झापाका ढुङ्गेललाई युएईमा अवार्ड

युएई, पुस २९ । नेपाल पत्रकार महसंघ युएई शाखाले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट पत्रकार अवार्ड यस वर्ष रामप्रसाद ढुंगेललाई प्रदान गरेको छ । महासंघको दशौं वार्षिकोत्सवको अवसरमा शुक्रबार दुबईमा आयोजित एक कार्यक्रममा एफएनजे युएई अवार्ड घोषणा गरिएको हो ।

युएईबाट नेपाली पत्रकारिता क्षेत्रमा क्रियाशील एक पत्रकारलाई कदर स्वरुप बर्सेनि यो अवार्ड प्रदान गरिँदै आएको छ । झापाका पत्रकार ढुङ्गेल २ वर्षदेखि अनलाइनखबरमा आबद्ध छन् । ढुंगेल १४ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् ।

प्रवासी पत्रकारिता गर्दा धेरै विषयमा गम्भीर बन्नुपर्छ भन्ने धारणा राख्ने ढुंगेल तीन वर्षअघि समाचारकै कारण स्थानीय प्रशासनले पासपोर्ट नियन्त्रणमा लिएपछि ५ महिनासम्म मुद्दा खेपेका थिए । स्थानीय अदालतले निर्दोष सावित गरेका कारण हाल ढुंगेल रोजगारीसँगै सामाजिक पत्रकारितामा क्रियाशील छन् । झापाली समाज युएईका परिकल्पनाकार ढुंगेल सोही समाजको प्रवक्ताका रुपमा रहेर सामाजिक गतिविधिमा पनि सक्रिय छन् ।

अवार्डको छनौटका लागि महासंघका अध्यक्ष बस्याल र सचिव मेघराज सापकोटालाई महासंघको बैठकले जिम्मेवारी प्रदान गरेको थियो । दशौं वार्षिकोत्सवको अवसरमा महासंघ युएईका संस्थापक सदस्यद्वय निमेश गिरी र नारायण अधिकारीलाई सम्मान गरिएको छ । त्यस्तै, नवप्रतिभा सम्मान पत्रकार सुशान आचार्यलाई प्रदान गरिएको महासंघ शाखा युएईका उपाध्यक्ष लक्ष्मण खनालले जानकारी दिएका छन् ।

यसैबीच, युएई शाखाको दशौं वार्षिकोत्सवको अवसरमा जनवरी १२ तारिख शुक्रबार दुबईमा आयोजित आधारभूत तथा खोज पत्रकारिता तालिम गराइएको छ । ४० जनाले सहभागिता जनाएको तालिमको प्रशिक्षकका रुपमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा खोज पत्रकार केन्द्रका सम्पादक शिव गाउँले नेपालबाट युएई आएका थिए । तालिमले समाचार लेखनमा सुधार हुने र पत्रकारहरुको क्षमता अभिबृद्धि हुने एफएनजे युएई शाखाका अध्यक्ष भूपराज बस्यालले बताए । तालिमको संयोजन महासंघ युएईका उपाध्यक्ष लक्ष्मण खनालले गरेका थिए । प्रशिक्षार्थीहरुको तर्फबाट बोल्दै सामाजिक अभियन्ता राजु खड्काले पत्रकारिताको विषयमा अहिलेसम्मकै प्रभावकारी तालिममा भाग लिन पाएकोमा महासंघ युएई शाखालाई धन्यवाद प्रकट गरेका छन् ।

नेपाल पत्रकार महासंघ युएईका अध्यक्ष भुपराज बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा एनआरएन युएई, नेपाली समाज युएई लगायत विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरु अतिथिका रुपमा आमन्त्रित थिए ।

Facebook Comments