पाकिस्तानले किन खोज्यो नेपालको साथ ?

काठमाडौँ  । संविधान कार्यान्वयनका क्रममा तीनै तहको निर्वाचनपछि बनेको सरकारको पहिलो पाहुना बने पाकिस्तानका प्रधानमन्त्री शाहिद खकान अब्बासी । संयोग नै होला, प्रतिनिधिसभाको पहिलो बैठक संसद् भवनमा चलिरहँदा राजनीतिक अस्थिरताले जेलिएको र ‘आतंकवाद एवं उग्रवाद’ सँग जुधिरहेको मुलुकका कार्यकारी प्रमुख नेपाल ओर्लिए ।

पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासी दसवर्षे माओवादी विद्रोह र लामो राजनीतिक उतारचढावपछि स्थायित्वतर्फ उन्मुख रहेको भन्दै अब्बासी नयाँ प्रधानमन्त्रीलाई शुभकामना दिन अचानक काठमाडौं ओर्लिए ।

भ्रमणको कुनै पूर्वनिर्धारित कार्यक्रम थिएन । केपी ओली प्रधानमन्त्री चयन हुनेबित्तिकै शुभकामना सन्देश दिएसँगै उनले भेटेर खुसी साट्ने इच्छा व्यक्त गरे । उनको इच्छालाई प्रधानमन्त्री ओलीले स्वीकार गरे । सम्बन्धित निकायले त्यसमा अडेर आफ्नो काम अघि बढाए । जसले गर्दा २४ वर्षपछि नेपालमा पाकिस्तानका तर्फबाट दुईपक्षीय भ्रमण भयो । हुन त यसबीच सार्क शिखर सम्मेलनमा सहभागी हुन या भुटान जाँदा ट्रान्जिटमा उच्चस्तरको भ्रमण भने भएका थिए ।
अहिलेको भ्रमणलाई सद्भावना भ्रमणभन्दा माथिल्लो भनिएको छ । १९ घण्टा काठमाडौंमा रहँदा अब्बासीले आफ्नो चासो र सन्देश स्पष्ट मात्र पारेनन्, क्षेत्रीय सन्तुलनको खाकासमेत प्रस्तुत गरे । यद्यपि उनी आउने दिनसम्म पनि उनको भ्रमण किन र केका लागि भन्ने स्पष्ट थिएन । उनको छलफल र प्रस्तुतिले भने भ्रमणको औचित्य लुकिरहन सकेन ।
पाकिस्तानका सञ्चार माध्यम नियाल्ने हो भने उनले काश्मीरको विषयमा नेपालको साथ खोजेका छन् । हरेक वर्ष काश्मीर डे मनाउँदै आएको पाकिस्तानले राष्ट्रसंघ भावनालाई ध्यान दिनुपर्ने बताउँदै आएको थियो । काश्मीर मात्र होइन, सार्क र भारत–पाकिस्तान मामिलामा पनि नेपालले मध्यस्थता गर्न सक्ने धारणा उनले व्यक्त गरेको बताइएको छ । उनले काश्मीर र सार्क शिखर सम्मेलनमा नेपालको बलियो समर्थन खोजेको विषय पाकिस्तानका सञ्चार माध्यमले बाहिर ल्याएका छन् । काश्मीरको विषयले भारत र पाकिस्तानको सम्बन्ध शत्रुवत् छ । भेटवार्तामा सहभागी एक कूटनीतिज्ञले भने, ‘उहाँले आफ्नो धारणा राख्नुभयो । तर हामीले यसमा बोलेका छैनौं । सार्कको विषयमा हामी गम्भीर छौं ।’
अब्बासीले यहाँ रहँदा राष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरू, सरकार साझेदार दल माओवादी केन्द्रका अध्यक्ष र प्रतिपक्ष दलका केही नेताहरूसँग भेटवार्ता गरे । प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवासँग भेट गर्न नसके पनि देउवाका प्रतिनिधिसँग भने उनी राम्रै गफिए । नयाँ सरकारलाई बधाई दिने बहाना देखिए पनि भ्रमणको दायरा निकै फराकिलो थियो । उनको भ्रमण नेपाल र पाकिस्तान सम्बन्धका अलावा यस क्षेत्रको राजनीतिमा बढी केन्द्रित भएको सहभागीहरूको कुराकानीबाट बुझ्न सकिन्छ । विगत डेढ वर्षदेखि सार्क सम्मेलन गराउन नसकेको पाकिस्तानले यसमा नेपालको साथ खोजेको छ । सार्कको विषयमा मात्र होइन, चीनसँग पाकिस्तानले बढाएको सहकार्य र त्यसबाट भएको फाइदाको ‘पोको’ पनि उनले फुकाए । त्यो पोकोले यो क्षेत्रमा छुट्टै प्रकारको राजनीतिक तरंग ल्याउने देखिन्छ ।
अब्बासीले निर्धक्क चीनसँगको सहकार्यले आफ्नो मुलुकको विकास प्रक्रिया अघि बढेको समेत बताए । चीनसँगको सहकार्यले पाकिस्तानले विकासको लक्ष्य चुमेको सन्देश दिनु चानचुने विषय होइन । चीन–पाकिस्तान आर्थिक करिडोर (सिपेक) र आफ्नो धारणा उनले पस्किए । चीनले अघि बढाएको बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) को औचित्यसमेत उनले सुनाए । त्यो अभियानबाट यस क्षेत्रका मुलुकले फाइदा लिन सक्ने उनले बताएको सहभागीहरूले सुनाए ।
