पहिलो जितको खोजीमा रहेको नेपाल आज अपराजित स्कटल्यान्डसँग भिड्दै

काठमाडौं । आइसीसी विश्वकप छनोट प्रतियोगिता २०१८ अन्तर्गतको दोस्रो खेलमा नेपालले स्कटल्यान्डको सामना गर्ने छ । नेपाल अंकबिना तालिकाको पुछारमा रहेको छ भने स्कटल्यान्ड दुई खेलमा दुवै जितसहित अग्रस्थानमा रहेको छ ।

पहिलो खेलमा नेपाल जिम्बावेसँग १ सय १६ रनले पराजित भएको थियो । अर्को तर्फ स्कटल्यान्डले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई पराजित गर्‍यो भने दोस्रो खेलमा हङकङमाथि जित दर्ता गर्न सफल रह्यो । यसअघि नेपालले स्कटल्यान्डको तीन पटक सामना गर्दा तीनै पटक पराजय भोग्नु परेकोले आज नेपाली टोली स्कटल्यान्ड विरुद्ध तथा प्रतियोगितामा पहिलो जित दर्ता गर्ने दाउमा रहनेछ ।

अर्को तर्फ तेस्रो लगातार जित हांसिल गर्दै स्कटल्यान्डले विश्वकप प्रवेशमा आफ्नो दाबेदारी बलियो बनाउन खोज्ने छ । स्कटल्यान्डका लागि टप अर्डर ब्याट्सम्यान क्यालम मिक्लोयड अहिले लयमा छन् । अफगानिस्तानविरुद्धको पहिलो खेलमा उनले १ सय ५७ रनको शानदार पारी खेलका थिए । त्यस्तै ओपनर तथा कप्तान कायल कोट्जरले हङकङ विरुद्धको दोस्रो खेलमा ४१ रनको समझदारीपूर्ण पारी खेल्दै टोलीलाई जिततर्फ डोर्‍याएका थिए । नेपाललाई जितको आशाका लागि कोट्जर र मिक्लोयडलाई क्रिजमा जम्न दिनु हुँदैन ।

जोम्बावेविरुद्ध करण केसीको स्थानमा पहिलो खेल खेलेका ललित नारायण राजवंशीले आफ्नो स्थान सुरक्षित गर्ने देखिएको छ । जिम्बावेविरुद्ध ब्याटिङ पनि सन्तोषजनक देखिएकाले फेरबदलको सम्भावना निकै कम छ । त्यस्तै सामान्यतया कसिलो रहने नेपाली बलिङ पहिलो खेलमा निकै महँगो सावित भएको थियो । नेपाली बलरहरुले आज आफ्नो पुरानै लय समात्न आवश्यक छ । खेल आज दिउसो १.१५ बजे सुरु हुने छ ।

Source : हाम्रो खेलकुद

Facebook Comments