बाहिर चिटिक्क, भान्सा फोहोरैफोहोर

बिर्तामोड । बिर्तामोडको मिटिङ प्वाइन्ट रेस्टुरेन्ट र ह्याङ आउट क्याफेले मात्र खाद्य स्वाच्छता स्तर कायम गरेको अनुगमनको क्रममा भेटिएको छ । अनुगमन टोली यी दुई रेस्टुरेन्टलाई तीन तारासहित अति उत्तम भनेर वर्गीकरण गरेको छ ।

बिर्तामोडका होटलको सरसफाई र गुणस्तरबारे गरिएको अनुगमनमा अधिकांश होटल, रेस्टुरेन्ट तथा क्याफेहरु दुर्गन्घित भेटिएको छ । कृषि विकास मन्त्रालय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको अनुगमन टोलीले बुधबार र बिहीबार बिर्तामोडका होटलको अनुगमन गर्दा होटलमा कीरा परेको खाद्यान्न बिक्री गरेको समेत पाइएको छ ।

बिहीबार अनुगमन गर्दा अदुवा खोलाछेउको रेडमग क्याफेको भान्सा अत्यन्त दूषित र अव्यवस्थित पाइएको हो । अनुगमन टोलीले ५० वटा मूल्यांकन क्षेत्र कायम गरेर गरेको अनुगमनमा रेडमगको किचन खानै नमिल्नेगरिको अवस्थामा भेटिएको थियो । रेडमगका सञ्चालक सुरेन्द्र उप्रेतीले किचनमा मात्र ६ जना कर्मचारी कार्यरत बताए पनि किचन भने महिनौँदेखि सरसफाई नगरिएको जस्तो देखिन्थ्यो ।
अनुगमन टोलीले रेडमगको किचन अत्यन्तै फोहोर, साङ्ला, कीरा भेटिएको, किचनभित्र खुला नालाहरु दुर्गन्धित भएको, खानेकुरा नछोपी राखिएको, फिमा कीरा र सङ्ला भएको, तयारी दाना बदाम, चिउरालगायतमा सङ्ला भेटिएको भन्दै २४ घण्टाभित्र सुधार गरेर मात्र होटल सञ्चालन गर्न निर्देशन दिएको छ । त्यस्तै, सात दिनभित्र जुठो खानेकुरा र फोहोर बग्ने नाला व्यवस्थित गर्न निर्देशन दिइएको टोली संयोजक खाद्य निरीक्षक प्रेम अर्यालले जानकारी दिए ।

टोलीले बिहीबार बिर्तामोडका ११ वटा होटलमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा शनिश्चरेरोडको आँगन स्विट्स, दाजुभाइ होटल, तिरुपति होटल, मुन टावर इन, पाथिभरा स्विट्सको किचनको अवस्था पनि नाजुक रहेको फेला परेको छ । ती होटलहरुको किचन फोहोर अव्यवस्थित पाइएको थियो । यी होटलहरुमा मिति गुज्रिएको पेय पदार्थसमेत फेला परेको थियो ।

त्यस्तै, अदुवा खोलाछेउको होटल विनायकको अवस्था भने उत्तम रहेको पाइएको थियो । सो होटललाई दुई तारासहित वर्गीकरण गरिएको छ । पश्चिम बस स्टेन्डछेउको असियन होटलको अवस्था सन्तोषजनक भेटिएको थियो । तर, आसियनमा म्याद गुज्रिएको पेय पदार्थ भेटिएकाले एक तारासहित वर्गीकरण गरिएको छ । त्यस्तै, भद्रपुररोडको ममता मिष्ठान्न भण्डारको किचन अत्यन्त दूषित र अव्यवस्थित पाइएको थियो । सो मिष्ठान्न भण्डारलाई सुधार गरेर मात्र सञ्चालन गर्न निर्देशन दिइएको छ ।

बुधबार गरिएको अनुगमनमा काँकरभिट्टारोडको गाउँले होटलको भन्सामा कीरा परेको मासु भेटिएको थियो । भेज तथा नन्-भेजका परिकार बिक्री गर्दै आएको सो होटलमा आँैसा परेको मासु ग्राहकलाई बिक्री गरिरहेको अवस्थामा फेला पारी नष्ट गरिएको थियो । कुखुराको मासु, माछा र खसीको भुटन भनेर बिक्री गर्दै आएको होटलले हप्तौँदेखिको सड्न लागेको माछामासु बिक्री गरिरहेकाले २४ घण्टाभित्र सम्पूर्ण सामान नष्ट गरी सरसफाई गर्न निर्देशन दिएको छ ।

