विश्वलाई एक सूत्रमा बाँध्ने पर्व महाशिवरात्रि

ब्रह्माकुमारी राजदिदी

आज हामी २१ औँ शताब्दीको शिशुकाल तथा विज्ञानको युगमा अनेकौँ भौतिक सुख, सुविधाको आनन्द लिइरहेका छौँ तर जुन आन्तरिक सुखहरूको अन्तरआत्मा अनुभव गर्न चाहन्छ त्यसलाई भने प्राप्त गर्न सक्षम हुन सकेको छैन ।

आज मानव जीवनमा व्यक्तिगत खुसी, आनन्द, उमंग, सफलता एवम् व्यावसायिक उन्नति आदि सँग सम्बन्धित धेरै कम अवसर बाँकी छ । साथै, सर्वजानिक, सामाजिक वा संगठित रुपमा खुसीको अदान-प्रदान, स्नेह, सद्भावलाई सुदृढ गरेर अलौकिक आनन्दबाट अनुभूत हुने अवसर त नगण्य हुँदै गइरहेका छन् । यसै कारणले मानव एकांकी परिवार, व्यावसायिक दायराभित्र खुम्चिएर तनाव, चिन्ता तथा नकारात्मक विचारहरूसँग संघर्ष गर्दै जीवनको बोझबाट लादिएको यात्रा तय गर्न बाध्य छ ।

उत्सव वास्तवमा मानवको जीवनमा एउटा नयाँ स्फूर्ति, जिज्ञासा ताजापन, उमंग, उत्साह तथा अतीन्द्रिय सुखका छिट्टाहरू छर्नका लागिआरम्भ भएका थिए । त्यति बेला मानवमा श्रद्धा, प्रेम, सद्भावना पनि थियो । अब विस्तारै विस्तारै श्रद्धा र प्रेम खत्म भएर केवल परम्परा मात्रै बाँकी छ । अब तिनीहरूको लोकप्रियाता, मौलिकता, सरोकारिता तथा उमंग-उत्साह प्राय: समाप्त हुँदै गइरहेको छ । यसको मूल कारण हो ती उत्सवहरूको वास्तविक आध्यात्मिक रहस्य र प्राप्तिको बारे अनभिज्ञ हुनु । शिवरात्रिको महान् पर्वसँग पनि यस्तै भएको छ ।

पहाडको उच्च चुचुरादेखि लिएर सागरसम्म कुनै पनि यस्तो ठाउँ छैन जहाँ परमात्माशिवको प्रतिमा वा मूर्तिको स्थापना नगरिएको होस् । सायद नै कुनै यस्तो धर्म ग्रन्थ छैन जसमा परमात्माशिवको महिमा नगरिएको होस् । तर पनि परमात्माशिवको सही परिचय, अवतरणको बेला तथा उहाँको कर्तव्यको बारेमा मानिस अनभिज्ञ नै छ ।

यदि मानिस यस सत्यलाई जान्दछ कि परमात्माशिव को हुनुहुन्छ, कहिले र कसरी प्रकट हुनुहुन्छ, के गर्नु हुन्छ । तब सबै मानिसहरू परमात्मा शिवमा आफो सबै कुरा समर्पण नगरी रहन सक्दैनन् । यस शिवरात्रि पर्वबाट पूरै विश्वलाई एकताको सूत्रमा आबद्ध गर्न सकिन्छ । शिवरात्रि त्यस समयको यादगार हो जब संसारमा चारैतिर अज्ञान अन्धकार छाइरहेको थियो, भाइ-भाइ खुनका प्यासी थिए, स्त्रीहरूको लाज सुरक्षित थिएन । त्यस बखतमा मानवता तडपिरहेको थियो । कतैतिरै सुरक्षा थिएन । त्यस समयमा नै ब्रह्मालोकबाट एक ज्योतिको अवतरण भएको थियो र उहाँको प्रकाशले सम्पूर्ण जगत झलमल्ल भएको थियो । त्यस ज्योतिको नाम नै परमात्मा शिव हो ।

