फिल्मी चमकदमकभित्र श्वेताको श्वामश्वेत जीवन

काठमाडौं । ‘कान्छी’को पब्लिसिटी, प्रदर्शन, भेटघाट, अन्तर्वार्ता र देश दौडाहाको थकानबीच हामीले भेटेका थियौं, नायिका श्वेता खड्कालाई । तर, उनी फ्रेस देखिन्थिन् ।

अन्तरवार्ताका क्रममा भने उनको अनुहारका भावभंगिमाहरु बदलिँदै गए । एउटा मोडमा पुगेपछि उनी अतिशय भावुक बनिन् । फेरि सम्हालिइन् ।

श्वेता भलै एक सेलिब्रेटी हुन्, उनीभित्र आम नारी हृदय छ । नारी-शुलभ कोमलता छ ।  पग्लिहाल्ने मन छ । त्यही मन हो, जसले पत्थर जस्तो कठोर परिवेश र परिस्थिती पनि पचाउनु परेको छ ।

आफ्नै साहस, दृढताको बलमा उनी यो शहरभित्र आफ्नो अस्तित्व खोज्दैछिन् । तर, परिस्थिती सधैं दाहिना हुँदैन । पाइला-पाइलामा ठेस लाग्छ । हिजो विराट सन्नटाबीच बितेको पीडादायी क्षणहरुमा उनले कसरी आफुलाई सम्हालिन् ? यसबारे कसैले बुझ्ने कष्ट खेप्दैन । तर, आज उनको ‘नितान्त व्यक्तिगत’ जीवनमाथि व्यापक चियोचर्चा गरिन्छ ।

संवेदनाहीन प्रश्नको झटारो

श्वेता सामु ठाडै सोधिने यस्ता प्रश्नहरु छन्, जसलाई थेग्नसक्ने छाती छैन उनीसँग । त्यस्ता प्रश्नले उनको मुटुको चाललाई थप तिब्र बनाइदिन्छ । आँखालाई पगालिदिन्छ । त्यस्ता ‘ंसंवेदनहीन प्रश्नहरु’ उनले दिन-दिनै झेल्नुपर्छ ।

सोधिन्छ, ‘श्रीकृष्णको सम्पति हडप्नुभयो रे ।’

सोधिन्छ, ‘श्रीकृष्णलाई भुल्नु भयो रे ।’

सोधिन्छ, ‘दर्शकको मन तान्नका लागि त्यसै रोइदिनुहुन्छ रे ।’

यस्तै, यस्तै ।

विष-वाण जस्तै यस्ता आरोपहरु सुनेर उनी निशब्द हुन्छिन् । उनको आँखा पग्लिन्छ । आँशु बग्छ ।

केही समयपछि अनलाइन र युट्युवमा श्वेताको आँशुको सौदाबाजी गरिन्छ । यसो भन्दै, ‘श्वेता यसरी रोइन ।’ ‘श्वेताले डाको छाड्दै यसो भनिन् ।’ अर्थात श्वेतालाई रुवाएर त्यसलाई ‘बिकाउ कन्टेन्ट’ बनाइन्छ । जब कि उनको मानवीय संवेदनाको कति पनि ख्याल गरिँदैन ।

श्वेता जरुर सेलिब्रेटी हुन् । तर, त्यो भन्दा पनि उनी आम नारी हुन् । कसैकी दिदी हुन् । कसैकी बहिनी हुन् । कसैकी छोरी हुन् । कसैकी बुहारी हुन् । कसैकी भाउजू हुन् ।

श्वेता भन्छिन्, ‘म रहरले हिरोइन बनेकी थिइनँ । फिल्म निर्माण पनि रहरले गरेकी होइन । खासमा म आफ्नो भित्री पीडा पोख्न चाहन्थें । पीडा बिसाएर रमाउने बाहना खोज्न चाहन्थे । त्यो दुबैको माध्यम थियो फिल्म ।’

श्वेताले आफ्नो पीडावोध बिसाउनकै लागि ‘कान्छी’ बनाइन् । वास्तवमा ‘कान्छी’की कान्छी उनै थिइन् । कान्छी, जो अरुको खातिर आफ्ना रहरलाई बन्धकी राखेर बाँचिरहेकी नव-जवान युवती हुन् । उनै युवतीमा श्वेताको प्रतिछायाँ थियो । ‘वास्तवमा त्यो कान्छी म थिएँ’ यसो भनिरहँदा श्वेताले आँशु रोक्न सकिनन् ।

