झापा ११ फाइनल प्रवेश

बिर्तामोड, फागुन २५ । बिर्तामोडमा जारी रमपम झापा गोल्डकपको पहिलो सेमिफाइनलमा झापा ११ विजयी भएको छ । जितसँगै झापाले कम्तिमा ६ लाख रुपैयाँको पुरस्कार सुरक्षित गरेको छ ।
निर्धारित ९० मिनेट गोलरहित बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा रमपम झापा ११ ले ४−३ गोल अन्तरले विजयी भएको हो । झापाका लागि कर्ण लिम्बु, भुषण सुब्बा, कप्तान योगेश गुरुङ, र देवेन्द्र तामाङले गोल गरेका थिए । विश्वास श्रेष्ठको प्रहार थ्री स्टारका गोलकिपर एलन न्यौपानेले रोकेका थिए ।
थ्री स्टारका लागि रजिन धिमाल, विजय धिमाल र निराजन खड्काले गोल गरेका थिए भने सुनिल बल र बुद्ध चेम्जोङको प्रहार गोलपोष्टबाट बाहिरिएको थियो । खेलको ११ औँ मिनेटमा थ्री स्टारका अजयी मार्टिनको प्रहार पोष्टबारमा ठोकिएर बाहिरिएको थियो । ३० औँ मिनेटमा झापाका विशाल राईको कडा प्रहार थ्री स्टारका गोलकिपर न्यौपानेले बचाउ गरेका थिए । ६० औँ मिनेटमा विशाल राईको प्रहार पोष्ट नजिकैबाट बाहिरिएको थियो । ६५ औँ मिनेटमा थ्री स्टारका दिपक राईको प्रहार झापाका गोररक्षक किशोर गिरीले रोकेका थिए ।
६७ औँ मिनेटमा गोलकिपर बिट भइसकेपछि थ्री स्टारका बुद्ध चेम्जोङले गरेको प्रहार झापाका डिफेन्डर दिलेन लोक्तामले गोललाइनबाट बचाएका थिए । ७५ औँ मिनेटमा डि एरियानजिकै पाएको पाएको फ्रि किकलाई थ्री स्टारका सुनिल बलले प्रहार गरेका थिए । सो प्रहार पोष्टबार नजिकैबाट बाहिरिएको थियो ।
खेलको म्यान अफ द म्याच झापाका डिफेन्डर देवेन्द्र तामाङ घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए । सो पुरस्कार शैक्षिक परामर्शदाता संस्था ओली एन्ड एसोसियट्सले उपलब्ध गराएको हो । शनिबारको अन्तिम सेमिफाइनल खेल मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीच हुने आयोजक समितिले जनाएको छ ।
खेलपछि भएको पोष्टम्याच कन्फ्रेन्समा बोल्दै विजेता टिमका प्रशिक्षक प्रवेश कटवालले खेलाडीले गरेको मेहेनतको फल पाएको बताए । उनले नेपालकै नम्बर १ टिमसँग खेलेर जित्नु सामान्य कुरा नभएको बताउँदै उनले दर्शकको समर्थन जितका लागि सहयोगी भएको टिप्पणी गरे । झापाले ११ ले थालेको अनुबन्धनका कारण पनि उत्साहित भएर खेलाडीले प्रदर्शन गरेको उनले बताए ।
थ्री स्टारका प्रशिक्षक मेघराज केसीले झापा बलियो टिम भएकाले पराजय व्यहोरेको बताए । नियमित खेल खेलेकाले पनि तयारी गर्न नपाएका कारण आफ्नो क्लबले सोचेअनुसारको प्रदर्शन गर्न नसकेको बताए । खेल उत्कृष्ट भएको भए पनि समय अपुग भएकाले खेलाडी प्रेसरमा परेको उनले बताए ।

Facebook Comments