शिवको अर्थ नै हो कल्याणकारी अरु सबै मानिसहरूका नाम शरीरमाथि आधारित हुनाको कारण विनाशी हुन्छन् । शरीर परिवर्तनसँगै नाम पनि परिवर्तन हुन्छन् तर परमात्मा अशरीर हुनुहुन्छ र जन्म मरणको चक्रमा आउनु हुन्न । त्यसैले उहाँको मूर्तिलाई ज्योतिर्लिंग मठ भन्ने गरिन्छ । नेपालको प्रसिद्ध पशुपतिनाथको मन्दिर पनि परमात्मा शिवको मुख्य मठ हो भन्न सकिन्छ ।

पूर्वीय इतिहास, धार्मिक ग्रन्थ तथा सारा नेपाल भारतमा धेरै ठाउँमा शिवको मूर्तिहरू पाइन्छ । नेपालमा पशुपतिनाथ, भारतमा अमरनाथ, केदारनाथ, विश्वनाथ, संगमेश्वर, भीमामेश्वर, सोमनाथ, रामेश्वर आदि शिवकै यादगार प्रतिमाका मन्दिर हुन् । यस प्रकारले ठाउँ-ठाउँमा शिवको मान्यताको रूप ज्योतिविन्दुको नै याद गराउँदछ । यी मन्दिरहरूले मानवहरूका बीच भावनात्मक एकता ल्याउँदछ तथा यो संसार शिव परमात्माको नै सुन्दर रचना हो भन्ने चेतना जागृत गराउँदछ ।

न केवल हिन्दु धर्मका मानिसहरू परमात्माशिवलाई सम्मान गर्दछन् अपितु अन्य धर्ममा विश्वास राख्नेहरूले पनि शिव परमात्मलाई नै निकै श्रद्धाले मान्दछन् । उदाहरणको लागि रोममा इसाई धर्ममा क्याथोलिकहरू गोल आकार भएको ढुंगालाई अहिले पनि पूजा गर्दछन् । अरबमा मक्काको तीर्थ स्थलमा मुस्लिम यात्री पनि यस्तै प्रकारको ढुंगा जसलाई संग-ए-असवद वा मक्केश्वर भन्छन्, लाई चुम्बन गर्दछन् ।

जापानमा बसोबास गर्ने बुद्ध धर्मका अनुयायीहरू जब साधना गर्न बस्दछन् अगाडिपट्टि शिवलिंग जस्तै ढुंगा तीन फिट उचाइको बनाएर त्यसमा ध्यानल गाउने गर्दछन् । यसका अतिरिक्त मिश्रमा ओसिरिस, बेबेलानमा सिअन नामबाट शिवको पूजा हुने गर्दछ । त्यैसगरी सिरिया, युनान, स्पेन, जर्मनी, अमेरिका, मेक्सिको, सुमात्रा एवम् जावाद्विप आदि विभिन्न स्थान र देशहरूमा पनि शिवको यादगार पाइन्छ ।

यति मात्रै नभएर स्कटल्यण्डको प्रसिद्ध नगर ग्लासगो, तुर्की स्थान, ताशकंद, वेस्टइन्डिज, ग्याना, लंका, स्यामा, मौरिसस आदि ठाउँमा पनि शिवलिंगको पूजा हुन्छ । त्यसैगरी सिख धर्मपिता गुरुनानक देवले उहाँलाई एकोंकार नामले पुर्कानु भएको छ । यसबाट स्पष्ट हुन्छ कि परमपिताशिव परमात्मा कुनै एक धर्म विशेषको मात्रै पुजनीय नभएर विश्वभरिका सबै मानवआत्माका परम पूज्यपिता हुनुहुन्छ ।