 पुलपुलिएकी, जिद्दी छोरी

पनौती, खोपासी टोल । पुरानो बसपार्क । भिडभाड । चहलपहल । श्वेता त्यही जन्मिइन् । हुर्किइन् ।

घर आसपासमा खेत थियो । अलि टाढा डाँडा । सानो खेला । सुन्तलाको बोटहरु । त्यहाँको माटोमा भाँडाकुटी खेल्थिन्, साथीसंगीसँग ।

कैलो केस भएकी, ठूल्ठूला आँखा भएकी, पुक्क गाला भएकी, चुलबुले श्वेतालाई टोल छिमेकका दिदीहरुले बोक्ने, खेलाउने । सबैको माया पाएर श्वेता भने पुलपुलिएकी थिइन् । जिद्दी थिइन् ।

ब्वाइज कट कपाल, केटाकै जस्तो ड्रेसअप । जसले पनि बोलाउने, खेलाउने । नजिकै शिशु स्यहार केन्द्रमा शिक्षकले बोकरै लाने, बोकेरै घरमा ल्याइदिने ।

मावली जाँदा आमा-बुवासँग उनी नै पछि लाग्थे ।आफुभन्दा साना दुई भाइ घरमै छुट्ने ।

उमेर बढेपछि फुटवल, भलिबल, तेक्वान्दो खेल्न थालिन् । निहुँ खोज्नेलाई कुट्न तम्सिहाल्ने । अरुलाई जित्नैपर्ने । हेपेको सहनै नसक्ने ।

एकपटक दौंतरीले बदमासी गरिदिए । श्वेताको सल धोएर सुकाइएको थियो । साथीले त्यहीमाथि फोहोर पानी खन्याए ।

उनी लखेट्दै घरमै पुगिन् र साथीको टाउको समातेर भित्तामा थेचारिन् । साथीको निधारमा चोट लाग्यो । ‘उनको अहिले पनि त्यो दाग छ’ श्वेता भन्छिन्, ‘सम्झेर अहिले पछुतो लाग्छ ।’

बजारमा गएपछि उनको डिमान्ड पनि सुरु हुने । जस्तो भन्यो, जति भन्यो त्यती नै लुगाफाटो किनिदिनुपर्ने । ‘लुगासँगै त्यो पुतली हुन्छ नि, डमी’ श्वेताले सुनाइन्, ‘त्यो पनि किनिदिनु भनेर जिद्दी गर्थें ।’

जब किशोरवयमा प्रवेश गरिन्, उनको स्वरुप फेरियो । स्वभाव पनि । उनी केटीकै पहिरनमा ठाँटिन थालिन् । जिद्दीपन छाडिन् ।  स्कुलमा ड्रामा खेल्ने, नृत्य प्रतियोगितामा भाग लिने गर्न थालिन् । घरधन्दाको काम गर्न थालिन् । घर सम्हाल्ने, कोठा सफा गर्ने, खेतलालाई खेतमा खाजा पुर्‍याउने जस्ता काममा सधै अग्रसर हुने । भाइहरुका कपडा धुने, भात पकाउने सबै काम सम्हालिन् ।

हिरोइन बन्ने छाँटकाँट

अभिनेत्री मिथिला शर्मा, आफ्नै फुपू । फुपूको घर (काठमाडौं) पनि आउजाउ भइरहने । मिथिलाले दशैंमा टीका लगाइदिँदा भन्थिन्, ‘यसको त आँखा पनि करिष्माको जस्तै । पछि हिरोइन बन्छे होला ।’

स्कुलमा नाचगान हुन्थ्यो । ग्रुप डान्समा श्वेतालाई सबैले फुर्काउने । भन्थे, ‘दुरुस्तै हिरोइन जस्तै ।’

त्यसबेला उनलाई पनि कताकता लाग्ने, ‘साँच्चै हिरोइन जस्तै देखिन्छु त ?’

साथीसंगीसँग हिँडिरहेका बेला केटाहरुले जिस्काउने । अरु साथीहरु जवाफ फर्काउँथे । केटाहरु भन्थे, ‘जिस्काएको केटीले केही भनेकी छैन, तिमीहरु चाहिँ किन बाठो भएको ?’

