बोस्टन मन्टेश्वरीको छैटौँ वार्षिकोत्सवमा पत्रकार प्रधान सम्मानित

बिर्तामोड, पुस २७ । नवनित एजुकेसन फाउन्डेसन बोस्टन इन्टरनेसनल मन्टेश्वरी विद्यालयले बिहीबार छैटौँ वार्षिकोत्सव सम्पन्न गरेको छ ।

अर्जुनधारा नगरपालिकाका प्रमुख हरि रानाले उद्घाटन गरेको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष सुमन शर्मा जमरकट्टेलले गरेका थिए । कार्यक्रममा पत्रकार एकराज प्रधानलाई सम्मान गरिएको थियो । पत्रकारितामार्फत् शैक्षिक क्षेत्रमा गरेको योगदानको कदर गर्दै विद्यालयले विवेचना दैनिकका प्रबन्धक प्रधानलाई सम्मान गरेको हो । उनलाई संस्थापक मिना बाँस्तोलाले सम्मान पत्र प्रदान गरेकी थिइन् । सम्मानपछि उनले नानीबाबुलाई सम्मानपूर्वक व्यवहार गरिनुपर्छ भन्ने संस्कार मन्टेश्वरीले स्थापित गर्दै लगेको बताए ।

उमा शिवाकोटीले स्वागत गरेको कार्यक्रममा विद्यालयकी प्रिन्सिपल रिता बाँस्तोला, एन्जिला खरेल, अभिभावकको तर्फबाट वीरबहादुर दर्नाल लगायतले बोल्दै मन्टेश्वरी शिक्षाको आधार भएको चर्चा गरे । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न राइम्स, नृत्य तथा क्राफ्टहरु समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा विभिन्न खेलमा प्रथम, द्वितीय, तृतीय हुने विद्यार्थीलाई पुरस्कृत गरिएको विद्यालयका प्रमुख विनित बाँस्तोलाले बताए ।

Facebook Comments