भेटका क्रममा सार्कलाई सक्रिय बनाउने र दुई देशको आपसी हित झन् उचाइमा लैजाने विषयमा जोड दिए । उनको भ्रमण यो क्षेत्रमा पाकिस्तान पनि उत्तिकै सक्रिय छ भन्ने सन्देश नै हो । त्यसका लागि पाकिस्तानले नेपालको साथ खोजेको यथार्थ पनि छिपेको छैन । अन्तर्राष्ट्रिय मात्र होइन, क्षेत्रीय राजनीतिक बदलाव र तत्काल एवं दीर्घकालमा पर्ने प्रभाव पनि यसमा झल्किन्छ । सार्कमा भारतको प्रभाव रहेको र त्यो छायाबाट बाहिर निस्कन सक्नुपर्ने सन्देश उनले दिन खोजेको भेटिन्छ ।
कम्युनिस्ट गठबन्धन सरकार बन्ने निश्चित भएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना विदेशमन्त्री सुष्मा स्वराजलाई नेपाल पठाएर दिएको सन्देशको अर्को पाटोका रूपमा अब्बासीको भ्रमणलाई हेर्न सकिन्छ । भारतले आफ्नो उपस्थिति नेपालमा बढाउन थालेपछि पाकिस्तानले पनि यो क्षेत्रमाआफ्नो ‘प्रोएक्टिभ’ र ‘आउटरिच’ कूटनीति अवलम्बन गर्ने बताइसकेको छ । यसमा उसलाई अन्य शक्ति मुलुकको साथ पनि हुन सक्छ ।
पाकिस्तानमा पनि निर्वाचन नजिकिएको अवस्थामा आफ्नो क्षेत्रीय कूटनीतिक पहुँच र आन्तरिक खपतका लागि पनि यो यात्रा रोजेको आकलन गर्न सकिन्छ । साथै चीन, पाकिस्तान र नेपालको सहकार्य अघि बढाउन वर्तमान सरकारसँग कत्तिको सहज हुन्छ भनेर ‘नाडी’ छाम्ने घुमाउरो प्रयास अमेरिकी विश्वविद्यालयमा अध्ययन गरेर खारिएका अब्बासीमार्फत भएको हुन सक्ने आकलन परराष्ट्र अधिकारीकै छ ।
अब्बासीले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ्स’ (बीआरआई) मा नेपालले पनि हस्ताक्षर गरेको र यसबाट नेपालले लाभ लिन सक्नुपर्ने सन्देश दिएपछि भ्रमणको जरोलाई त्यति धेरै खोतल्नै पर्दैन । बीआरआईमा अघि बढेर सडक सञ्जालमा जोडिनुपर्नेमा उनले जोड दिएका थिए । क्षेत्रीय राजनीति र सार्कको प्रभाव यही स्पष्ट हुन्छ । नेपालले हस्ताक्षर गरेर पनि अपेक्षाकृत लाभ लिन नसकेको विषय उठाउँदै उनले पाकिस्तानको अनुभव सुनाए । ‘आतंकवाद र उग्रवाद’ सँग लडिरहेका अब्बासीले क्षेत्रीय शान्तिको पहल थाल्न ढिलो गर्न नहुने सन्देश यहाँ दिए । यो आफैंमा अर्थपूर्ण छ । आतंकवादसँग लडिरहेको मुलुकलाई आतंकवादसँग सहकार्य भनेर यस क्षेत्रबाट पाकिस्तानलाई एक्ल्याउने प्रयास भएको भन्दै उनले त्यस प्रयासको विरुद्धमा नेपालको साथ खोजेको देखिन्छ । यसबाट नेपालको भूराजनीतिक महत्त्व बढेको छ । तर यसलाई थेग्न नेपालले के गर्न सक्छ, यो आफैंमा सोचनीय छ ।
भौगोलिक दूरीमा टाढा नभए पनि नेपाल र पाकिस्तानबीच सीधा हवाई उडान छैन । सन् १९६० मार्चमा कूटनीतिक सम्बन्ध कायम भएपछि नेपालले १९६२ मा पाकिस्तानमा आफ्नो आवासीय दूतावास स्थापना गरेको हो । त्यसपछि राजा महेन्द्रले पाकिस्तानको भ्रमण गरेर भूराजनीतिमा नयाँ तरंग ल्याएका थिए । पछिल्लो समय पाकिस्तानबाट सन् १९९४ मा तत्कालीन प्रधानमन्त्री बेनजिर भुट्टोले दुईपक्षीय भ्रमण गरेकी थिइन् । त्यस्तै तरंग अहिले अब्बासीको भ्रमणले ल्याए । यसबाट नेपाललाई कति फाइदा हुन्छ, त्यो त अहिले आकलन गर्न सकिँदैन तर यस क्षेत्रमा नेपालको सामरिक महत्त्व बढेको छ ।
अहिलेको परिस्थितिले नेपाललाई आफ्नो अन्तर्राष्ट्रिय सम्बन्धलाई फेरि एकपटक विश्व समुदायमा सक्रिय बनाउने मौका मिलेको छ । त्यहीअनुरूपको परराष्ट्र संयन्त्र थप चुस्त बनाएर अघि बढ्नुपर्ने देखिन्छ ।
Source : kantipurdaily.com
Facebook Comments