राष्ट्रिय बक्सिङ च्याम्पियनसिप : लक्ष्मण र तेज उपाधिका लागि भिड्ने

बिर्तामोड । राखेप च्याम्पियनसिप अन्तर्गत २७ औँ पुरुष र आठौँ महिला राष्ट्रिय बक्सिङको चौथो दिनको खेलमा नेपाल आर्मीकी ललिता महर्जन र एपिएफकी नंग्जा बुढामगर उपाधि नजिक पुगेका छन् ।

महिला लाइट फाइवेटको ४८ केजी तौल समूहमा ललिताले नेपाल प्रहरीकी दिवाना शेर्मालाई (३-२) अंकको आधारमा पराजित गरिन् । एपिएफकी नंग्जा बुढामगर ४८ केजी तौल समूहको अर्को सेमिफाइनल खेलमा झुरकी शर्मिला लामालाई अंकको आधारमा पराजित गर्दै आर्मीकी ललितासँग भेट पक्का गरिन् ।

५१ केजी तौल समूहमा दिदीबहिनीको भेट भएपछि दाङकी बहिनी विमला थापा मगरले आर्मीकी गीताकुमारी थापा मगरका लागि खेल परित्याग गरेकी थिइन् । सोही तौल समूहमा एपिएफकी माला राईले पनि फाइनलमा स्थान पक्का गरिन् । मालाले नक्सालकी रोशनी राईलाई ५-० अंकको आधारमा पराजित गरेकी थिइन् ।

महिला वेन्टमवेटको ५४ केजी तौल समूहमा आर्मीकी विमला श्रेष्ठ फाइनलमा प्रवेश गरेकी छन् । विमलाले एपिएफकी माया चौधरीलाई पनि ५-० अंककै आधारमा पाखा लगाएकी थिइन् । सोही तौल समूहको अर्को खेलमा झुरकी निता गोसाईले पनि फाइनलमा स्थान पक्का गरिन् । निताले मकवानपुरकी सन्जुमाया थिङलाई पराजित गरिन् ।

महिला ५७ केजी तौल समूहमा एपिएफकी सन्जु लामाले फाइनल भिडन्त पक्का गरिन् । सन्जुले नेपाल आर्मीकी चन्द्रकला थापालाई अंककै आधारमा पराजित गरिन् । सोही समूहको अर्को खेलमा नक्सालकी कुसुम तामाङले कास्कीका कुसुम थापा मगरलाई हराउँदै फाइनलमा प्रवेश गरिन् ।

महिला ६० केजी तौल समूहमा एपीएफकी संगीता सुनारले आर्मीकी मिनु गुरुङ विरुद्ध ३-२ ले अगाडी रहँदै उपाधि भिडन्तमा काठमाडौँकी मन्दिरा पुतुवारसँग भेट पक्का गरिन् । पुतुवारले पनि कैलालीकी सञ्जिता चौधरीलाई ३-२ अंकले नै पाखा लगाइन् । ६४ केजी तौल समूहमा आर्मीकी पुनम राउत र एपिएफकी विनिता थापा मगर फाइनलमा प्रवेश गरिन् ।

६९ केजी तौल समूहमा एपिएफकी मनिता राई र नेपाल प्रहरीकी अनुराधा लामा फाइनलमा प्रवेश गरेका छन् । ७५ केजी तौल समूहमा एपिएफकी सरस्वती राणा र आर्मीकी सबिना श्रेष्ठ फाइनलमा प्रवेश गरेका छन् ।

पुरुष सेमिफाइनलको ४९ केजी तौल समूहमा सुनसरीका सुलभराज तुलाधरले एपिएफका लक्ष्मण तामाङलाई तथा आर्मीका तेजबहादुर देउवाले नेपाल प्रहरीका चन्द्रबहादुर थापालाई अंकको आधारमा हराउँदै फाइनलमा स्थान पक्का गरे । पुरुष ५२ केजी तौल समूहमा आर्मीका प्रेम चौधरी र एपिएफका विक्रम परियारले फाइनलमा स्थान सुरक्षित गर्दा ५६ केजी तौल समूहमा एपिएफका पुरन राई र विमल रोका स्वर्णका लागि भिड्ने भएका छन् ।

पुरुष ६० केजी तौल समूहमा झापाका प्रकाश लिम्बु इजाम र आर्मीका एकबहादुर घलेले फाइनलको यात्रा तय गरे । ६४ केजी तौल समूहमा भने आर्मीका दिपक श्रेष्ठ र नेपाल प्रहरीका भूपेन थापा मगरले भिडन्त पक्का गरेका छन् । त्यस्तै, ६९ केजी तौल समूहमा आर्मीका विष्णु घले र एपिएफका विकास लामाले फाइनलमा स्थान सुरक्षित गरे । त्यस्तै, ७५ केजी तौल समूहमा आर्मीका दिपेश लामा र एपिएफका कौशलजंग थापाले स्वर्णका लागि भिडन्त तय गरेका छन् । ८१ केजी तौल समूहमा झापाका मनोहर बस्नेत (म्याक्स) र टिकापुरका सौजन थापाले उपाधि भिडन्त पक्का गरे ।

Facebook Comments