कलेजमा केटाहरुको चिठी आउने । टोलमा केटाहरुले जिस्काउँदा भाईहरु श्वेताको सेक्युरिटी गर्ने ।

आर्मी बन्ने हुटहुटी

माओवादी द्वन्द्व उत्कर्षमा थियो । जताततै बमको त्राश । स्कुल आउजाउ गर्न गाह्रो हुन्थ्यो । बसमा कोचिएर जानुपर्ने । कहिले खेतैखेत हिँडेर पनि ।

प्लस टु पढ्दै गर्दाको कुरा । मिस नेपाल सुगारिका केसी ‘पर्सनालिटी डेभलोपमेन्ट’को क्लास लिन आइन् । साथीहरुले भने, ‘हेर त मिस नेपाल भन्दा त तिमी नै राम्री ।’ त्यसबेला श्वेतालाई लाग्यो मिस नेपाल हुनका लागि आवरण मात्र होइन, भित्री खुबी पनि चाहिने रहेछ ।

उनी काठमाडौं आइन् । मानविकी पढ्न । भाई र बुवासँगै काठमाडौंमा बसेर पढ्न थालिन् ।

तर, बुवा बिटि्रश आर्मी । आफन्तहरु कोही आर्मीको मेजर, कोही डिआइजी । श्वेतालाई लाग्थ्यो, आर्मी वा पुलिस बनौं ।

आर्मी/पुलिस बन्नकै लागि उनी हेभिङ, सेटअप गर्न थालिन् । दौडन थालिन् । फुपु मिथिला शर्माले भनिन्, ‘फिटनेसको लागि किन दशथरी गर्नुपर्‍यो, डान्स गर न ।’ मिथिलाको सिफारिसमा नृत्य निर्देशक बसन्त श्रेष्ठको इन्स्िटच्युटमा भर्ना पनि भइन् । नाच सिक्न थालिन् ।

फिल्ममा अफर

घरमा सत्यनारणको पूजा थियो । उनी घरमै बसेकी थिइन् । बसन्त श्रेष्ठको डान्स इन्स्टिच्युटबाट फोन आयो । ‘एकछिन काम छ’ भनेर । सुरुमा उनले आनाकानी गरिन् । तर, उताबाट ‘भेट्नैपर्ने’ भनेपछि हस्याङफस्याङ गर्दै श्वेता डान्स इन्स्टिच्युट पुगिन् ।

जसै उनी त्यहाँ पुगिन्, त्यसबेलाका चल्तीका अभिनेता श्रीकृष्ण श्रेष्ठ, निर्देशक शिव रेग्मी पर्खिरहेका रहेछन् ।

जमाना अहिलेजस्तो थिएन । हिरो-हिरोइनलाई पर्दामा मात्र देखिन्थ्यो । भेट्नै गाह्रो । आफुले सिनेमामा देखेको अनुहारसँग हठात साक्षात्कार हुँदा श्वेता स्तब्ध भइन् । नर्भस भइन् ।

सानै छँदा बनेपाको मयुर चलचित्र मन्दिरमा ‘ट्रक ड्राइभर’ फिल्म हेरेकी थिइन् । त्यसपछि ‘आफन्त’ । त्यसैका अभिनेता थिए, श्रीकृष्ण श्रेष्ठ ।

उनीहरु नयाँ फिल्म बनाउने योजनामा रहेछन्, ‘कहाँ भेटिएला ।’ फिल्मको लागि ‘आर्यन फेस’ कि केटी चाहिएको रहेछ । श्वेतासँग उनीहरुको सवाल-जवाफ भयो ।

सोधे, ‘फिल्म खेल्ने हो ?’

श्वेताले भनिन्, ‘नाई सर, म फिल्म खेल्न होइन । यत्तिकै डान्स सिक्न आएकी ।’

तर, उनीहरुले श्वेतालाई कन्भिन्स गरे ।

त्यसपछि क्यामेराम्यान बोलाइयो । मेकअप म्यान बोलाइयो । श्रृंगारपटार गरेपछि श्वेतालाई एक पेजको डायलग घोक्न लगाइयो । शिव रेग्मीले निर्देशन गर्दै भने, ‘सुरुमा नरुने । त्यसपछि बिस्तारै रुने र अन्तिममा डाँको छाडेर रुने ।’

श्वेताले फिल्म हेरेकी थिइन् । हिरोइनले जस्तै क्वाँ क्वाँ रोइदिइन् । सबैले ताली बजाए ।

उनी घर पुगिन् । फिल्म खेल्ने/नखेल्ने टुंगो थिएन । तर, उनले आफुलाई फिल्मको अफर आएको बताइदिइन् । कसैले पत्याए पो !

