हाम्रा सबल पुर्खालाई सम्झँदा…

धर्म गौतम

हाम्रा पुर्खाहरुको जीवन अहिले हाम्रोभन्दा धेरै कष्टप्रद थियो । यातायातको सुविधा थिएन, त्यसैले जता गए पनि पैदल जानुपर्ने, एक ठाउँको सामान अर्को ठाउँ लानु परे थाप्लामा नाम्लो लगाउनैपर्ने । स्वास्थ्य सेवाको व्यवस्था नभएका कारण साधारण रोगबाट समेत अकारण थला पर्नुपर्ने वा मृत्यु नै वरण गर्नुपर्ने । महिलाको अवस्था त झन् खराब । सुन्दा लाग्छ उसबेलाको बुहार्तनबाट पार पाउन कति आँसु पान गर्नु पर्थ्यो होला !

हाम्रा एक बढाबाका चार छोरी र एक छोरा थिए । दिदीहरु दुईजनाको र त्यसपछि जन्मेका दाइको नाम अलिक नराम्रो राखिएको । पछि थाहा भयो त्यस पहिलेका निकैजना सन्तान हात नलागेपछि तिनलाई जोगाउन नराम्रो नाम दिइएको रे । विश्वास भन्नुस् या अन्धविश्वास । बढीआमाले कान्छी बहिनी जन्माउँदा बेहोरेको पीडा मलाई अलिअलि थाहा छ । प्रसूति वेदनाले कति महिलाको ज्यान जान्थ्यो भनेर साध्य छैन ।

मलाई मेरा बाले आफे भोगेको एउटा सन्दर्भ सुनाउनु भएको थियो । यो करिब ७५/८० वर्षअघिको कुरा हो । उसबेला गाउँमा पैसा साट्ने कुरा भनेको कि अन्न कि चौपाया मात्रै थिए । अहिले जस्तो नगदेबाली थिएन । तिरो अर्थात् मालपोत तिर्न नसकेर मानिसका जग्गा लिलाम हुन्थे । हाम्रो पनि तिरो तिर्ने पैसा बनाउन मेरी बढीआमा र मेरा बाले बयर्नी धानका ढिकीमा फलेर राम्रा पारेका चामल एकएक भारी लिएर इलाम बजार बेच्न लानु भएछ ।

त्यसरी भारी बोकेर इलाम बजार पुग्न हाम्रो गाउँबाट तीनदेखि चार घण्टा लाग्छ । इलाम बजार छिर्नासाथ परिचित एक मारवाडीले ती दुवै भारी चामल किनिदिएछन् । त्यो आफमा हर्षको कुरा थियो । किनभने त्यस बेला चामल बेच्न बजारमा दिनभर बस्नुपर्ने, ग्राहकले मागेअनुसार दुई चार, आठ दस माना गर्दै बेच्नुपर्ने । त्यस दिन बिकिसकेन भने बजारका चिनेका कसैका दोकानतिर राखिमागेर घर जाने र अर्को हाट पुन: आएर बेच्नुपर्ने हुन्थ्यो । यसरी बजारभित्रै नपसी दुवै भारी चामल बिक्री भएकामा बाहरु खुसी नहुने कुरै भएन ।
दुई भारी चामलको मोल त्यस बेलाका भाउमा एक रुपैयाँ भएछ । ती मारवाडीले दुई बिटे भारतीय रुपैयाँको एउटा सिक्का दिएछन् । त्यस बेलाको चलन नै त्यस्तै । त्यो सिक्का समातेर बा र बढीआमाले सल्लाह गर्नु भएछ, एकछिन् बजार घुमेर रमिता हेरौँ, अनि खाजा खाएर चाँडै घर फिरौँ ।

बजार एक फन्को लगाउनु भयो होला । त्यसपछि खाजा खाने कुरा आयो । उसबेलाका बाहुनका छोराबुहारी खाजामा मोदीकहाँ पसेर केही मिठाइ खानु हुँदो हो । त्यस बेला इलाम बजारमा चारपाँच मोदीका पसल हुँदा हुन् । तीमध्ये एउटा पसलमा गएर हामी खाजा खान आएका भनेर अघि पाएको सिक्का देखाउँदै पैसा चाहिँ यस्तो छ भने पछि पसलेले, बाजे, लु फिर्ता गर्ने पैसा छैन भनेर भनेछन् । त्यसपछि अर्को पसलमा जानु भयो तर त्यहाँ पनि त्यस्तै । सबै पसलमा एउटै जवाफ पाएपछि खाजा नै नखाई अर्थात् भोकै घर पुग्नु भएको थियो रे ।
म पाँच वर्षको हुँदा अर्थात् विसं २०१४ सालमा मेरो मावलको हजुरबा, हजुरआमा र मेरो आमाहरुले चारधाम तीर्थयात्रा गर्नु भएको थियो । कति समय लाग्यो ठ्याक्कै सम्झनामा छैन । दुई महिना हाराहारी लागेको हुनुपर्छ । म सानिमा र माइजूका साथ बसेको थिएँ । उहाँहरुले तीर्थ लागेका सबैका नाममा एकएक दियोमा बत्ती बाल्नु भएको थियो । कुनै दिन कसैका नामको बत्ती अलिक मधुरो भयो भने, उहाँलाई बिसञ्चो भएछ भनेर सानिमा र माइजू चाँडै सञ्च होस् भन्दै भगवानसँग प्रार्थना गर्नु हुन्थ्यो ।

