‘आरोप प्रत्यारोपको राजनीति अन्त्य गरौँ’

विमर्श उप्रेती

काँकरभिट्टा । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एकअर्कामाथि आरोप प्रत्यारोपको राजनीति अन्त्य गर्न दलहरुलाई आग्रह गरेका छन् । काँकरभिट्टास्थित मेची सामुदायिक भवनमा शुक्रबार आयोजित बधाई तथा सम्मान कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन् ।

‘एउटा दलले अर्को दलमाथि दोषारोपण गर्दैमा देश बन्दैन’, कांग्रेस प्रवक्ता शर्माले भने, ‘माओवादीको १० वर्षे सशस्त्र द्वन्द्वमा हिंसात्माक घटना पनि भए तर त्यसको पनि सकारात्मक पक्ष छ ।’ विपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रियताको पक्षमा उठाएका कतिपय कदमलाई सम्मानयोग्य भनि टिप्पणी गरेका उनले देश र जनताको पक्षमा कुनै पार्टी विशेषले साझा हितमा काम गर्छ भने अरु दलले पनि त्यसको प्रशंसा गर्ने संस्कृति बसाल्नु पर्नेमा जोड दिए ।

‘कांग्रेस मात्र होइन, नेपालका अरु पार्टीमा पनि रुपान्तरण जरुरी छ’, शर्माले थपे, ‘भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमण कुटनीतिक मर्यादाविपरीत छ, सरकारलाई थाहा नदिई पार्टीको निम्तोमा हुने यस्ता भ्रमणले मुलक कमजोर बन्छ ।’

नेपाली कांग्रेस मेचीनगर समितिद्वारा आयोजित सो कार्यक्रममा पार्टी प्रवक्तामा नियुक्त भएका नेता शर्मासहित अन्य दर्जनौँलाई सम्मान गरिएको थियो । सो अवसरमा मेचीनगर क्षेत्रका विभिन्न संघसंस्थाहरुमा निर्वाचित भएका कांग्रेसतर्फका उम्मेदवारहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा चारआली साना सहरी खानेपानी उपभोक्ता समितिका अध्यक्ष लालबहादुर थेवे, दुहागढी रेडक्रसका अध्यक्ष गोपी मैनाली, खुट्टिडाँगी सामुदायिक वनका अध्यक्ष टंक नेपालसहित कार्यसमितिका अन्य पदाधिकारी एवम् सदस्यहरु, मानव-हात्ती द्वन्द्व व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद उप्रेतीसहित अन्य पदाधिकारी लगायत छन् ।

कार्यक्रममा नेपाली कांग्रेस झापा उपसभापति राम कट्टेल, सचिव प्रेम सम्बाहाम्फे, नेपाल महिला संघ क्षेत्रीय सभापति रचना घिमिरे, कलाकार शिवशंकर रिजाल (जोगिन्दर पानवाला) लगायतले सम्मानित व्यक्तित्वहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।
कांग्रेस नगर सभापति इन्द्रबहादुर बुढाथोकीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्वागत उपसभापति सुरेन्द्र बुढाथोकी र सञ्चालन सचिव वसन्त तिवारीले गरेका थिए ।

Facebook Comments