‘१० डोका मेरा सिकारु लेखहरु फालिए पनि म निराश भइनँ’

— तुलसीदास श्रेष्ठ साहित्यकार/पत्रकार

पूर्वी नेपालस्थित इलाम जिल्लाको शान्तिपुर गाउँ विकास समितिमा माता स्वर्गीय जानुकादेवी श्रेष्ठ र पिता स्वर्गीय रामनारायण श्रेष्ठको ज्येष्ठ सुपुत्रको रुपमा विसं १९९५ मंसिर २५ गतेका दिन यस धरातलमा पाइला टेकेका तुलसीदास श्रेष्ठ अग्रज साहित्यकार, सफल शिक्षक तथा पत्रकार हुन् । साहित्यका विभिन्न विधाहरु कथा, कविता, उपन्यास र निबन्ध आदिमा प्रचुर मात्रामा लेख रचना कोर्ने साहित्यकार श्रेष्ठ झापास्थित साविक सुरुङ्गा ९ मा बसोबास गर्दै आएका थिए । दार्जिलिङबाट प्रकाशन हुने भारती मासिक पत्रिकामा ‘इच्छा’ शीर्षकको कविता प्रकाशन गरेपश्चात नेपाली साहित्यमा विधिवत रुपमा प्रवेश गरेका सर्जक श्रेष्ठको एक शिक्षक उपन्यास-२०३५, अतित दोहोरिन्छ कथासंग्रह- २०५७, वर्तमान यस्तै छ कवितासंग्रह- २०६० र आदर्श मान्छे उपन्यास-२०६१ गरी जम्मा ४ कृति प्रकाशन भएका छन् भने उनका स्थानीय तथा राष्ट्रियस्तरबाट प्रकाशन हुने विभिन्न पत्रपत्रिकाहरुमा प्रशस्त लेख, रचना प्रकाशन भइसकेका छन् । गाउँ, समाज, राष्ट्र र विश्वलाई नै पृथक ढङ्गबाट विश्लेषण गर्ने खुबी भएका श्रेष्ठ कनकाई प्रतिभा प्रतिष्ठान, विवेचना दैनिक, सहकार्य युवा क्लब सुरुङ्गा, जिल्ला शिक्षा कार्यालय झापा, नेपाल शिक्षक संगठन झापा तथा अन्य थुप्रै संघसंस्थाहरुबाट सम्मानित तथा अभिनन्दित भइसकेका छन् । विभिन्न स्थानीयस्तरका संघसंस्थाहरुमा समेत संलग्न रहेका स्रष्टा श्रेष्ठ झापाली साहित्यिक जगतमा विशिष्ट स्थान ओगट्न सफल थिए । उनको २०७४ माघ २६ गते निधन भएको छ । प्रस्तुत छ उनीसँग चार वर्षअघि गौरव पोखरेलले गरेको कुराकानी :

तपाईंको विचारमा साहित्य भनेको के हो ?
साहित्य भनेको विचारको प्रवाह हो । यसलाई जो कोहीको विचारहरु समाजमा सम्प्रेषण गर्ने माध्यमको रुपमा पनि हेर्न सकिन्छ । मानिस दुई किसिमका हुन्छन्, एउटाले साहित्यलाई मन पराउँछन् त अर्काले मन पराउँदैनन् । मन पराउने मानिसहरुले साहित्यमा मरिमेट्ने गर्दछन् र अन्तत: चर्चाको शिखरमा पुग्दछन् । नेपाली साहित्यको उत्थान र विकासको निम्ति समय-समयमा साहित्यिक गोष्ठी सभा तथा सम्मेलनहरुको आवश्यकता हुने गर्दछ । बेला बखतमा साहित्यकारहरुसँगको भेटघाट जस्ता कार्यक्रमहरुको आयोजना गरिनुपर्छ र एक अर्कामा भएको साहित्यिक क्षमताको आदानप्रदान गर्दै नेपाली साहित्यको उत्थान गर्नु पर्दछ ।