जिल्ला प्रशासन कार्यालय झापाका खाद्य निरीक्षक दिनेश ढुङ्गानाका अनुसार गाउँले होटलको भान्सा अत्यन्तै दुर्गन्धित रहेको, अखाद्य बस्तु समेत बिक्री गरिरहेको, कुहिन लागेको माछा मासु समेत बिक्री भइरहेको पाइएकाले २४ घण्टाभित्र सरसफाई गर्न निर्देशन दिएको बताए ।

सो अवधिमा सफा नगरे होटल सञ्चालकविरुद्व मुद्दा चलाई आवश्यक कारबाही गरिने बताइएको छ । होटल सञ्चालक तिलक निरौलाले आफूले गल्ती गरेको स्वीकारेका छन् । उनले अबदेखि सरसफाईमा ध्यान दिने बताए । अहिलेकै अवस्थामा सो होटलको खाद्यान्न खान अयोग्य ठहर गरी उपभोक्तालाई सचेत रहन समेत आग्रह गरिएको छ । सो होटलले अखाद्य वस्तु समेत मिसाएर बिक्री गरेको पाइएको छ । अनुगमनका क्रममा बिर्तामोडका ठूला होटलले समेत सरसफाईमा ध्यान नदिएको पाइएको छ ।

बिर्तामोडको होटल होलिडे होममा अनुगमन गर्दा किचन फोहोर देखिएको, खाने कुरा नछोपी राखिएको, किचनको डष्टबिन खुलै छाडिएकोले सरसफाईमा ध्यान दिन निर्देशन दिइएको छ । होटल होलिडे होमले दुई तारा पाएको छ । त्यस्तै, होटल डेनियल, होटल हिकोला हेरिटेज, संगम स्वीटको किचन पनि फोहोर रहेको पाइएको छ । दुवै होटलले भेज र नन्भेज खाने कुरा एकै ठाउँ राखेर बिक्री गरेकोले तत्काल सचेत रहन आग्रह गर्दै अनुगमन टोलीले दुवै होटललाई एक तारासहित वर्गीकरण गरेको छ । त्यस्तै, पहेँलो स्टिकर पाउने होटलहरुमा आशीर्वाद, फ्यामिली र नटराज होटल रहेका छन् । उनीहरुको अवस्था सामान्य अर्थात् एक ताराभन्दा तल्लो स्तरको रहेको टोलीले जनाएको छ । यी होटलहरुमा पनि भान्सा कोठा दूषित र अव्यवस्थित रहेको पाइएको थियो ।

अनुगमन टोलीले बासी खाना बेच्नेदेखि खाना पकाउने र सफाई गर्ने ठाउँ एउटै कोठा प्रयोग गरेकाले एक महिनाभित्र पूर्ण रुपले सच्चिन होटलहरुलाई निर्देशन दिँदै स्टिकर टाँसिएको छ । बाहिर चिटिक्क पार्ने तर भान्सा कोठामा भने चरम लापरबाही गरेको पाइएको बिर्तामोड नगर कार्यपालिका सदस्य सुरेन राजवंशीले बताए । उनले अब नगरपालिकाको पहलमा निरन्तर अनुगमन गरिने बताउँदै जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने जो कसैलाई पनि नछाडिने बताएका छन् ।

अनुगमनका क्रममा एकपटकलाई सच्चिने मौका दिइएको र दोस्रोपटक पनि यस्तै अवस्थामा भेटिए होटल शिल गरी काराही गरिने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका खाद्य निरीक्षक अर्यालले बताए । अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधिसहित बिर्तामोड नगरपालिकाका प्रतिनिधि, बिर्तामोड उद्योग वाणिज्य संघका प्रतिनिधि, होटल व्यवसायी संघका प्रतिनिधि, सञ्चारकर्मीलगायत थिए ।

सरकारले खाद्य स्वच्छता स्तर बनाएर वर्गीकरण गर्ने गरेको छ । जसअनुसार अति उत्तमलाई तीन तारासहितको हरियो स्टिकर, उत्तमलाई दुई तारासहितको हरियो स्टिकर, सन्तोषजनकलाई एक तारासहितको हरियो स्टिकर प्रदान गरिन्छ । त्यस्तै, सामान्यलाई पहेँलो स्टिकर प्रदान गरिन्छ । तर, केही अनुगमनकर्ताले गाउँले र रेडमगजस्ता होटलका लागि भने रातो रङको स्टिकरको व्यवस्था गरी केही समयको लागि बन्द गर्ने नियम बनाउनुपर्ने बताए ।

Facebook Comments