बरु उडाउन थाले । यसो भन्दै, ‘के लिन्थ्यो तिमीलाई हिरोइनमा ? लिए पनि साइडमा होला नि ।’

तर, केही दिनपछि उनको घरमा आइपुग्यो श्रीकृष्ण श्रेष्ठसहितको टोली । तर, घरबाट मञ्जुरी थिएन । घरपरिवारले भन्थे, ‘फिल्ममा लागियो भने बिहे हुँदैन ।’ छोरीलाई उनीहरु त सेकेन्ड लेफि्टनेन्ट बनाउन चाहन्थे । बिहे गरिदिन चाहन्थे ।

तर, उनको यात्रा मोडियो । फिल्ममा लागिन् ।

फिल्मको मूर्हतमा पहिलो सट नै श्वेताबाट लिइयो । अघिल्तिर निरुता सिंह थिइन् । श्रीकृष्ण श्रेष्ठ थिए । हरिवंश आचार्य थिए । सबैको अगाडि उभिएर सट कसरी दिने ?

उनलाई अडिसनकै दृश्य दोहोर्‍याउन लगाए । डायलग बोलिन् र रोइदिइन् । सबैले ताली बजाए ।

सुटिङ छाडेर भाग्न खोज्दा

सुटिङका लागि बिहानै चितवन पुर्‍याइयो । रातिको दृश्य । राप्ती नदीमा । नदीमाथि सेट बनाइयो । रातभर सुटिङ । पानीमा खुट्टा ठिहिर्‍याउने ।

मुड नै नचल्ने । भाव नै आउँदैन । पटक-पटक टेक लिँदा पनि चित्तबुझ्दो नहुने । ठीक त्यहीबेला घरबाट फोन आयो । उनले उठाइन् । निर्देशक रिसाएर हप्काइदिए ।

रातभरि सुटिङ चल्यो । ३ बजेतिर सुतेको निन्द्रा नै परेन । बिहान सबेरै फेरि सुटिङका लागि अर्कै चौरमा पुर्‍याइयो ।

अर्कोदिन पनि त्यस्तै सास्ती ।

रुखमा अडेसिएर रुनुपर्ने । स्कुलका भुराभुरी सुटिङ हेर्न भिड लागेका छन् । पटक-पटक प्रयास गर्दा पनि उनले निर्देशकको चित्त बुझाउन सकिनन् । १४ टेक खाइसकिन् ।

चितवनबाट बुटवल जाने बाटोमा ‘सुनकोशी सुसेलेको’ भन्ने गीतको सुटिङ थियो । ढुंगैढुंगाको बाटोमा । नाच्नै गाह्रो भयो । भित्र पुगेर तीन चोटी त रोइदिइन् । त्यति नै पटक मेकअप पुस्नुपर्‍यो, आँशुले लत्पतिएर ।

६ दिन यसरी नै गुजि्रयो । उनलाई लाग्यो, ‘कहाँ आएर म फसें ?’

आखिरमा उनले भाग्ने मनस्थिती बनाइन् । दिदी (सरिता)लाई भनिन्, ‘मलाई यहाँबाट भगाएर लानु न । म यहाँ काम गर्न सक्दिनँ ।’ पछि सबैलाई थाहा भयो, श्वेताको मनोदशा । त्यसपछि भने उनलाई फकाई फुल्याई गरियो ।

फिल्ममा निरुता सिंह थिइन् । नीर शाह थिए । एक से एक कलाकार थिए । उनीहरु कसरी सुटिङ गर्छन् ? क्यामेरा अगाडि उभिएर कसरी अभिनय गर्छन् ? श्वेताले जिज्ञासापूर्वक हेरिन् । सिनियर कलाकारहरुको अभिनय हेरेपछि भने उनमा हिम्मत पलायो ।

निर्देशकले ढाडस दिन्थे, ‘फिल्म चलेपछि सबै दर्शकले तिमीलाई मन पराउनेछन् । फिल्मको पोस्टरमा दर्शकले एकपटक फर्किएर तिमीलाई हेर्नेछन् ।’

