प्यारेन्ट्स डान्स कम्पिटिसनमा पुनम र गोविन्द बने च्याम्पियन

धुलाबारी । झापा धुलाबारीस्थित इष्ट होराइजन आवासीय विद्यालयले प्यारेन्ट्स डान्स कम्पिटिसन सम्पन्न गरेको छ । धुलाबारीस्थित पासाङ ल्हामू स्मृति जेसीज प्रतिष्ठानको सभाहलमा सम्पन्न कम्पिटिसनमा महिलातर्फ पुनम भण्डारी र पुरुषतर्फ गोविन्द रिजाल प्रथम भएका छन् । त्यसैगरी महिलातर्फ शान्ति सुब्बा र पुष्पिता बानियाँ क्रमश: फष्ट रनरअप र सेकेन्ड रनरअप भएका छन् । पुरुषतर्फ भने कुलदिप ढकाल फष्ट रनरअप भए ।

प्रतियोगितामा विजयी सम्पूर्णलाई नगद, ट्रफी तथा शेरावाली डेकोरेसन बिर्तामोड, बाबा ओएल, कञ्चन टी, पशुपति बिस्कुट र बोनस चाउ चाउ पूर्वाञ्चल डिलरको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिएको विद्यालयका शिक्षक महेश खड्काले जानकारी दिए ।

नेपालको पूर्व क्षेत्रमै पृथक किसिमको कार्यक्रमका रुपमा प्यारेन्ट्स डान्स कम्पिटिसिन गराइएको विद्यालयका प्रधानाध्यापक सञ्जीव राईले बताए । मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटी सदस्य विष्णुप्रसाद प्रसाईँ, मेची अञ्चल अस्पतालका अध्यक्ष राम कट्टेल, कांग्रेसका क्षेत्रीय सभापति मणि उप्रेती, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापा, अग्रज पत्रकार चन्द्र भण्डारी, मेचीनगर-१० का वडाध्यक्ष सुदय पनेरु, ९ का वडाध्यक्ष गोपाल खड्का लगायतको आतिथ्यता रहेको थियो । गोपाल बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन रेखा क्षेत्री, विकास ग्वाल र आश्मा पौडेलले गरेका थिए ।

Facebook Comments