सेल्टा भिगोविरुद्ध मेस्सीको २ गोल

लियोनल मेस्सीले आफ्नो कोपा डेल रेको उच्च लयलाई निरन्तरता दिने क्रममा गए राति सेल्टा भिगो विरुद्ध २ गोल गरेपछि अन्तिम १६ को दोस्रो लेगमा बार्सिलोनाले सेल्टा डी भिगोलाई ५–० ले हराएको छ । सबै प्रतियोगितामा गरि पछिल्ला १४ खेलमा मेस्सीले २४ गोलका लागि भूमिका निभाएका छन् ।

जसमा उनले १४ गोल आफै गरेका छन् भने १० गोलमा एसिस्ट गरेका छन् । गए रातीको २ गोल पछि कोपा डेल रेमा सर्वाधिक गोल कर्ताको शीर्ष १० मा पुगेका छन् । उनको गोल संख्या ४६ पुगेको छ । सेल्टा भिगोविरुद्ध मेस्सीमात्र होइन अन्य खेलाडीले पनि उच्च प्रदर्शन गरे । मेस्सीले १३ र १५ औं मिनेटमा गोल गरे भने जोर्डी अल्बाले २८ औं मिनेटमा गोल थपे ।

त्यस्तै लुइस स्वारेजले ३१ औं मिनेटमा गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा ४–० ले अग्रता लिएको थियो । खेल सकिन ३ मिनेट बाँकी रहँदा इभान राकिटिचले गोल गरेपछि बार्सिलोनाको जित थप सहज भएको थियो । ला लिगामा आइतबार बार्सिलोनाले रियल सोसिडाडको सामना गर्नेछ ।

पहिलो लेगमा १-१ को बराबरी खेलको बार्सिलोनाले यस नतिजासँगै एग्रिगेटमा स्कोर ६-१ बनाउँदै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । त्यस्तै हिजो रातिका अन्य खेलमा इस्पानियोलले लेभान्टेलाई २-० ले हराउँदै एग्रिगेटमा ३-२ को स्कोरसाथ क्वाटरफाइनल प्रवेश गर्‍यो । सेभिल्ला पनि काडिजलाई २-१ ले हराउँदै अर्को चरण पुगेको छ । पहिलो लेगमा सेभिल्लाले २-० को सहज जित दर्ता गरेको थियो ।

Facebook Comments