नभन्दै त्यस्तै भयो । शहरका भित्ताहरु ‘कहाँ भेटिएला’ को पोस्टरले रंगिए । फिल्म धुमधाम चल्यो । फिल्मभन्दा बढी श्वेता चलिन् । श्रीकृष्ण श्रेष्ठ, निरुता सिंहहरुकै समानान्तर चर्चा पाइन् श्वेताले ।

प्रेमको बिजारोपण

श्वेताले सुटिङमा भएका अप्ठ्याराहरु अक्सर सुशीला रायमाझीलाई पोख्थिन् । उनले श्वेतालाई सम्झाई-बुझाई गर्थिन् । श्रीकृष्णले पनि बेलाबखत सम्झाउँथे, ‘तिमी फिल नै गर्दिनौ । क्यारेक्टरमा भिज्ने प्रयास नै गर्दैनौं । प्रयास गर, केही पनि गाह्रो हुँदैन ।’

फिल्मको मूहुर्त, प्रदर्शनको बेला गरिने ‘पब्लिसिटी फन्डा’ पनि श्वेताले बुझेकै थिइनन् । पञ्चेबाजा बजाएर फिल्मको मूहुर्त गरियो । मिडियामा अनेक हल्लीखल्ली मच्चियो । श्वेता र श्रीकृष्णलाई जोडेर । बिहेको स्क्यान्डल मच्याइयो । सुरुका दिनहरुमा श्वेतालाई यस्तो चालचलन निको लागेन । उनले चित्त दुखाइन् ।

तर, फिल्मीवृत्तमा यस्ता कुराहरु पचाउनुपर्छ भनेर उनै श्रीकृष्णले उनलाई बुझाइदिए । श्रीकृष्ण भन्थे, ‘फिल्मी क्षेत्रमा आएपछि यस्ता अनेको उल्झन झेल्नुपर्छ । सहनुपर्छ । कसले के भन्छ, कसले के, सबैको जवाफ दिएर पनि सकिदैन ।’

श्रीकृष्णले व्यवसायिक जीवन जति भरथेग गरिरहेका थिए, निजी जीवनमा पनि उत्तिकै महत्व दिन्थे । श्रीकृष्णको परिवारमा हुने कुनै पनि कार्यक्रममा श्वेतालाई निम्तो हुन्थ्यो ।

फिल्म रिलिजको क्रममा दर्जनौं ठाउँमा श्रीकृष्ण र श्वेता साथसाथ भए । देश-विदेशमा हुने सांस्कृतिक कार्यक्रममा दुबै सम्मिलित भए । उनीहरुले व्यवसायमा सहकार्य गर्न थाले । फिल्म ‘कोहिनुर’मा लगानी साझेदार गर्ने क्रमसँगै श्रीकृष्ण र श्वेता थप घनिष्ठ भए ।

‘हामी सँगै हिँड्थ्यौं, एकअर्कालाई साथ दिन्थ्यौं’ श्वेता सम्झिन्छन्, ‘तर, बिहेको कुरा भने दुबैले सोचेका थिएनौं । एक प्रतिशत पनि ।’

‘कोहिनुर’ छायांकनको क्रमदेखि नै श्रीकृष्ण श्रेष्ठको स्वास्थ्यमा समस्या देखियो । एकोहोरा सुख्खा खोकी लाग्ने ।

श्रीकृष्ण आफैमा अशक्त हुँदै गइरहेका थिए । तर, उनी श्वेताको करियरप्रति बढी चिन्तित थिए । बजारमा चल्ने अनेक स्क्यान्डलबाट बचाउने चुनौती एकातिर थियो भने, श्वेतालाई सही मार्गदर्शन दिनुपर्ने जिम्मेवारी अर्कोतिर ।

श्वेताले श्रीकृष्णको भावनालाई बुझेकी थिइन् । मर्मलाई आत्मसात गरेकी थिइन् । श्वेतालाई लाग्थ्यो, ‘श्री दाइलाई पनि अब हेरचाह गर्नुपर्ने जरुरत छ ।’

अचानक बिहेको प्रस्ताव

२०७१ असार २३ गते ।

धुमधाम बिहे भयो, नेपाली सिनेमाका चर्चित जोडी श्वेता र श्रीकृष्ण श्रेष्ठबीच लगनगाँठो कसियो ।

