मभित्र साहित्य सानैदेखि रहेछ

कृष्ण उदासी नेपाली साहित्य आकाशमा संघर्षशील नाम हो । साहित्यका गजल, कविता, कथा, उपन्यास, गीत लगायतका विधामा कलम चलाइरहेका उदासी उर्लाबारीस्थित रेडियो प्राइममा सिर्जनाको बगैँचा नामक साहित्यिक कार्यक्रम पनि सञ्चालन गर्छन् । उनको २०६४ साल साउन १२ गते पहिलो कृति ‘दाइजो’ उपन्यासको विमोचन भएको थियो । उर्लाबारी गजल मञ्चका पूर्वअध्यक्ष तथा नेपाली साहित्य समाज उर्लाबारीका महासचिव रहेका उदासीसँग उनका जीवनका पाटोहरु हामीले खोतल्ने प्रयास गरेका छौँ ।

तपाइर्ं कहाँ जन्मिनुुभयो ?
म पाँचथर जिल्लाको फलैँचा गाविसमा बुवा भानुझर आमा जशोदाको चौथो सन्तान, साइँलो छोराको रुपमा जन्मेको हुँ । मेरो प्रारम्भिक शिक्षा श्रीसिंह काली प्राविबाट भएको हो । मैले विष्णु माध्यमिक विद्यालय, च्याङ्थापुबाट एसएलसी पास गरेको हुँ र +२ देखि स्नातकोत्तरसम्म उर्लाबारी बहुमुखी क्याम्पसबाट गरेको हुँ ।

बाल्यकाल कसरी बित्यो ?
हाम्रो पालाको बाल्यकाल अहिले जस्तो थिएन । एकदम संघर्षपूर्ण थियो तर म त्यसलाई दु:ख ठान्दिनँ । डेढ घण्टाको बाटो थियो स्कुल पुग्नलाई । बिहान एक भारी घाँस नकाटी स्कुल जान पाइँदैन थियो । मलाई सम्झना भएको उमेरदेखि हामी घरका काममा पूरै सरिक हुन्थ्यौँ । त्यो एउटा किसान परिवारको लागि अनिवार्य पनि थियो ।

साहित्यमा कसरी आउनुभयो ?
म साहित्यमा आउनुको पहिलो कारण मेरो बाल्यकालको पारिवारिक वातावरण हो । घरमा बुबा हरेक दिन रामायण पढ्नुहुन्थ्यो र त्यो मलाई साह्रै मन पर्थ्यो । दोस्रो म प्रावि पढ्दा मलाई क ख सिकाउने गुरुआमा योगमाया दाहालको हौसला, तेस्रो मावि पढ्दाका मेरा गुरु मुक्तिनाथ रिमालको प्रेरणा र उर्लाबारी आइसकेपछि साहित्यकार रमेश भट्टराई, कवि मिश्र वैजयन्ती, निर्मल विकल राई, नवराज थापालगायतको सहयोगले आज यहाँ छु ।

साहित्यका कुनकुन विधमा कलम चलाउनुहुन्छ ?
कृतिगत हिसाबले त मैले पहिला उपन्यास ल्याएको हुँ । तर पनि कविता, कथा, गजल र गीत मेरा रोजाइका विधा हुन् ।

हालसम्म तपाइर्ंका कृतिहरु ?
फुटकर त म सम्झिन सक्दिनँ, कृतिगत हिसाबमा दाइजो उपन्यास (२०६४) दोभानपारि बाबरी (गजल संग्रह २०६७), म हराएको साँझ (कथा संग्रह २०७०, बबिता घिमिरेसँग संयुक्त २०७०) ।

नयाँ आउन लागेका केही छन् कि ?
अहिलेचाहिँ मेरो एकल शब्द र गौरभ दर्पणको एकल संगीतमा राष्ट्रभावका गीतहरूको एल्बमको तयारीमा छु ।

गीतसंगीतमा नि निक्कै सक्रिय हुनुहुन्छ नि ?
हो, पछिल्लो समयमा गीत संगीतमा पनि काम गर्दैछु ।

साहित्य लेखनबाहेक अरु केही बन्ने सपना थियो ?
थिएन, मभित्र साहित्यचाहिँ सानैदेखि रहेछ । बस ! मेरो जीवनमा ठूलो सपना नै छैन ।

कसैले ल्याएको हो या आफ आउनुुभयो ?
साहित्य सिर्जना प्राकृतिक कुरा हो, कसैले ल्याएर आइँदैन ।

सजिलै स्थापित हुनुभयो या संघर्षबाट ?
खासमा म स्थापित भएकै छैन । म त अझै नयाँ नै छु । अग्रजहरूबाट सिक्दैछु ।

