राष्ट्रियसभामा झापाका बस्नेतसहित तीनजना सिफारिस

बिर्तामोड, माघ २६ । सरकारले राष्ट्रियसभामा झापाका गोपालकुमार बस्नेत सहित तीन सदस्य मनोनयनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।

संविधानको धारा ८६ को २ (ख) अनुसार शुक्रबार बसेको मन्त्रिपरिष्द बैठकले गोपालकुमार बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीलाई मनोनयनको सिफारिस गरेको हो । सरकारको यो मनोनयनसँगै राष्ट्रियसभाले पूर्णता पाउने भएको छ । सरकारको सिफारिस गरेका तीनजनामध्ये दुई कांग्रेसमा क्रियाशील रहेका नेता हुन् । जोशी कांग्रेस शुभेच्छुक हुन् । उनी सामाजिक क्षेत्रमा काम आबद्ध छन् ।

बस्नेत झापाका पुराना कांग्रेस नेता हुन् । उनी झापा जिल्ला कार्यसमितिका पूर्वसचिव समेत हुन् । ०५१ सालको मध्यावधि निर्वाचनमा पराजित भएपछि उनी क्रियाशील राजनीतिबाट सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका थिए । साहित्यिक र व्यावसायिक क्षेत्रमा समेत क्रियाशील बिर्तामोड १ निवासी बस्नेत प्रधानमन्त्री देउवाका विश्वासपात्र समेत हुन् । बस्नेतले बिर्तामोडमा पूर्ण टुंग बिर्ता सिटी हस्पिटल र बाल्मीकि एजुकेसन फाउन्डेसन सञ्चालन गर्दै आएका छन् ।

पौडेल कांग्रेसका मुख्य सचिव हुन् । देउवा पार्टी सभापतिमा निर्वाचन भएपछि उनलाई पार्टी केन्द्रीय कार्यालयको मुख्य सचिव बनाएका थिए । नेविसंघबाट कांग्रेस राजनीतिमा प्रवेश गरेका पौडेल मुख्य सचिव हुनुअघि शिक्षक संघ र ट्रेड युनियन कांग्रेसमा आबद्ध थिए । उनी स्याङ्जाको भीरकोट नगरपालिका–१ निवासी हुन् ।

Facebook Comments