यो सिलसिलावद्ध बिहे भने थिएन । अचानक भएको थियो ।

श्रीकृष्णका दाइहरुले आएर सोझै भनेथे, ‘तिमीहरुले अब बिहे गर्नुपर्छ ।’

फिल्ममा श्रीकृष्ण र श्वेताको केमेस्ट्री रुचाइएकै थियो । तर, उनीहरुबीच उमेर-अन्तर र जातिय असमानता थियो । आखिर जे भए पनि दुबैको परिवार श्रीकृष्ण र श्वेताको बिवाहमा मञ्जुर थिए । यता श्रीकृष्णको स्वास्थ्य भने झन्-झन् बिग्रियो । बिहेको मिति तय भएको सातादिन अघिसम्म श्रीकृष्ण अस्पताल धाइरहेका थिए । बिहेको सबै बन्दोबस्ती भने श्वेताले मिलाइरहेकी थिइन् ।

रोगी शरीर लिएर जग्गेमा

होलीको बेलादेखि नै रोगले च्याप्दै लगेको श्रीकृष्ण बिहेको जग्गेमा बस्दासम्म भने निकै गलिसकेका थिए ।

श्वेता त्यो क्षण सम्झदै भन्छिन्, ‘उहाँलाई बस्नै पनि गाह्रो भएको थियो । अढेस लगाएर बस्नुपर्ने । कति पटक उठ्नै सक्नुभएन । निरन्तर पसिना आइरहने ।’

बिहेको पार्टी त्यही दिन तय गरिएको थियो । एकातिर बिहे, अर्कोतिर पार्टी । यस्तो धपेडी झेल्न गाह्रो थियो श्रीकृष्णलाई ।

राति सुत्नै सकेनन् । लगातार खोकी लागिरह्यो । श्रीकृष्णले भने, ‘मलाई टीबीको पनि शंका गरिएको छ । तिमीलाई सर्छ । तिमी अलग्गै बस ।’

बिहेको पहिलो रात दुबै अलग-अलग सुते ।

अर्कोदिन श्रीकृष्णलाई धामीझांक्री गराइयो । औषधि उपचार गराइयो । तर, उनी तङगि्रनै सकेनन् । झन्-झन् गल्दै गए । श्रीकृष्णलाई भेट्न आफन्तहरु आइपुगे । श्रीकृष्णले श्वेतासँग भने, ‘सरी, म तिम्रो खुसीमा सामेल हुन सकिनँ ।’

परिवारले पनि सम्झाए, ‘ठिकै छ, १६ दिनसम्ममा हाम्रो घरमा भित्रिँदा भइहाल्छ । बरु उपचार गराइहालौं ।’ नव दुलहीलाई घरमा भित्र्याउन नपाउँदै उनीहरु दिल्ली हान्निए ।

हनिमुन भन्दै उपचारमा

मिडियामा खबर आयो, ‘श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्का हनिमुन मनाउन गए ।’

उनीहरु खुलाउन चाहँदैनथे, आफ्नो पीडा । आफ्नो वाध्यता । आफ्नो वास्तविकता । उनीहरुले बाहिरी हल्लालाई सदर गरे, ‘हनिमुन गएका हौं ।’

यता फिल्म ‘कोहिनुर’ प्रदर्शनको मिति नजिकिँदै थियो ।

श्रीकृष्ण आफ्ना फ्यानहरुलाई निराश तुल्याउन चाहँदैनथे । त्यसैले आफ्नो रोगलाई उनी आफंैभित्र दबाउने चेष्टामा थिए । अस्पतालमा उनले आफ्नो सक्कली नाम खुलाएनन् । अर्कैै नाममा भर्ना भए ।

तर, त्यसबेलासम्म उनको हालत एकदम खराब भइसकेको थियो । अस्पताल पुर्‍याउनसाथ श्रीकृष्णलाई आइसियुमा राखियो । बिहान र बेलुकी मात्र श्वेतालाई भेट्न दिइन्थ्यो, दुई मिनेटका लागि ।

९ दिनपछि क्याबिनमा ल्याइयो । सबैमा खुसी छायो । लागेथ्यो, ‘अब चाहि निको हुन्छ ।’

