झापा गोल्डकपको उपाधि आर्मीलाई

बिर्तामोड, फागुन २८ । बिर्तामोडमा भएको रमपम झापा गोल्डकपको तेस्रो संस्करणको उपाधि त्रिभुवन आर्मी क्लबले हात पारेको छ । डोमालाल रंगशालामा भएको प्रतियोगितामा आयोजक रमपम झापा ११ लाई सडन डेथमा ८−७ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो ।
निर्धारित समय १−१ को बराबरी भएपछि खेलमा १५ मिनेट समय थप गरिएको थियो । थपिएको समयमा पनि दुबै टिमबाट कुनै गोल नभएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा समेत ३−३ गोल भएपछि खेल सडन डेथमा गएको थियो । सडन डेथमा झापाका गोलकिपर किशोर गिरीको प्रहार आर्मीका गोलरक्षक बिकेश कुथुले रोकेपछि उपाधि आर्मीको पक्षमा गएको थियो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ४९ औँ मिनेटमा झापाका स्ट्राइकर कर्ण लिम्बुले गोल गर्दै झापालाई अग्रता दिलाएका थिए । खमिरगिल्सन कन्दङ्वाले मिलाइदिएको पासलाई लिम्बुले सुन्दर गोल गरेका थिए । अन्तिम समयको १० मिनेट झापा सम्हालिन नसक्दा उपाधि हात पार्ने मौका चुकाएको थियो । स्ट्राइकर भरत खवासले हेडमार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
पहिलो हाफमा झापाले आक्रामक तथा आर्मीले रक्षात्मक खेल खेलेका थिए । झापाका दर्जनौँ प्रहार खेर गएका थिए भने दोस्रो हाफमा आर्मीले सम्हालिएको प्रदर्शन गरेको थियो । तर, झापाको मजबुत डिफेन्डिङका कारण आर्मीले स्कोर गर्न भने सकेको थिएन । झापाले गोलडकपमा तेस्रो पटक पनि उपाधि हात पार्न सकेन । पहिलो संस्करणमा आर्मीसँगै पराजित झापाले दोस्रो संस्करणमा मनाङसँग पराजय व्यहोरेको थियो । मोफसलकै सर्वाधिक पुरस्कार राशि भएको झापा गोल्डकपको उपाधिसँगै आर्मीले १२ लाख ५१ हजार रुपैयाँ हात पारेको छ । उपविजेता झापाले ६ लाखमा चित्त बुझायो ।
तेस्रो संस्करणमा झापाका मिडफिल्डर योगेश गुरुङ मस्ट भ्यालुएवल प्लेयर बनेका छन् । उनले यामाहा कम्पनीको एउटा मोटरसाइकल प्राप्त गरे । त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर आर्मीका बिकेश कुथु, उत्कृष्ट डिफेन्डर झापाका देवेन्द्र तामाङ, उत्कृष्ट मिडफिल्डर आर्मीका सन्तोष तामाङ र बेष्ट कोच आर्मीका चुनबहादुर थापा घोषित भए । उनीहरुले ३१ हजार रुपैयाँ पुरस्कार प्रदान गरियो ।
त्यस्तै, झापाका कर्ण लिम्बुले सर्वाधिक गोलकर्ता हुँदै नगद ५१ हजार रुपैयाँ प्राप्त गरे । उनले प्रतियोगिताभर ३ गोल गरेका थिए । फाइनल खेलमा झापाका विश्वास श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले २५ हजार रुपैयाँ प्राप्त गरे । सो पुरस्कार ओली एन्ड एसोसियट्सले उपलब्ध गराएको हो ।
आयोजकले अपेक्षा गरेभन्दा धेरै दर्शकको उपस्थिति भएपछि दर्शकलाई व्यवस्थित गर्न मुस्किल परेको थियो । आठ हजार दर्शकको उपस्थिति हुने अनुमान गरिएकोमा दस हजारभन्दा बढी दर्शक खेल हेर्न आएका थिए । प्रतियोगितामा प्रमुख अतिथि नेपाल कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले विजेतालाई नगद तथा ट्रफी प्रदान गरेका थिए ।

Facebook Comments

One comment

  1. Pingback: Google