अथक जिन्दगी

अहिले धेरैको एउटै महान् लक्ष्य हुन्छ – पैसा कमाउने । सम्पन्न जिन्दगी बाँच्ने । यो आम सपना हो । पैसा त्यो चिज हो जसले जीवनका अधिकांश आवश्यकता पूरा गर्दिन्छ । आवश्यकता र पैसाबीचको घनिष्टतासँग खुसी जोडिएको हुन्छ । त्यही खुसीका लागि मानिस अथक संघर्ष गरिरहेको छ ।

संघर्ष गर्ने क्रममा कतिपय अवस्था यस्तो पनि आउँछ कि जिन्दगीलाई त्यसले थकाइदिन्छ । आवश्यकता र बोझिला जिम्मेवारीले थचक्क बसाइदिन खोज्छ । खुट्टा लर्बराउन थाल्छन् । अनि लाग्छ, पैसा मान्छेको शत्रु हो । त्यही नभएकाले जीवन यति निरस छ । निराशाले यति बिघ्न सताउँछ कि पैसा हुनेहरु सबै पराई जत्तिकै लाग्छन् । स्तर र हैसियतका कुराहरु मनमा आउँछन् र सताउँछन् ।

यो त हाम्रो बुझाइ र भोगाइ हो । यो कुराले सबैलाई उस्तै असर गरिरहेको हुँदैन । सम्झिनोस् त त्यो सानो अबोध दुई-अढाई वर्षको नानीलाई । जसले पैसा चिनेकै छैन । उसलाई हजारको नोट दिनोस् त, च्यातचुत पारेर खेलौना बनाइदिन्छ । र, च्यातेकोमा दङ्ग हुँदै मुस्कुराउँछ । चाहे धनी होस् वा गरिब । पैसालाई चिनेर धेरै महत्व दिएकाले हामी आफैँ समस्या निम्त्याउँदै जान्छौँ । पैसा चिनेपछि हामीमा लोभ पलाउँछ । ईर्ष्या, स्वार्थ पलाउँछ, अहंकार पनि जन्मिन्छ हामीभित्र । अनि आफ्ना पराई बन्छन्, पराईहरुलाई पैसाले तानेर आफ्नो बनाइदिन्छ ।

हामी दु:ख गरेर पैसा कमाउने सोच्छौँ । सोचेजस्तो नभएपछि गरिरहेको कामबाट हार खान्छौँ । हरेश खाँदै अर्को विकल्प खोज्न थाल्छौँ । आफ्नो असफलताभित्रको कारण खोज्न चाहँदैनौँ । आफूले गरेकै कामबाट सफल बनेकाहरुलाई हेर्दैनौँ । उनीहरुबाट सिक्ने कोसिस गर्दैनौँ । बरु अरु सफल भएको देखेर त्यही कामबाट पैसा कमाउने सपना बुन्दै पछि लाग्छौँ अनि फेरि पछारिन्छौँ ।

हामी पछि पर्नुको कारणमध्ये असफलतालाई महसुस गर्न नसक्नु पनि हो । हार्नुको अर्थ मन मार्नु होइन । हार्नुको खास अर्थ हो जित्नको लागि फेरि कोसिस गर्नु । हार्नु भनेको सिक्नु हो । कुनै व्यवसाय चुर्लुम्म डुब्यो भनेर रुँदै बस्दा के त्यो फाइदामा जाला ? जाँदैन कोसिस गर्नुपर्छ । किन व्यापार डुब्यो भन्ने कारण खोज्नुपर्छ । अध्ययन गर्नुपर्छ, सिक्नुपर्छ ।

आज धेरै ठाउँ बाँझिँदैछन् । कारण खेतीबाट पैसा कमाउन सकिएन भन्ने सोच । त्यही गाउँमा आधुनिक तरिकाले खेती गरेर कोही लाखौँ कमाइरहेको हुन्छ । भो… अब सकिँदैन, हुँदैन भन्छौँ । हार खान्छौँ । थाकिदिन्छौँ । बस् ।

थाकेको अवस्थामा नानीहरुबाट हामीले केही सिक्न सक्नुपर्छ । हामी दिनभर जतिसुकै थाकेर घर पुगे पनि नानीहरुले हामीलाई बोक्न लगाउँछन् । थाक्नुसँग उनीहरुलाई कुनै मतलबै हुँदैन । ‘मेरो बाबा त कहिल्यै थाक्नु हुँदैन’ भन्ने सोच हुन्छ उनीहरुमा । ‘नथाक्नोस्’ भनेर उनीहरु हामीलाई उत्प्रेरित गरिरहेका हुन्छन् । र, आजसम्म म थाकेँ, सुत्छु भनेर नानीहरुले भनेको मैले सुनेको छैन । बरु खेल्दाखेल्दै निदाउँछन् तर गलेँ भन्दैनन् । लेख्दा केही बिग्रियो भने कापीमा प्वाल परुन्जेल इरेजरले मेट्छन् तर सपारेरै छाड्छन् । जान्न मन लागेको कुरालाई पटक-पटक सोधेर हैरान पार्छन्, तर जानेरै छाड्छन् ।

जीवनमा पैसा कति आउँछ, कति जान्छ भन्ने कसैलाई थाहा हुँदैन । कति चाहिन्छ भन्ने पनि थाहा हुन्न । मानिस लिन चाहन्छ, दिन चाहँदैन । पैसा कसरी कमाउने भन्ने आवश्यक ज्ञान र सिप लिन पैसा तिर्नुपर्छ । अनुभव अनुसन्धान गर्न पनि दिनुपर्छ । व्यापार-व्यवसायका लागि लगानी गर्नुपर्छ । ज्याला पारिश्रमिक पनि दिनुपर्छ । जसले दिन्छ, उसले लिन्छ ।

तर, हामीचाहिँ आफ्ना छोराछोरीलाई टन्न कमाउन सक्ने बनाउने सपना देख्छौँ तर पैसाको लोभले राम्रो स्कुल र शैक्षिक सामग्री दिन पनि सक्दैनौँ । पैसा जम्मा गरेर धनी हुने सपना देख्छौँ तर खर्च गरेर एक पैसा बचाउन सक्दैनौँ । व्यापार गरेर करोडपति हुने सोच्छौँ अनि लगानी गर्न चाहिँ डराउँछौँ । सानो-सानो असफलतामा निराश भएर झोक्रिन्छौँ, गल्ती कमजोरीलाई सुधार्न सक्दैनौँ भने पैसा हाम्रा लागि चन्द्रमा जस्तै हुन पुग्छ । आँखै अगाडि भए पनि छुन नसक्ने । अनि मानिसले जति नै हाडछाला घोटे पनि सोचे जति पैसा कमाउन सक्दैन जीवन भर । जीवनको अन्तिम क्षणसम्म पैसा भएन भनेरै बाँच्छ । पैसा कमाउनलाई बचत गर्न सक्नुपर्छ र लगानी गर्न सक्नुपर्छ । लगानी गरेपछि पैसाले आफैँ पैसा दिन थाल्छ । नत्र पैसाका लागि अथक जिन्दगी बाँच्न तयार हुन सक्नुपर्छ ।

Facebook Comments