आफ्नै नजरमा कृष्ण उदासी के हो र को हो ?
मेरो नजरमा कृष्ण उदासी सामान्य मान्छे हो र ऊ नेपाली साहित्यमा बामे सर्न खोजिरहेको छ । उसलाई सकरात्मक सुझाव, सल्लाह र सहयोगको खाँचो छ ।

मान्छेहरुले तपाईंलाई कसरी चिनोस् जस्तो लाग्छ ?
संसार जीवन र मृत्युको चक्र हो । मेरो जीवनको दियो निभ्दैगर्दा कृष्ण उदासी भन्ने एउटा फटाहा थियो मरेछ, ठीकै भयो भनेर कसैले पनि भन्ने ठाउँ नरहोस् मलाई केही चाहिँदैन ।

आफ्ना सवल पक्ष के-के ठान्नुहुन्छ ?
मलाई मेरा सबल पक्षहरूको जानकारी छैन ।

अनि कमजोर पक्ष नि ?
मेरा कमजोरीहरू अत्यन्तै धेरै छन् । सुधार्ने कोसिस गरिरहेको छु तर कतिपयचाहिँ प्रकृतिप्रदत्त भएको कारण सुधार्न बहुत गाह्रो हुँदोरहेछ ।

कसैलाई हेर्ने धारणा कसरी बनाउनुहुन्छ ?
ऊसँगको व्यावहारिक सामीप्यताले निर्धारण गर्छ ।

तपाइर्ंको आफ्नो स्वाभाव निर्माणमा कुनकुन पक्ष हावी छन् ?
मेरा स्वाभावको आधा भाग प्रकृति हो, आधा भाग पारिवारिक संस्कार, अध्ययन र समाजले निर्धारण गरेको छ ।

तपाइर्ंलाई कति खेर रिस उठ्छ ?
आफू प्रतिकूल हुने कुनै पनि क्रियाकलापले विपरीत प्रतिक्रिया उत्पन्न गर्नु मानवीय संवेगभित्र पर्छ । म पनि त्यस्तै हुँ । तर नियन्त्रण गर्ने कोसिस सकेसम्म गर्छु ।

अनि कतिखेर भावुक हुनुहुन्छ ?
भावुक त मलाई जेसुकै विषयले पनि बनाउँछ ।

लेखन बाहेक तपाइर्ंको रुचिको क्षेत्र ?
लेखनबाहेक, नयाँ कुराको अध्ययन र भ्रमण मेरो रुचिको विषय हो ।

तपाइर्ंलाई असाध्यै मनपर्ने पुुस्तक ?
थुप्रै छन्, त्यसमा पनि सरुझो पागलबस्ती र कृष्ण धराबासीको राधा उपन्यास मनपर्छ ।

अहिले कस्ता पुस्तक पढिरहनु भएको छ ?
पढ्न त सबैखाले पढ्छु तर अहिले अलि चुजी भएको छु, पुस्तकले तानेन भने पढ्दिनँ ।

दोर्होयाएर पढ्नुु भएको पुुस्तक ?
थुप्रै छन्, त्यसमा पनि रामायण, महाभारत, पागलबस्ती विशेष ।

कस्ता फिल्म हेनर्ुुहुन्छ ?
एक्सन भन्दा कथानक चलचित्र मनपर्छ ।

नेपालका मनपर्ने साहित्यकार ?
सबै मनपर्छ । त्यसमा पनि सरुझर कृष्ण धराबासीसँग केही छ जस्तो लाग्छ ।

जीवन के रहेछ ?
सिर्जनामा लेखियो होला जीवनको परिभाषा तर अनुभवमा जीवनको अग्लो परिभाषा हुनेहरूका अघि मेरो साह्रै होचो हुनसक्छ ।

साहित्यमा लागेर के पाउनुभयो ?
राम्रा मान्छेहरूको संगत पाएको छु ।

साहित्यमा लागेर बाँच्न सकिने वातावरण बनेको हो त ?

अझै पनि नेपाली साहित्य व्यावसायिक बनेको छैन । यो सानो सर्कलमा घुमिरहेको छ । हल्ला गर्न नलजाउने र सकेसम्म हजुर भनिदिनुपर्नेहरूसँगै छ ।

साहित्यमा आउने नयाँलाई के सुझाव दिनुहुन्छ ?
म आफ नयाँ छु । अध्ययन ठूलो कुरा रहेछ भन्ने बुझ्दैछु ।

प्रस्तुति : तेजन खड्का

Facebook Comments