आमाको निधनपछि तिम्ल्याहा शिशुलाई हुर्काउनै कठिन

मोरङ । जन्मिएको छ दिनमा आमाको ज्यान गएपछि उदयपुरका तिम्ल्याहा शिशुलाई हुर्काउन कठिन भएको छ ।

माघे संक्रान्तिको बेलुकी नोबेल मेडिकल कलेज विराटनगरमा जन्मिएका तिम्ल्याहा छोरीहरुलाई हुर्काउन कठिन भएको बाबु प्रदिप तामाङले बताए । उनीहरुलाई जण्डिसको संक्रमण भएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका-९ डुंगाका प्रदिप र अन्जु तामाङको तिम्ल्याहा छोरी जन्मिएका थिए ।

२५ वर्षीया अन्जुले उनीहरुलाई सामान्य प्रसुतिबाटै जन्म दिएकी थिइन् । शरीरमा रगतको कमी भएकोले रगत चढाउने क्रममा अन्जुको स्वास्थ्य अचानक बिग्रिएको र उपचारकै क्रममा माघ ६ गते ज्यान गएको थियो ।

आमाको निधन भएपछि बाबु र परिवारका सदस्यहरुको स्यहारमा हुर्किरहेका उनीहरुको तौल सामान्य रहेको र स्वास्थ्य अवस्था पनि खतरा बाहिरै रहेको थियो । तिम्ल्याहा छोरीलाई अहिले सुनसरी झुम्कामा रहेको घरमा राखेर स्यहार र उपचार गरिरहेको बाबु प्रदिपले बताए ।

‘कहिले चिसो लाग्छ, कहिले पखाला लाग्छ, अहिले जण्डिसले सताएको छ’, उनले भने, ‘तीनवटी छोरीलाई आमाको सहारा बिना हुर्काउन सारै गाह्रो भइरहेको छ ।’

Facebook Comments