विवाहलाई अविस्मरणीय बनाउने नेपाल्यान्डको योजना

एकराज प्रधान

विवाह । जीवनको महत्वपूर्ण क्षण । जसलाई जो-कोही अविस्मरणीय बनाउन चाहन्छ । सुन्दर, व्यवस्थित र कुनै पनि कुरामा कमी नहोस् भन्न यसका लागि महिनौँ लगाएर तयारी हुने गर्छ । खर्चको जोहोदेखि हरेक कुरामा ध्यान दिइन्छ । ता कि जीवनमा जोडिएको नयाँ सम्बन्धले सधैँ खुसी बनाओस् ।

विवाहलाई व्यवस्थित कसरी गर्ने भनेर धेरैले चिन्ता लिइरहेका हुन्छन् । किनकि सानो कमजोरीले विवाह अव्यवस्थित बन्न सक्छ । विवाहमा आएका पाहुनाको स्वागतदेखि धेरै कुराको व्यवस्थापनमा जुट्नु पर्दा परिवारका सदस्यले विवाहलाई राम्रोसँग महसुस गर्न पाउँदैनन् । यता कुद्दा उता कुद्दा विवाह सकिन्छ ।

विवाह सम्बन्धी यिनै समस्यालाई गहिरिएर अध्ययन गरेका युवा दिवस भण्डारी र सुमन कटुवालले नयाँ कन्सेप्ट बनाए । वैवाहिक कार्यक्रमलाई व्यवस्थित गरी त्यो दिन परिवारलाई तनावमुक्त कसरी बनाउन सकिन्छ र विवाहलाई अविस्मरणीय कसरी पार्न सकिन्छ भन्ने बारे योजना बनाए । त्यही योजना अनुरुप उनीहरुले बिर्तामाडमा नेपाल्यान्ड इभेन्ट म्यानेजमेन्ट सञ्चालनमा ल्याएका छन् ।

विगत तीन वर्षदेखि बिर्तामोडमै नेपाल्यान्ड कपडा छपाईं उद्योग सञ्चालन गरिरहेका दिवस भण्डारी र २०७२ सालदेखि इनोभेसन फेसन डिजाइनिङ इन्स्टिच्युट एन्ड बुटिक सञ्चालन गरिरहेकी सुमन कटुवालले संयुक्त रुपमा इभेन्ट म्यानेजमेन्ट सुरु गरेका हुन् । जसमा विशेष गरी विवाह लक्षित कार्यक्रमको म्यानेजमेन्ट गरिने भण्डारीले जानकारी दिए । ‘विवाहको लागि आवश्यक निमन्त्रणा कार्ड छपाईं, डेकोरेसन, ड्रेस डिजाइन, फोटो सुट, भिडियोसम्मका काम हामी गर्नेछौँ’, उनले भने, ‘अहिलेसम्म इभेन्ट म्यानेजमेन्ट भन्नाले टेन्ट र क्याटरिङ अनि साउन्ड सिस्टमलाई मात्र बुझिन्थ्यो, हाम्रो चाहिँ सम्पूर्ण प्याकेज दिने प्रयासमा छौँ ।’

इभेन्ट म्यानेजमेन्टमा शृङ्गारदेखि बेहुलाबेहुलीको ड्रेस डिजाइन र इभेन्ट प्लानसम्म आवश्यक परेर परामर्श दिइने इनोभेसनकी सञ्चालिका कटुवालले बताइन् । ‘विवाहको सम्पूर्ण प्याकेज दिइने भएकाले झापाका लागि यो नयाँ कन्सेप्ट हो’, उनले भनिन्, ‘वैवाहिक कार्यक्रमको प्लान र हामीले के कस्ता कुराको जिम्मा लिने भन्ने बारे परिवारसँग सम्झौताअनुसार हामी काम गर्छौं ।’ सम्झौतामा कुन-कुन कामको जिम्मा आफूहरुले लिनुपर्ने हो भन्ने तय भएपछि त्यसैको आधारमा सेवा शुल्क लाग्ने उनले बताइन् । सामान्यत: एक लाखको हाराहारीमा खर्च लाग्ने र जिम्मेवारी अनुसार खर्च बढ्ने उनको भनाइ छ ।

विवाहलाई सकेसम्म सुन्दर र स्मरणीय बनाउनका लागि आफूहरुले यो काम सुरु गरेको उनको भनाइ छ । औपचारिक रुपमा यो काम गत जनवरी १ देखि सुरु गरिएको उनले बताइन् ।

संस्थाका इभेन्ट प्लानर नवीन ढुङ्गेलले अहिले एकै दिन दुईवटा विवाह गर्न सकिने बताए । त्योभन्दा बढी कार्यक्रम एकै दिन गर्नु पर्ने भएमा अरुसँग साझेदारी गरिने उनले बताए । नेपाल्यान्ड कपडा छपाईं उद्योगले उपभोक्ताले चाहे जस्तो टिसर्ट डिजाइन र छपाई गर्दै आएको छ । इनोभेसनले फेसन डिजाइनसम्बन्धी तालिम प्रदान गर्दै आएको छ । फेसन डिजाइनका डिप्लोमा कोर्सका लागि मार्च इन्टेकका लागि विद्यार्थी भर्ना सुरु गरिएको सञ्चालिका कटुवालले बताइन् । यसअघि इनोभेसनमा फेसन डिजाइन सम्बन्धी मात्र तालिम दिइँदै आएकोमा अब बुटिक पनि थप भएको उनले बताइन् । फेसनेवल जमाना भएकाले विस्तारै फेसन डिजाइनमा युवा क्रेज बढ्दै गइरहेको छ ।

Facebook Comments