फिल्म रिलिजको प्रेसर बढ्दै थियो । बधाई र शुभकामनाको ओइरो लाग्थ्यो । कोही डिनरको अफर गर्थे । उनीहरु सबैलाई श्वेता रुँदै म्यासेज फर्काउथिन् । तर, उनी कहिल्यै खुलाउँथिनन्, कति कष्टसाथ अस्पतालका चिसा रातहरु गुजि्रँदैछ भनेर ।

श्वेताको पग्लिहाल्ने मन छ । त्यही मन हो, जसले पत्थर जस्तो कठोर परिवेश र परिस्थिती पनि पचाउनु परेको छ

घरपरिवारबाट फोन आउँथ्यो । श्वेता जवाफ फर्काउँथिन्, ‘हिजोभन्दा आज अलि ठीक भयो । राम्रो हुँदैछ ।’

तर, २१ दिनपछि श्रीकृष्णको हालत यति खराब भयो कि, सम्हाल्नै नसिकने । श्वेता चाहन्थिन्, संसारको जुनसुकै ठाउँमा लगेर भएपनि आफ्ना पतिलाई सकुशल बनाउने । तर, उनको इच्चा मात्र सर्वोपरी थिएन ।

श्वेता भर्‍याङमा बसेर रुन थालिन् । उनलाई कसैले रोकटोक गरेनन् । रुनकै लागि छाडिदिए । चार घण्टापछि भाउजू आएर उनलाई उठाइन् । र, श्रीकृष्णकहाँ लगेर गइन् ।

‘म रोएको थाहा पाउँछ भनेर मुख पखालेर, माक्स लगाएर गएकी थिएँ’ यसो भनिरहँदा श्वेताको आँखा आँशुले छिचोलिसकेको थियो ।

नेपालमा फिल्म, अस्पतालमा श्रीकृष्णको छटपटी

अस्पताल भएको एक महिनापछि नेपालमा ‘कोहिनुर’ रिलिज भयो । श्रीकृष्णले सकीनसकी सोधे, ‘फिल्म कस्तो चल्दैछ ?’

श्वेताले जबाफ दिइन्, ‘राम्रो हुँदैछ ।’

श्रीकृष्णले पत्याए/पत्याएनन्, भगवान जानोस् । यति भने, ‘दर्शकहरु निराश होलान् । हाम्रो सन्देश पठाइदेउ । भ्वाइस डबिङ गरेर भए पनि ।’

श्वेताले त्यसै गरिन् । भ्वाइस डबिङ गरेर उनीहरुले दर्शकलाई भने, ‘हामी उपचारमा छौं । निको भएर छिटै र्फकन्छौं ।’

तर, त्यसो भएन ।

अन्तिम पटक श्रीकृष्णलाई किमो दिन लगियो । त्यसबेला श्वेतालाई पस्न दिइएन । श्रीकृष्णले सकी नसकी हात उठाएर हल्लाए । श्वेताले टाढैबाट प्रत्युत्तर दिइन्, ‘बाबा ।’

पछि, भित्र के भयो, के गरियो श्वेताले केही थाहा पाइनन् । उनले थाहा पाउँदा यसो भनियो, ‘भित्र भाईले भेट्न खोजेको छ ।’

श्वेता भित्र पसिन् । त्यहाँको दृश्य सहने शक्ति थिएन श्वेतासँग । श्रीकृष्णको निर्जिव शरीरलाई उनी नाङ्गो आँखाले हर्ने सक्दैनथिइन् ।

बोन टीबी र डिप्रेसन

उनीहरुले बिहे गरेर न अन्तरंग पल साट्न पाए न हनिमुन मनाउन । श्वेता एक्ली थिइन्, नितान्त एक्लो । भिडभाडबीच पनि उनीभित्र शून्यता थियो । जीवन श्यामश्वेत थियो ।

बिहे गरेको महिना दिनमै श्वेताको सिउँदो पुछियो ।

श्वेता सिथिल थिइन् । कमजोर थिइन् । त्यहीबेला हो, उनलाई रोगले गाँज्न थालेको । सहनै नसक्ने बेदनाले थिचेको उनको रुपरंग फुंग उडेको थियो । शरीर अस्तव्यस्त थियो । न खाने टुंगो, न सुत्ने । न भोक लाग्छ, न निन्द्रा । आखिर शरीरले कसरी थेग्छ ?

