झापामा पेट्रोलियम पदार्थ वितरण सहज

बिर्तामोड, चैत ५ । भारतबाट आयात गरिने पेट्रोलियम पदार्थको चुहावट रोक्न नेपाल आयल निगमले ‘लकिङ सिस्टम’ लागु गरेपछि त्यसको विरोधमा आन्दोलनमा रहेका मजदुरले इन्धन ढुवानी गर्ने धएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा झन्डै एक सातायता इन्धनको अभाव थियो । सोमबार दिउँसोबाट इन्धन बोकेका ट्याड्ढर झापाका पेट्रोल पम्पमा गएका छन् । फागुनको अन्तिमदेखि मजदुरहरुले आन्दोलन सुरु गरेपछि इन्धनको अभाव सुरु भएको थियो ।

३० फागुनदेखि नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्यांकर इकाई चारआलीका एक सय १७ जना मजदुरहरुले ट्यांकर चलाउन बन्द गरेका थिए । २ चैतमा जिल्ला प्रशासन कार्यालय झापामा आयाल निगमका कर्मचारी, ट्यांकर मजदुर संघका पदाधिकारी, पेट्रोलियम डिलर्स एसोसिएसनका पदाधिकारी र प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीसहितको वार्तापछि ट्यांकर मजदुरले आन्दोलन स्थगित गरेका थिए ।

आन्दोलन स्थगित भएसँगै सिलीगुडी डिपोबाट झापासम्म इन्धन त भित्रिन सुरु भयो । तर, ट्यांकर मजदुरहरुकै कारण चारआली डिपोबाट जिल्लाका अन्य पेट्रोल पम्पसम्म इन्धन जान सकेको थिएन । जिल्लाका अधिकांश पेट्रोल पम्प सोमबार दिउँसोसम्म बन्द थिए । इन्धन आउने आशामा बिहानैदेखि सवारीसाधन लाममा बसेका थिए ।

पेट्रोलियम पदार्थको चुहावट रोक्नका लागि निगमले भारतको सिलिगुडीमा इन्धन लोड भइसकेपछि ट्यांकरमा विशेष प्रकारको ताला लगाउने प्रणाली सुरु गरेपछि सुरुमा ट्यांकर मजदुर आन्दोलित भएका थिए । सोमबारको वार्तापछि उनीहरुले ताला लगाइएको ट्यांकर चलाउन थालेका छन् । सिलिगुडीमा लगाएको ताला एकैपटक चारआली डिपोका कर्मचारीले मात्र खोल्न सक्छन् । चारआली डिपोबाट अन्य पेट्रोपम्पसम्म भने बजारमा पाइने सामान्य ताला लगाएर पठाइन्छ । यसको विरोधमा पुनः ट्यांकर मजदुर उत्रिएका थिए ।

‘हामीले सेक्युरिटी लकिङ सिस्टमको विरोध गरेकै होइन, यो सिस्टम लागु भइपछि पनि हामी तेल बोक्न तयार भइसक्यौँ,’ नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्यांकर इकाई चारआलीका अध्यक्ष तोकप्रसाद दुलालले भने, ‘तर, चारआली डिपोले चाहिँ त्यो ताला खोलेर अर्को बजारे ताला लगाएर ट्यांकरलाई पेट्रोल पम्पसम्म पठाउँछ, यो हामीलाई मान्य छैन, सिलिगुडीमा लागेको ताला पेट्रोल पम्पसम्मै पुग्नुपर्छ ।’ पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरका चालकले भारतको सिलिगुडीमा ट्यांकरमा लागेका ताला पेट्रोल पम्पसम्मै पुग्नुपर्ने माग राखेका कारण पेट्रोलियम पदार्थ ढुवानी हुन सकेको थिएन ।

सोमबार चारआलीमा समस्या समाधान गर्न नेपाल आयल निगम चारआली शाखाका प्रमुख सुमन कार्कीको रोहवरमा चारवटै संघ, संगठनका प्रमुख प्रतिनिधिबीच बसेको छलफलले एकआपसका मागलाई सम्बोधन गर्ने निर्णय भएपछि समस्याको समाधान भएको हो ।
मेची पेट्रोलियम डिलर्स एसोसिएसनको माग नेपाल आयल निगम चारआलीबाट बिक्रेतासम्म ल्याउँदा पनि आन्तरिक लकिङ सिस्टम लागु गर्ने, ट्याङकर इकाईको माग आन्तिरिक लकिङ सिस्टमबाट पनि चुहावट भए बिक्रेता जिम्मेवार हुने, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको मागमा कुनै गल्ती कमजोरी भए सत्यतथ्य पत्ता लगाई दोषीलाई कडा कारबाही गर्ने, आयल निगम चारआलीमा परीक्षणपश्चात एसोसिएसनका प्रतिनिधिबाट आन्तिरिक लकिङ गर्ने निर्णयमा सहमति भएपछि झापामा पेट्रोलियम पदार्थमा भएको ढुवानी समस्या हल भएको हो ।

Facebook Comments