‘अबको कृषि क्रान्ति यान्त्रीकरणबाट मात्र सम्भव छ’

निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायीकरणको माध्यमबाट प्रतिस्पर्धात्मक प्रणालीमा रूपान्तरण गरी आयातलाई समेत प्रतिस्थापन गर्दै निर्यात प्रबर्द्धन गर्न कृषिमा यान्त्रिकीकरणको आवश्यकतालाई ध्यान दिँदै संघीय संरचनाअनुरुप प्रदेश नम्बर १ मा पहिलोपटक धरानमा तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७४ बिहीबारबाट सुरु हुँदैछ । कृषि इन्जिनियरिङ निर्देशनालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र नेपाल कृषि मेशिनरी व्यवसायी संघको संयुक्त आयोजनामा पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानमा फागुन १० गतेदेखि हुने प्रदर्शनीले मुलुकलाई खाद्यन्नमा आत्मनिर्भर बनाउने, दिगो कृषि विकासमार्फत समृद्ध प्रदेश निर्माणको लक्ष्य प्राप्तिमा आम किसानले प्रदर्शनीबाट कसरी लाभ लिन सक्छ त ? यसै विषय वस्तुमा केन्द्रित हुँदै नेपाल कृषि मेसनरी व्यवसायी संघका सदस्य एवम् नाफसिड प्रालिका प्रबन्ध निर्देशक गौतम महर्जनसँग गरिएको कुराकानी:

तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी प्रदेश नम्बर १ को धरानमा नै किन ?
नेपाल कृषि मेसनरी व्यवसायी संघले यसअघि पनि चितवन र बाँकेको कोहलपुरमा प्रदर्शनी आयोजना गरिसेको छ । तर, यसपटक मुलुक संघीय संरचनामा गइरहँदा र प्रादेशिक निर्वाचनहरु पनि सम्पन्न भइसकेपछि प्रदेश नम्बर १ मा तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी पहिलो हो । अर्को धरान नै किन भन्दा पूर्वी पहाडी क्षेत्रका किसानहरु कृषि औजारबाट टाढा भएका कारण संगमस्थल धरानमा प्रदर्शनी आयोजना गर्दा बढीभन्दा बढी किसानले लाभ लिन सकोस् भनेर धरान रोजिएको हो ।

आधुनिक कृषि औजार र यान्त्रीकरण कसरी सम्भव छ ?
समयको माग, मानिसको कार्यव्यस्तता, सरकारी निकायको प्रयास, निजी क्षेत्रको लगानीमा बृद्धिजस्ता कारणले तराईदेखि पहाडी जिल्ला र उपत्यकामा कृषि यन्त्रको प्रयोग भई यान्त्रीकरणले गति लिन थालेको छ । यी क्षेत्रमा सुधारिएको आधुनिक हलो, ट्याक्टर, पावरटिलर, पम्पसेट, स्प्रेयर, धान गहुँ चुट्ने थ्रेसर, ढुवानीको लागि ट्रेलर आदिको प्रयोग बढ्दै गएको पाइन्छ । यो सम्भव छ ।

कृषि यन्त्र तथा उपकरणको प्रयोग कसरी गर्ने र किन गर्ने भन्ने विषयमा आम कृषकमाझ अझै सूचना पुग्न सकेको छैन, लक्ष्य प्राप्तिमा पुग्न सकिन्छ ?
नेपाल सरकार कृषि विकास मन्त्रालयअन्तर्गत सम्बद्ध निकाय तथा आयोजनाले आआफो स्रोत र साधनको प्रयोग गरी विभिन्न कार्यक्रमबाट यन्त्र तथा उपकरणसम्बन्धी प्रचारप्रसार गर्दै आएको छ । सूचनाको पहुँचले मात्र पनि विपन्न कृषकको हातमा यन्त्र तथा उपकरण सजिलै पर्ने कुरा प्राय: अनिश्चित छ । त्यसका लागि सरकारले लक्षित वर्ग पहिचान गरी उत्थानका लागि कृषि उपकरण खरिदको भरपर्दो व्यवस्था मिलाउन सक्नुपर्छ ।

नेपालमा कृषि क्रान्ति ल्याउनका लागि यान्त्रीकरणका समस्या विद्यमान अवस्थामा ज्यूँका त्यूँ नै छ, होइन ?
निर्वाहमुखी कृषि पद्धतिलाई यान्त्रीकरणद्वारा उत्पादन बृद्धि गरी व्यवसायीकरण गर्दै जानु अनिवार्य भइसकेको छ । योजनाहरु आए, लगानीका वातावरण बनेझ देखियो तैपनि कृषि भूमिको संरक्षणमा खासै उल्लेख्य काम हुन सकेनन् । अधिकांश भूभाग विकट पहाडी धरातलीय स्वरुप भएकाले कृषि क्षेत्रमा यन्त्रको प्रयोग गर्न कठिन छ तर समय अनुकूल भुगोल सुहाउँदो कृषि औजारहरुको विकासले समस्याहरु बिस्तारै कम हँदैछ ।

कृषि यन्त्रमा किसानहरुको पहुँच छैन, कसरी बढाउन सकिन्छ ?
कृषि यन्त्रमा किसानहरुको पहुँच बढाउन निश्चित अवधिका लागि व्यक्तिगत वा समूहगत रुपमा सरल ब्याजदर तथा बिनाधितोमा ऋण वा अनुदानको व्यवस्था गर्दै सौर्य शक्ति, बायोग्यास जस्ता नवीकरणीय वैकल्पिक ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्न सके कृषि यन्त्रमा किसानको पहुँच बढाउन सकिन्छ ।

तेस्रो यान्त्रीकरण प्रदर्शनीबाट यी क्षेत्र किसानहरुले के पाउँछन् त ?
पूर्वाञ्चल आफमा पनि कृषिमा अग्रिणी भूमिका निर्वाह गरिरहेको क्षेत्र हो र यस क्षेत्रका किसानहरुले मसलाबाली, खाद्यान्नबाली र तरकारी तथा पुशपंक्षीको क्षेत्रमा राम्रो सहभागिता बढेको पाइन्छ । अझै उत्पादनलाई वृद्धि गर्नका लागि र उत्पादित कृषि उपजको ग्रेडिङ, प्याकेजिङका लागि कृषि यन्त्रको प्रयोगलाई बढवा दिनुपर्ने देखिन्छ र प्रदर्शनीमा २० मुलुकका दुई हजारभन्दा बढी कृषि औजार रहेको हुँदा किसानले आवश्यकताअनुरुप कृषि औजार छनोट गर्न सक्छन् र बढीभन्दा बढी फाइदा लिन सकिन्छ भन्ने हाम्रो विश्वास छ ।

Facebook Comments