परमात्मा शिव अजन्मा, अभोक्ता र ब्रह्मालोक निवासी हुनुहुन्छ । त्यसैले भनिन्छ कि उहाँ मानव वा अन्य प्राणी जस्तै जन्म लिनु हुन्न जसबाट कर्मको बन्धनमा परियोस् । बरू धर्मग्लानिको समयमा, जबकि सवै मानव आत्माहरू पाँच विकारहरूको वशका कारण दु:खी, अशान्त, पतित तथा भ्रष्टचारी बन्न पुग्दछन्, तिनीहरूलाई पुन: पवित्र बनाउनका लागि यस साकार सृष्टिमा एक साधारण बृद्ध शरीरमा प्रवेश अथवा अवतरित हुनुहुन्छ, जसलाई नै उहाँको दिव्य अलौकिक जन्म भनिन्छ ।

परमात्माशिवको यही दिव्य अवतरणको दिव्य स्मृतिलाई नै शिवरात्रि अथव शिवजयन्ती पर्वको रूपमा मनाउने गरिन्छ । त्यो केवल १०, १२ घण्टाको रात्रि होइन बरु अज्ञानता, पापाचार र अनेक प्रकारका खराबीको प्रतिक हो । शिवरात्रि फाल्गुण महिनाको सुचक हो र चोधाँै रात घोर अन्धकारको निशानी हो । शिवरात्रिको दिन झरू शिवलिंगमा धतुरो, बेल, बेलपत्र आदि चढाउँछन् तथा रात्रि जागरण तथा व्रत राख्दछन् ।

धतुरो विकार, वैर नफरतको, बेलपत्र गलत आचरण वाव्यवसनको प्रतिक हुन् । जसलाई नै वास्तवमा शिव परमात्मामाथि चढाउनु पर्दछ । साथै, आत्माको ज्योति जगाउने जागरण तथा पवित्र रहने व्रत लिनु पर्दछ शिवरात्रि सबै धर्मको महान् पर्व हो तथा शिवमन्दिर सबै धर्मका पिता परमात्मा यादगार तीर्थस्थल हो । शिव स्मृति नै वास्तवमा सुमन्त्र अथवा तारक मन्त्र हो, जसबाट नै प्राप्ति र सिद्धि उपलब्ध गर्न सकिन्छ ।

आज पुन: त्यही बेला र दशा छ, त्यही रात्रि छ जहाँ, मानव समाज पतनको चरम सीमामा पुगेको छ । यस्तोमा नै धेरै ठूलो घटना तथा सन्देश सुनाउन पाउँदा हर्षको अनुभव भइरहेको छ कि अहिले कलियुगको अन्त्य र सत्ययुुगको आरम्भको संगम युगमा स्वयम्भु परमात्मा शिव मनुष्य आत्माहरूका निभेको आत्माको ज्योति गाउनको लागि प्रजापिता ब्रह्माको मानवीय कायामा अवतरित भइसक्नु भएको छ ।

साथै, ईश्वरीय ज्ञान र राजयोगको शिक्षा दिएर बिकार र खराबीहरूबाट मुक्त गरी दैवी राज्यको स्थापना गरिरहनु भएको छ । यसैले प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विधालयद्वारा सम्पूर्ण विश्वका १४० राष्ट्रमा आफा ९००० भन्दा बढी सेवा केन्द्रहरूद्वारा महाशिवरात्रि पर्वलाई निक्कै धुमधामसँग विविध कार्यक्रम गरी मनाउँदै छ । त्यसैले सबैलाई ईश्वरीय जन्मसिद्ध अधिकार प्राप्त गर्न हार्दिक आमन्त्रण छ ।

हामी सबै परमपिता परमात्माको यस दिव्य जन्मका अवसरमा विकारहरू कुुलत र दुर्व्यसनहरू तथा आपसी मतभेदलाई त्याग गरी विश्वशान्ति, सदभाव, नैतिक र आध्यामिक मूल्यबाट चरित्रको उत्थान गर्ने प्रतिज्ञाको रूपमा मनाऔँ, जसबाट मानवता सुख, शान्ति, सम्पन्न बन्न सकोस् ।

Facebook Comments