नेपाली साहित्यिक यात्रामा कहिलेबाट प्रवेश गर्नु भयो र साहित्यमा लाग्ने प्रेरणा कहाँबाट पाउनु भयो ?
म दार्जिलिङ टर्नवुल हाई स्कुलमा सात कक्षामा पढ्दाखेरी सधैँ त्यहाँ प्रवासी नेपालीले खोलेको ‘गोर्खा दु:ख निवारण संघ’ले आयोजना गर्ने साहित्यिक गोष्ठीहरुमा नियमित रुपमा सहभागी हुने गथर्ंे । सधैँजसो कविताहरु पनि कोर्ने गथेर्ं । एक वर्षअघिबाट मैले भारती पत्रिकाको लागि कविता प्रेषित गर्दै आएको थिएँ । तर छापिएको थिएन । एक दिन त्यस पत्रिकाको सम्पादकले पत्र पठाएका रहेछन् र पत्रमा यस्तो लेखेका थिए- सिकारु लेखकज्यू, अब तपाईंले नलेख्नु होला तपाईंका आर्टिकलहरु डोकोमा हाल्दा १० डोको जति भइसक्यो । यहाँ राख्ने ठाउँ छैन । मैले त्यो कुरोलाई समेत सकारात्मक रुपले लिँदै साहित्यिक रचना गरी नै रहेँ । एक दिन उनीहरुले निकालेको भारती भन्ने पत्रिकामा इच्छा शीर्षकको कविता छापिएछ । त्यस दिन मलाई पारसमणि प्रधानले बोलाएर फचे सानो केटा भए पनि राम्रो कविता लेख्दो रहेछ भनेर एउटा पुस्तक पुरस्कार दिए । त्यही दिनबाट ममा साहित्यप्रति अभिरुचि बढेको हो ।

तपाइर्ंले धेरै कृतिहरुको लेखन गरिसक्नु भएको छ, धेरैवटा पत्र-पत्रिकामा पत्रकारिता गरिसक्नु भएको छ । नेपाली पाठकहरुले कस्तो कृति तथा रचनाहरुको खोजी गरिरहेको पाउनुभएको छ ?
यस प्रश्नको सम्बन्धमा विभिन्न व्यक्ति, व्यक्तित्वसँग आआफ्नो विचार हुने गर्दछ । मेरो विचारमा नेपाली पाठकहरुले यथार्थताको खोजी गरिरहेका छन् । लेख तथा रचना सत्यवादी हुनु पर्दछ । सत्य घटना तथा विचारहरु प्रस्तुत गरे राम्रो हुन्छ जस्तो मलाई लाग्छ । जस्तो अहिलेका नेताहरुले जनताको पक्षमा मुक्तकण्ठले वकालत गरेको पाइँदैन । उनीहरु व्यक्तिगत तथा पार्टीगत कुरा र हितमात्र हेर्ने गर्छन् । तसर्थ साहित्यकारले यथार्थ कुरालाई उद्गार गर्दै जनता समक्ष पस्कन सक्नु पर्दछ ।

असल साहित्यकार बन्न के गर्नुपर्ला ?
असल साहित्यकार बन्नको निमित्त अध्ययन पहिलो कुरा हो । धेरै अध्ययन गर्नुपर्छ । त्यसलाई निरन्तर रुपमा साधना गर्नुपर्छ, अभ्यास गर्नुपर्छ । यदि सानो मान्छले पनि राम्रो कुरा गर्छ भने त्यसको पनि अनुसरण गर्न जरुरी छ । म पछाडिका साहित्यकारहरुलाई असल र स्थापित साहित्यकार बन्न निरन्तरको साधना र समाजको यथार्थताको चित्रण चाहिन्छ भन्न चाहन्छु । काल्पनिक कुरा समावेश भएका रचनालाई पनि पाठकहरुको मन छुने तरिकाले प्रस्तुत गर्नु उपयुक्त हुन्छ । धेरै अध्ययन गरेर सुन्दर साहित्यको सिर्जना गर्दै नेपाली साहित्य जगतलाई चम्काउनुपर्छ भन्ने पनि मेरो सुझाव छ ।

Facebook Comments