अमेरिकाले इरानमा हस्तक्षेप गरेको भन्दै विरोध

इरानले आफ्नो देशमा भइरहेको सरकारविरोधी प्रदर्शनलाई समर्थन गरेर अमेरिकाले अन्तर्राष्ट्रिय सम्बन्ध उल्लंघन गरेको बताएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बकवासपूर्ण ट्विट गरी इरानसँग भिड्न खोजेको भन्दै इरानले विरोध गरेको छ।

संयुक्त राष्ट्रसंघका लागि इरानी स्थायी प्रतिनिधि घोलामाली खोशरूले राष्ट्रसंघलाई पत्र लेखी विरोध गरेका छन्। अमेरिकाले इरानको आन्तरिक मामिलामा भद्दा तरिकाले हस्तक्षेप गरिरहेको विरोध पत्रमा उल्लेख छ। अमेरिकी राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति माइक पेन्सले व्यक्तिगत रूपमा इरानलाई अप्ठेरोमा पार्न चाहेको खोशरूले उल्लेख गरे। इरानी स्थायी प्रतिनिधि खोशरूले संयुक्त राष्ट्रसंघका महासचिव तथा सुरक्षा परिषद्का अध्यक्ष एन्तोनियो गुतेरसलाई सम्बोधन गर्दै भनेका छन्, ‘अमेरिकाका राष्ट्रपति र उपराष्ट्रपतिले बकवासपूर्ण ट्विट गरेर इरानीलाई भड्काउने प्रयास गरेका छन्। देशमा अशान्ति फैलने र अराजक गतिविधिमा सहभागी हुन भड्काएका छन्।’

यसअघि ट्रम्पले इरान सरकारलाई जनताको प्रदर्शनलाई सम्बोधन गर्न आग्रह गरेका थिए। आफ्ना नागरिकको अधिकारको सम्मान गर्नु इरानलाई उनले आदेश दिएका थिए। शासकका कारण लामो समयदेखि इरानी नागरिक सबैभन्दा पीडित भएको भन्दै ट्रम्पले वक्तव्य दिएका थिए। इरान सरकारले जनताको अभिव्यक्ति स्वतन्त्रता एवं नागरिक अधिकारको सम्मान गनुपर्ने बताएका थिए। प्रदर्शनमा उत्रिएका नागरिकलाई गिरफ्तार गरेकोमा अमेरिकाले इरानको भत्र्सना पनि गरेको थियो। इरानी जनताको नागरिक अधिकार र भ्रष्टाचार विरोधी अभियानको समर्थन गर्न अमेरिकी अधिकारीले संसारका सबै देशलाई अनुरोध गरेका थिए।

अमेरिकाले यसको कुनै प्रतिक्रिया दिएको छैन। इरानमा सरकारविरोधी प्रदर्शन र अर्थव्यवस्था बिग्रिएको भन्दै गत सातादेखि प्रदर्शन भइरहेको छ। प्रदर्शनमा २१ जनाको ज्यान गएको छ भने सयौंलाई गिरफ्तार गरिएको छ।

हस्तक्षेप नगर्न रूसी चेतावनी

मस्को : एक वरिष्ठ रूसी कूटनीतिज्ञले इरानमा मूल्य वृद्धिविरुद्ध केही दिनदेखि भइरहेको आन्दोलनमा हस्तक्षेपकारी भूमिका नगर्न आग्रह गरेका छन्। बिहीबार रूसी उपविदेशमन्त्री सर्गेइ र्‍याबकोभले सरकारी समाचार संस्था ताससँगको कुराकानीमा अमेरिकाले मूल्य वृद्धिविरुद्ध भएको आन्दोलनलाई चर्काउन खोजेको बताएका छन्। इरानलाई नयाँ विवादमा फसाएर इरानसँग विश्वका शक्तिशाली राष्ट्रको अगुवाइमा सन् २०१५ मा गरिएको आणविक सम्झौतालाई छायाँमा पार्न चाहेको उनले दाबी गरेका छन्।

‘हामीले अमेरिकालाई इस्लामिक गणतन्त्र इरानको आन्तरिक मामिलामा हस्तक्षेपकारी भूमिका खेल्ने प्रयास नगर्न सचेत गराउन चाहन्छौं’, र्‍याबकोभले भने। चीन, फ्रान्स, जर्मनी, रूस, बेलायत र अमेरिकाको पहलमा इरानसँग आणविक सम्झौता भएको थियो। आणविक हतियारसम्बन्धी संयुक्त बृहद् कार्ययोजनासहित दश वर्षसम्म युरेनियम विकासलाई विस्तार नगर्ने सहमति भएको थियो।

Facebook Comments