अपाङ्गता बालबालिकालाई जेसीजको सहयोग

शनिश्चरे, चैत ५ । अर्जुनधारा जेसीजले अपाङ्गता भएका बालबालिकालाई आइतबार २६ हजारबराबरको सहयोग प्रदान गरेको छ ।
जेसीजले अर्जुनधारा-६ स्थित अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा आश्रित १० जना बालबालिकालाई कपडा, खाद्यान्न र नगद प्रदान गरेको हो । जेसीज वर्ष २०१८ का अध्यक्ष अजय देव नेतृत्व टोलीले केन्द्रमै पुगेर एक बोरा चामल, चाउचाउ, गर्मीमा लगाउने जर्सी, तरकारीका लागि नगद प्रदान गरेको हो ।

कार्यक्रममा बोल्दै अर्जुनधारा जेसीजका संस्थापक इन्दिवर खड्काले अपाङ्गता भएका र असहायका लागि जेसीज जहिले पनि सकारात्मक रहेको भन्दै उनीहरुको सुरक्षाका लागि सधैँ हातेमालो गर्न तयार रहेको बताए । कार्यक्रममा उपाध्यक्ष निशा तामाङ, निर्मला काफे, उज्ज्वल खरेललगायत जेसीजका सदस्यहरुले खाद्यान्न वितरण गरेका थिए ।

अध्यक्ष देवका अनुसार जेसीजले अब प्रत्येक महिना सामाजिक कार्यअन्तर्गत यसखाले काम गर्दै जानेछ । कार्यक्रममा वडा नम्बर ६ का जनप्रतिनिधि अर्जुन मेचेले जेसीजको कार्यप्रति सराहना व्यक्त गर्दै वडा कार्यालयबाट हुने सहयोग जारी रहने प्रतिबद्धता जनाए ।
जेसीजको सहयोगप्रति केन्द्रका उपाध्यक्ष ढुण्डीराज कोइरालाले धन्यवाद दिँदै भावी दिनमा थप सहयोगको अपेक्षा व्यक्त गरे । उनले सहयोगी हातहरुकै भरमा केन्द्र सञ्चालनमा रहेको बताउँदै मानवताको सेवामा समर्पित हुन अन्य संघसंस्थालाई पनि अपिल गरेका छन् ।

Facebook Comments