खानपान नमिलेर ग्याष्ट्रिक भयो । त्यसमाथि अर्को रोग थपियो, पाठेघरमा फंगस यिस्ट । त्यसको उपचार गराउन नपाउँदै अर्को रोगले पनि छोप्यो, बोन टिबी । अनेकथरीको रोगले च्यापेपछि उनलाई बाँच्ने आशा जाग्न छाड्यो ।

पति श्रीकृष्ण बोन क्यान्सरग्रस्त थिए । श्वेतालाई पनि बोन क्यान्सर भएको हो कि भन्ने भयो । एकपछि अर्को चिन्ताले घेरा हालेपछि उनमा डिप्रेसन पनि थपियो ।

एकातिर वियोगको पीडा, अर्कोतिर थरीथरी रोगको एकमुष्ठ प्रहार । न मर्नु, न बाँच्नुको अवस्थामा उनले चिसा रातहरु बिताइन् ।

अमेरिकामा बसेर उनले लामो समय उपचार गराइन् । अष्ट्रेलियामा उपचार गराइन् । त्यसबेलाको दिनहरु उनी वयान गर्न सक्दैनन् ।

त्यही घटनाले श्वेताको जीवनमा ठूलो उथलपुथल ल्याएको छ । उनी आफै रोगको शिकार भइन् । उनका बुवाले त्यही बेलादेखि निन्द्राको औषधी खानुपर्ने भएको छ । श्रीकृष्ण बितेपछि श्वेताको बुवाआमाले पुरानो घर बिक्री गरे । श्वेताको सबै सामानहरु त्यही छाडेर नयाँ घरमा सारियो । जहाँ श्वेताको रुमानी सपनाहरु बिजारोपण भएको थियो, त्यो घर पनि अब उनको रहेन । एउटा दुखान्तसँगै ती सबै कुरालाई जबरजस्ती भुल्नु परेको छ, ताकि फेरी-फेरी पुरानो यादहरुले नसतायोस् ।

जीवन एक ट्रेजिडी

जीवन फिल्म जस्तै हुन्छ । तर, फिल्म जीवनजस्तो हुँदैन । फिल्मभित्र जीवनको त्यो आयतन र गहिराइ समेट्न सकिदैन ।

तैपनि, श्वेताले ‘कान्छी’ बनाइन्, आफ्नै जीवन-भोगाईका कथा मिसाएर । फिल्मको शीर्षपात्र ‘कान्छी’को संघर्ष र वाध्यता श्वेताका आफ्नै भोगाइ हुन् । श्वेता यसै भन्छिन् । उनी के पनि भन्छिन् भने, ‘मेरो जीवन नै आखिर दुखान्त छ भने, फिल्ममा किन ट्रेजिडी नबनाउने ?

हिरोइन बन्ने रहर होइन । पैसा कमाउने रहर पनि होइन । नेम र फेमको लोभ होइन । मनको भारी बिसाउने बहाना हो, कान्छी ।

तर, फिल्मले मात्र सबै कथा भन्दैन । श्वेताको यस्ता कति कथा छन्, जसलाई उनले आफैभित्र थिचेर राखेकी छिन् ।

चिच्याएर रुँदै गाडी ड्राइभ

जसोतसो श्वेता तङ्गि्रइन् । उनी बाँच्न चाहन्छिन् । हाँस्न चाहन्छिन् । वितेका पीडाहरु बिसाउन चाहन्छिन् ।

रमाइलो माहौलमा मिसिन खोज्छिन् । साथीभाईसँग घुलमिल हुन खोज्छिन् । नाच्ने, गाउने गर्छिन् । हुक्का तान्छिन्, वाइन पिउँछिन् । मानिसहरु भन्छन्, अब नयाँ जीवन सुरु गर्नुपर्छ । रोएर होइन, हाँसेर बाच्नुपर्छ ।

तर, उनको हाँसो र खुसीमा परिस्थिती कति कञ्जुस्याइँ गर्छ । उनीमाथि खानतलासी लिइन्छ । बचन लगाइन्छ । बात लगाइन्छ । फेरि उनलाई डाँको छाडेर रुन मन लाग्छ । गाडीमा बस्छिन् । चर्को ध्वनीमा गीत बजाउँछिन् । र, मन पखालिने गरी रुन्छिन् ।

रुँदा पीडा मत्थर भएझै लाग्छ । मन हलुंगो भएझै लाग्छ ।

Source : Onlinekhabar.com

Facebook Comments