झापा सेमिफाइनल प्रवेश

बिर्तामोड, फागुन २३ । पाहुना टोली सिक्किम युनाइटेडलाई स्तब्ध बनाउँदै रमपम झापा ११ सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल रंगशालामा बुधबारको खेलमा सिक्किमलाई २−१ गोल अन्तरले पाखा लगाउँदै झापा ११ ले सेमिफाइनलमा थ्री स्टारसँगको भेटलाई पक्का गरेको छ ।
खेलको १७ औँ मिनेटमा सिक्किमका मायल डोक लेप्चाले गोल गरेपछि सिक्किमले अग्रता लिएको थियो । झापाका डिफेन्डर देवेन्द्र तामाङले सिक्किमका खेलाडीलाई लडाएपछि पाएको फ्रि किकलाई सिक्किमका कुनल तामाङले प्रहार गरेका थिए । उक्त प्रहारलाई हेडमार्फत लेप्चाले पोष्टको जाली चुमाएका थिए ।
सिक्किमको त्यो अग्रता धेरै समय टिक्न सकेन । सिक्किमले अग्रता लिएको ७ मिनेट बित्न नपाउँदै झापाका स्ट्राइकर खमिरगिल्सन कन्दङ्वाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । डि एरियाभित्र पाएको बललाई कन्दङवाले साइक्लिङ किकमार्फत आकर्षक गोल गरेका थिए । १−१ को बराबरी रहेको झापाले अर्काे गोल उपहारमार्फत पाएको थियो । खेलको ४२ औँ मिनेटमा विश्वास श्रेष्ठको क्रस पासमा डि एरियाभित्र रहेका सिक्किमका खेलाडीलाई टच हुदै अन गोल भएपछि झापाको अग्रता दोब्बर भएको थियो ।
खेल अवधिभरमा सिक्किमलाई झापाले दबाबमा राखेको थियो । झापाका धेरै प्रहार विफल हुँदा स्कोर बढ्न सकेको थिएन । २६ औँ मिनेटमा झापाका खमिरगिल्सन कन्दङ्वाले गरेको प्रहार गोल पोष्टभन्दा केही माथिबाट बाहिरिएको थियो । ५९ औँ मिनेटमा देवेन्द तामाङको हेडर सिक्किमका गोलकिपर पिन्ट्सो शेर्पाले पञ्च गरेर बाहिर पठाएका थिए । ६० औँ मिनेटमा झापाका पुजन उपरकोटीको हेड पोष्टमाथिबाट बाहिरिंएको थियो । इन्जुरी समयमा योगेश गुरुङको प्रहार बारमा लागेर फर्कंदा झापाले गोल अन्तर बढाउने अवसर गुमाएको थियो ।
त्यस्तै, सिक्किम युनाइटेडको तर्फबाट खेलको ३१ औँ मिनेटमा दावा शेर्पाको पासमा मायल डोक्पा लेप्चाको प्रहार पोष्ट नजिकैबाट बाहिरिँदा खेलमा अग्रता लिने अवसर गुमाएको थियो । त्यस्तै, खेलको ७१ औँ मिनेटमा पाल्साङ लामाको प्रहार झापाका गोल किपर किशोर गिरीले बचाएका थिए । खेल अवधिभर झापाका एक र सिक्किमका ३ खेलाडीलाई रेफ्री नविन्द्र महर्जनले पहेँलो कार्डको देखाएका थिए ।
पराजित टिम सिक्किम युनाइटेडका प्रशिक्षक पेमा ग्यास्टो भुटियाले कृत्रिम मैदानमा खेलिरहेका खेलाडीले खेल्नुपर्दा बलको पोजिसन मिलाउन नसकिएको बताए । उनले झापालाई होम ग्राउन्ड र दर्शकको समर्थनका कारण सहयोग पुगेको बताए ।
झापाका प्रशिक्षक प्रवेश कटवालले सुरुमै गोल खाएर दबाबमा खेल्नु परेकोले सोचेअनुसारको परिणाम नआएको बताए । थ्री स्टारसँगको आगामी खेलमा सुधारेर प्रदर्शन गर्नमा सचेत रहेको बताए ।
खेलको म्यान अफ द म्याच विजेता टिम झापा ११ का विश्वास श्रेष्ठ घोषित भए । उनले ओली एन्ड एसोसियट्सले उपलब्ध गराएको २५ हजार रुपैयाँ पाए । बिहीबारको खेल नेपाल पुलिस क्लब र त्रिभुवन आर्मीबीच हुने आयोजक समितिले जनाएको छ ।

Facebook Comments