बैंकर एसोसिएसन र एनआईसी बैंकको बिबाद मिल्यो

काठमाडौं , फागुन २९। ब्याजदरका बिषयमा एनआइसी एशिया बैंक र नेपाल बैंकर्स एशोसिएशनबीच देखिएको बिबाद राष्ट्र बैंकको मध्यस्थतामा मिलेको छ ।

सोमबार साँझ राष्ट्रबैंकमा भएको छलफलमा एनआईसी एशिया बैंकले अरु बैंककै जस्तो ब्याजदर कायम गर्ने सहमति गरेपछि दुवै पक्षवीचको बिबाद मिलेको हो ।

अब एनआईसी एशिया बैंकले अरु बैंकहरुले जस्तै बचतमा ८ प्रतिशत र मुद्दतीमा अधिकतम १० प्रतिशतमात्र ब्याज दिने छ ।

यो सहमतिअनुसार बैंकले सूचना जारी गर्ने र शुक्रबारबाट सहमति लागू गरिने एनआईसी एशिया बैंकले जनाएको छ ।

एनआईसी एशियाले मुद्दती निक्षेपमा १२ र बचतमा १० प्रतिशत व्याजदर प्रस्ताव गरेसँगै बैंकर्स संघमा आबद्ध अन्य बैंकहरुले अन्तर बैंक कारोबार रोक्ने भन्दै कारवाहीमा उत्रिएका थिए ।

‘हामीले कुनै निर्देशन दिएका होइनौं, मात्रै मिलेर अगाडी बढ्न भनेका हौं,’ नेपाल राष्ट्र बैंकका प्रवत्ता तथा कार्यकारी निर्देशक नारायण पौडेलले भने ।

संघले बचतमा अधिकत्तम आठ प्रतिशत र मुद्दती निक्षेपमा ११ प्रतिशत मात्र व्याजदर दिने आपसी सहमति गर्दै आएको छ ।

‘बैंकिङ क्षेत्र संवेदनशील भएकोले बाहिर नकारात्मक चर्चा हुनेगरी विवादमा नआउनुहोस् भनेर राष्ट्र बैंकले भनेपछि हामीहरुले पनि त्यहि गर्ने निर्णय गरेका हौं,’ एनआइसी एशियाका प्रवक्ता सुधिर पाण्डेले भने ।

एनआइसी एशियाले तत्काल व्याजदर घटाउन समस्या हुने भन्दै शुक्रवारसम्म समय लिने प्रतिबद्धता गरेको छ । आगामी दिनमा परिस्थिती अनुसार संघकै निर्णय अनुसार व्याजदर निर्धाणर गरिने पनि पाण्डेले जानकारी दिए ।

एनआइसीले गत मंसिरसम्ममा अन्य बैंकबाट चार अर्ब ३० करोड रुपैयाँ र राष्ट्र बैंकबाट भने ४० करोड सापटी लिएको देखिन्छ । बैंकले ऋणपत्र लगायतबाट पनि ५० करोड रुपैयाँ पुँजी प्राप्त गर्दै आएको छ ।

 

 

source : https://www.onlinekhabar.com

Facebook Comments