रुपैयाँको लगानीमा सूर्योदयका बसहरु सञ्चालनमा आएका हुन् । ३४ सिट क्षमताका बसहरुमा सरकारले तोेकेको छुट उपलब्ध गराउने जनाएको छ ।

Facebook Comments