झापामा बन्दै सेल्फी

  • विमर्श उप्रेती

हरेक युवायुवतीको जनजिब्रोमा झुण्डिन सफल ‘सेल्फी हानौँला’ बोलको चर्चित गीतसँग शब्द सापटी लिएर अब ‘सेल्फी’ नामकै चलचित्र बन्ने भएको छ । युवापुस्ताले अत्याधिक रुचाएको र गुन्गुनाउँदै आएको ‘सेल्फी हानौँला’ गीतको जगमा उभिएर निर्माण हुन लागेको नेपाली कथानक चलचित्र ‘सेल्फी’का लागि पारुहाङ बान्तवाले लेखन तथा निर्देशन गर्नेछन् ।

‘बान्तवा फिल्मस् इन्टरटेन्मेन्ट र माता पाथिभरा’ को जोइन्ट भेञ्चर ब्यानरमा निर्माण हुने ‘सेल्फी’ मा प्रेम कथामा आधारित घटना र सामाजिक यथार्थपरक विषयवस्तु समेटिएको लेखक/निर्देशक बान्तवाले बताए ।

‘पहिलो कुरो त सेल्फी शब्द नै अहिले चर्चित छ, त्यसमा पनि ‘सेल्फी हानौँला’ले हंगामा मच्चाइसकेको छ’, ‘अँगालो यो मायाको’, ‘तथास्तु’ लगायतका चलचित्रमा सहायक निर्देशकका रुपमा काम गरिसकेका उनले भने, ‘चलचित्रको मेरुदण्ड भनेकै स्क्रिप्ट हो, यसमा मैले विशेष ध्यान दिएको छु, सेल्फी अवश्य सफल बन्नेछ ।’

पूर्णबहादुर थापा निर्माता एवम् कृष्ण आचार्यको पटकथा र सम्वाद रहेको ‘सेल्फी’ को सुटिङ माघको दोस्रो साताबाट सुरु भएर फागुन अन्त्यसम्ममा सक्ने लक्ष्यसहित आवश्यक तयारी तीव्र पारिएको निर्माण पक्षले जनाएको छ ।

पछिल्लो समय अधिकांश चलचित्रहरुले मोफसललाई छायाङ्कन स्थल बनाउँदै आएका छन् । सेल्फी टिमले भने छायाङ्कनका लागि पूर्वका झापा र इलामलाई मात्र रोजेको छ । अन्य चलचित्रले नखिचेका नयाँ दृश्यहरु सेल्फीका लागि कैद गरिने छायाङ्कन पक्षको दाबी छ ।

भ्ाारतको प्रसिद्ध सुटिङ स्पट बेङ्लोरसहित उपत्यका बाहिर झापा र इलामका रमणीय स्थलमा छायाङ्कन गरिने उक्त फिल्ममा सन् २०१७ मा मिस्टर पूर्वाञ्चलको उपाधि विजेता रोमन श्रेष्ठले नायकका रुपमा डेब्यू गर्दैछन् ।

सुनसरीका रोमनसँगै झापाका अञ्जन केसी र सोनिका खड्का पनि नायक/नायिकाका रुपमा डेब्यू गर्ने सुरसारमा छन् । ‘रेस’, ‘बटरफ्लाई’, ‘मिसन ४२०’जस्ता चलचित्रको निर्माण एवम् सम्पादन गरेका मन्दिल श्रेष्ठले सम्पादन गर्ने सेल्फीको पर्दामा चरित्र अभिनेताको भूमिकामा कलिउडका हस्ती सरोज खनाल देखिँदैछन् ।

कलिउडमा जमेर लागेका झापाली कलाकार हेमन्त बुढाथोकीलाई सेल्फीमा समेट्ने योजना बनाएको चलचित्र युनिटले चल्तीका नायक सौगात मल्लसँग पनि अभिनयका बारेमा कुरा चलिरहेको बताएको छ । मल्लले आफू इच्छुक रहेको तर व्यस्तताका कारण भ्याउन मुस्किल परेको प्रतिक्रिया दिँदै आएका छन् ।

माघको दोस्रो साता पछाडि भने भ्याइनभ्याइ हुने भनेका उनको सम्भावना टर्ने देखिएको छ । अहिले चर्चामा रहेकी नायिका रिमा विश्वकर्मा भने चलचित्रमा अभिनयका लागि अनुबन्ध भइसकेकी छन् ।

करिब ६५ लाख रुपैयाँको लागतमा बन्न लागेको सो चलचित्रलाई भर्खरै निर्माण भएको किशोर खतिवडा निर्देशित चलचित्र ‘सुत्केरी’लाई खिचेका लोकप्रिय छायाँकार मदन कास्य घिमिरेले खिच्ने छन् ।

घिमिरेले यसअघि ‘लोफर’, ‘हवल्दार सुन्तली’, ‘रावण’, ‘लङ्का’लगायत सुपरहिट मुभीलाई खिचेका थिए । खासगरी छविराज प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्रलाई मात्र छायाङ्कन गर्दै आएका उनले अधिकांश फिल्मबाट छायाङ्कनको अफर आए पनि विरलैमात्र प्रोडक्सन बाहिरका चलचित्र खिच्ने गरेका छन् ।

चर्चित संगीतकार बसन्त सापकोटाको संगीतमा सजिएको, सम्राट थापाको पार्श्व संगीत अनि लेखक/निर्देशक बान्तवाले नै शब्द कोरेका ‘हेर जादु’ बोलको आइटम सङमा मिना निरौलाले आवाज भरेकी छन् ।

यसअघि नै श्रोताको मन जितिसकेको ‘सेल्फी हानौँला’ बोलको गीत शंकर स्माइल र लक्ष्मी नेपालीले गाएका थिए । अब फिल्मका लागि बन्ने गीतमा स्वर स्माइलकै दोहोरिने छ भने प्राविधिक कारणले लक्ष्मीको स्थानमा मिना निरौलाको आवाज सुनिनेछ । त्यस्तै चलचित्रको सेल्फी गीतको शब्द, स्वर अनि संगीतमा पनि हेरफेर हुनेछ । छायाङ्कनलगत्तै फिल्म नेपालमा रिलिज गरेर भारतपछि क्रमश: बेलायतको युकेमा प्रदर्शन गरिने बताइएको छ ।

Facebook Comments