नक्कली सेयर कारोबार गर्ने चार वर्षपछि कारवाहीमा, हालसम्मै ठुलो कारवाही

काठमाडौं,  पुस २६ । चिलिमे जलविद्युत कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी र सानिमा माई हाइड्रोपावर कम्पनी को नक्कली सेयर कारोबारमा तीन ब्रोकरलाई धितोपत्र बोर्डले कारवाही गरेको छ ।

बोर्डले अग्रवाल सेक्युरिटिजलाई र श्रीहरी सेक्युरिटिजलाई ११ लाख रुपैयाँको दरमा तथा सिप्रवी सेक्युरिटिजलाई ५० हजार रुपैयाँ बराबर कारवाही गरेको हो ।

जीएण्ड जी इन्भेष्टमेण्ट कम्पनीको नाममा गोविन्द घिमिरे र उनको समूहले यी कम्पनीहरुको नक्कली सेयर कारोबार गरेका थिए ।
चिलिमेको नक्कली सेयर कारोबारमा ग्राहकको स्पष्ट पहिचान खुल्ने कागजात तथा विवरण लिई सोको अभिलेख नराखेको भन्दै अग्रवाल सेक्युरेटिजलाई कारवाही गरेको हो ।

जीएण्ड जी इन्भेष्टमेण्ट कम्पनीको सञ्चालक समितिका सदस्यहरूले चिलिमे जलविद्युत् कम्पनीको १३ हजार ५ सय कित्ता नक्कली सेयर एकआपसमा कारोबार गरेको पाइएको थियो । यी सेयरको धितो राखेर समूहका सदस्यले सिद्धार्थ डेभलपमेण्ट बैङ्कबाट ६४ लाख २० हजार रुपैयाँ र युनाइटेड फाइनान्सबाट समेत ५९ लाख २७ हजार रुपैयाँ कर्जा लिएका थिए । चिलिमे जलविद्युत्को नक्कली शेयर जीएण्डजीका सञ्चालक सृष्टि काफ्ले, सोना दाहाल, रामहरि आचार्यको नामबाट विक्री भएको थियो भने गोविन्द घिमिरेको नामबाट खरीद गरिएको थियो ।

अग्रवाल सेक्युरिटिजको जमानीमा बैङ्क तथा वित्तीय संस्थाले सेयर धितोमा कर्जा दिएका थिए । पछि अग्रवाल सेक्युरिटिजले नै ती बैङ्कलाई कर्जाबापतको रकम चुक्ता गरिदिएको थियो । अग्रवाल सेक्युरिटिजले धितोपत्र बोर्डमा समेत पत्राचार गरेर यी रकम असुल गरिदिन अनुरोधपत्र पेश गरेको थियो ।

त्यही समूहले नेशनल हाइड्रोपावर कम्पनीको नक्कली सेयर कारोबार श्रीहरि सेक्युरिटिज प्रालिबाट भएको थियो । सिप्रवी सेक्यूरिटिज प्रालि. कार्यकारी प्रमुखले यस्तो कारोवार सम्बन्धमा शुरुवातमा जानकारी पाएर पनि सो घटना उजागर गरेको र बजारमा हुने थप क्षतीलाई न्यूनिकरण गर्न सहयोग गरेको अवस्था समेत कम्पनीलाई न्युन कारवाही गरिएको बोर्डले उल्लेख गरेको छ ।

ग्राहकको स्पष्ट पहिचान खुल्ने कागजात तथा विवरण लिएर अभिलेख नराखेकोमा भने सिप्रवी सेक्यूरिटिजलाई कारवाही गरिएको हो । कम्पनीलाई ५० हजार कारवाही सहित सचेत गराइएको छ ।

 

 

 

source : https://www.onlinekhabar.com

Facebook Comments