सिडियोका अगाडि बालकले मागे बाबुसँग चर्पी भिक्षा

शरणामती (झापा), चैत ६ । स्थानीय महेन्द्र आधारभूत विद्यालयमा कक्षा ८ मा अध्ययनरत साम मोहम्मद सरसफाई प्रबद्र्धन बाल क्लबको अध्यक्ष हुन् । उनी गाउँका सयौँ घरमा चर्पी बनाउन अनुरोध गर्दै पुगिसकेका छन् । तर पनि आफ्नो घरमा चर्पी नहुँदा उनलाई गाउँ र साथीहरुबीच ‘मुख देखाउन’ पनि कठिन भएको थियो ।

सरसफाई प्रबद्र्धन अनुगमन टोली शरणामती पुगेको थाहा पाएपछि साम मोहम्मद टोलीसमक्ष आइपुगे । ‘मेरो बुबाले चर्पी नबनाउँदा मेरो पनि बेइज्जत भइसक्यो सर, उहाँलाई जसरी पनि चर्पी बनाउन लगाउनुप¥यो’, जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेलसँग साम मोहम्मदले भने, ‘मेरो घरमा पनि चर्पी बनेन भने हाम्रो गाउँ कसरी खुला दिसामुक्त घोषणा हुन सक्छ ?’

अनुगमन टोलीमा रहेका झापाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले खुलामा दिसा गर्नु अपराध भएको र अभिभावकको कमजोरीका कारण विद्यार्थीलाई ग्लानि महसुस हुन नहुने बताउँदै साम मोहम्मदका बुबा मोहम्मद बादसाह शेखलाई बोलाए । ‘बुबा, हजूरले चर्पी नबनाउँदा स्कुलमा पनि मेरो इज्जत रहेन’, बुबासँग सामले प्रश्न गरे, ‘हामीले झिँगा र अन्य विभिन्न माध्यमबाट आफ्नो दिसा अरुलाई खुवाइरहेका छौँ भने हामीले अरुको दिसा समेत खाइरहेका छौँ । के आफ्नो छोरालाई दिसा खुवाइरहन चाहनुहुन्छ ?’

छलफल कार्यक्रममा उपस्थित मुस्लिम धर्मगुरु अनारुल हकले समेत सरसफाई आधा इमान भएको र सरसफाईबाट नै सभ्यता र सुसंस्कारको थालनी हुने भएकोले सबैले अनिवार्य रुपमा चर्पी बनाएर त्यसको सही प्रयोग गर्नुपर्ने बताएपछि मोहम्मद बादसाह शेखले वाचा गरे, ‘म आजैबाट चर्पी बनाउन थाल्छु र एक हप्ताभित्र बनाइसकेर प्रयोग गर्न मिल्ने बनाउँछु ।’
खुल्ला दिसामुक्त गर्नु जनप्रतिनिधिको पहिलो दायित्व
झापालाई तोकिएकै मितिमा खुला दिसामुक्त गर्ने अभियानको क्रममा कमजोर सरसफाई अवस्था भएका स्थानहरुमा घरदैलो र समुदाय भ्रमण गरिरहेको प्रशासन र प्रहरी प्रमुखहरुसहितको जिल्लाको टोली मंगलबार नै झापा जिल्लाको झापा गाउँपालिकामा पुग्यो । सम्पूर्ण जनप्रतिनिधिले खुला दिसामुक्त अभियानलाई टुंगोमा पु¥याउनु आफ्नो पहिलो दायित्वको रुपमा लिनुपर्ने पोर्तेलले बताए ।
खुला दिसामुक्त अभियान राज्यको अभियान र यसको अगुवाई गर्नु स्थानीय तहको जिम्मेवारी भएको बताउँदै उनले भने, ‘गैरसरकारी संस्थाहरुले गाउँपालिका तथा नगरपालिकाले बनाएको योजनाअनुरुप सहजीकरणमा सघाउँछन्, आवश्यक प्राविधिक सहयोग गर्छन् । बाँकी सबै काम स्थानीय तहको हो ।’

सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले खुलामा दिसा गर्ने कार्य दण्डनीय भएकोले अभियानमा बाधा पु¥याउनेमाथि आवश्यक परेमा प्रशासनिक कारबाही गर्न समेत सुरक्षा क्षेत्रलाई निर्देशन दिए । भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले यही चैत महिनाभित्र झापालाई खुला दिसामुक्त गर्ने कार्यमा सघाउनका लागि आपूm पनि झापा गाउँपालिकामा आइपुगेको बताए ।

झापा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र अन्य जनप्रतिनिधिले चैत महिनाभित्र गाउँपालिकालाई खुला दिसामुक्त गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अनुगमन टोलीले कुमरखोद र शरणामतीका विभिन्न बस्तीको स्थलगत अनुगमन गरी अन्तरक्रिया समेत गरेको थियो ।

Facebook Comments

11 प्रतिक्रिया