आदिवासी जनजाति महोत्सवमा नेवारले यसरी तताए मञ्च (फोटो फिचरसहित)

बिर्तामोड, पुस २० । बिर्तामोडमा आयोजित ‘नेपाल आदिवासी जनजाति महोत्सव २०७४’ मा बिहीबार नेवारी संस्कृतिका विभिन्न कार्यक्रम प्रदर्शन गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद् बिर्तामोडद्वारा आयोजित महोत्सवमा नेवारी प्रस्तुतिको संयोजन नेवा: देय् दबू बिर्तामोड नगरसमितिले गरेको हो ।

रोपाइँ नाच

सुकुन्दामा दीप प्रज्वलन गरेर उद्घाटन गरिएको कार्यक्रमलाई भीमसेन पूजा गरी औपचारिकतातर्फ लगिएको थियो । कार्यक्रममा विनय उदासले लाखे बनेर ढोलक र झ्याम्टाको तालमा नृत्य प्रदर्शन गर्दा दर्शक रोमाञ्चित बनेका थिए । मञ्चमा रोपाई नाच, मिस नेवा: झापाका सहभागीले नेवारी नृत्य, मारुनी नृत्यमा रमाइरहेका दर्शकलाई विशाल श्रेष्ठ र कञ्चन श्रेष्ठले गीत सुनाएर मन्त्रमुग्ध बनाए ।

कार्यक्रममा प्रमुख अतिथि नेवा: देय दबूका केन्द्रीय उपाध्यक्ष कृष्ण उदासले मातृभाषाको संरक्षण गर्न नसक्दा आफ्नो जातिप्रति गर्व गर्न नसक्ने अवस्था आएकोमा दु:ख व्यक्त गरे । दवूका झापा अध्यक्ष दिनेश शाक्यले संस्कृति जोगाउने अभियानमा महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । कार्यक्रममा दवूकी केन्द्रीय सदस्य सुन्दरी श्रेष्ठ, केन्द्रीय सल्लाहकार सदस्य भरतकुमार श्रेष्ठ, बिर्तामोड सहसचिव जीवनकुमार श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा महोत्सव संयोजक गोपाल राई, साहित्य चौतारी बिर्तामोडका संस्थापक संरक्षक देवीझश्रेष्ठ, नेवा: पासा मुना पुच: बिर्तामोड अध्यक्ष ईश्वरी श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।

दवू झापा सचिव तिलरुपा श्रेष्ठले स्वागत गरेको कार्यक्रमको समापन दवूका बिर्तामोड अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले गरेका थिए । कार्यक्रमको सञ्चालन नेवा: देय दबू बिर्तामोड नगरसमितिका सचिव ओमप्रकाश श्रेष्ठ र उज्वला श्रेष्ठले गरेका थिए । बिहीबार साँझको प्रस्तुति राष्ट्रिय कलाकार भूमिका गिरी र कृष्णर् याउले र विनोद खम्बूको रहेको छ ।

नेवारी नृत्य
भीमसेन पूजा गरिँदै
लाखे नाच प्रस्तुत गरिँदै
महोत्सवमा राखिएको नेवारी खानाको स्टल

Facebook Comments