उहाँहरुले तीर्थबाट फर्केपछि त्यस क्रममा भएका घटना छरछिमेकीलाई सुनाएको सम्झन्छु । खासगरी रेलमा चढ्न गर्नु परेको संघर्ष, त्यहाँ पकेटमारबाट बच्न खुकुरी नचाएको आदि आदि । मन्दिर र त्यसभित्र राखिएका मूर्तिको सजीवताको वर्णन, त्यस्ता कुरा सुनाउँदा उहाँहरुमा पलाएको गौरवबोध म अलिअलि थाहा पाउँछु ।

यसपालि इलामको एउटा संस्थामा आवद्ध महिलाहरु भारतका केही ठाउँको भ्रमणमा जाने हुनुभयो । म पनि त्यस संस्थासँग आवद्ध भएकाले मलाई पनि उहाँहरुसँग जानुपर्ने भयो, गाइडका रुपमा र पुरुष भएका नाताले र भारततिरको केही अनुभव समेत भएकाले अभिभावकका रुपमा समेत । त्यस यात्राका लागि मैले काठमाडौँको एउटा ट्राभल एजेन्सीसँग सम्पर्क गरेँ । हाम्रो पारिवारिक सदस्य जस्तै सञ्चालक छन् त्यसका ।

यात्राको इटनरी तयार भयो, न्यु जल्पाइगुडीदेखि दिल्ली हुँदै देहरादुन रेलमार्गबाट । त्यहाँ दुई दिन बसाइ, मुसुरीतिर घुमघाम । त्यसपछि हरिद्वार, ऋषिकेश दर्शन अनि रेलबाट कुरुक्षेत्र । त्यहाँबाट बनारस र फिर्ता १२ औँ दिनमा, तेह्रौ दिन घर । खानाबाहेकको यातायात तथा आवास र बिहानको नास्ता अनि गाइडसहितको सम्पूर्ण व्यवस्था एजेन्सीले गर्ने भयो, प्रतिव्यक्ति भारु १२ हजार ६ सयमा ।

पहिलो दिन जलपाइगुडीबाट समाउनुपर्ने रेल दिउँसो २ बजेको थियो । २१ जनाको जम्बो टोली १२ बजे नै त्यहाँ पुगियो । टोलीमा बृद्धा पनि छन् र कहिल्यै यात्रा नगरेका युवतीहरु प्नि । रेलवे जन्कसनमा पुगेर बुझा थाहा भयो हामीलाई टिकट दिइएको महानन्दा एक्सप्रेस क्यान्सल छ । त्यो करिब चार महिनादेखि चलेको छैन । इन्क्वारीमा हाम्रो त करिब महिना दिनअघि लिएको टिकट हो । चार महिनादेखि बन्द रेलको टिकट किन दिइयो भनेर सोध्दा त्यहाँ बस्नेले उल्टै आफै रेल विभागलाई गाली दिन थाल्यो, ट्रेन बन्द है, साले सब, लोगोँको टिकट देते हेँ ।
काठमाडौँ ट्राभल एजेन्सीलाई खबर गरियो, उनीहरु पनि चकित भए । नहडबढाई केहीबेर पर्खन आग्रह गरे । साथीहरु भन्न थाले ट्राभल एजेन्सीले ठगेछ । सालेलाई छाड्नु हुँदैन ।… सबैभन्दा पतला हालत मेरो भयो, किनभने त्यो सम्पूर्ण बन्दोबस्त मैले गरेको थिएँ, चार लाख ६५ हजारजति पेमेन्ट ट्राभल एजेन्सीलाई गरिसकिएको थियो । अब अर्को उपायबाट त्यो सेड्युल भेट्न गाह्रो थियो । तर, ट्राभल एजेन्सीले बदमासी नगर्नुपर्ने भन्नेमा म एक प्रकार ढुक्क थिएँ ।

एकजना साथीले ट्राभल एजेन्सीको नम्बर लिएर धम्की नै दिन थालिन् । उनलाई पनि भनिएछ, हामीले लिएको टिकटवाला ट्रेन क्यान्सल भएको जानकारी रेलवेले अहिलेसम्म पनि हामीलाई गराएको छैन । हामी विकल्पको खोजमा छौँ, कृपया धैर्य नगुमाउनुस् । यति सुनेपछि उनी अलिक शान्त भइन् । काठमाडौँसँग तारन्तार कुरा भइरह्यो । प्लेटफर्मको हल्लामा कुरा गर्न पनि गाह्रो ।

तीन घण्टापछि काठमाडौँले खबर र्गयो, त्यहाँ तपाईंहरुलाई एसी बस लिन आउँछ । त्यसबाट कलकत्ता जानुस्, त्यहाँबाट भोलि दिउँसो १ बजेको ट्रेन छ हरिद्वारका लागि । इटिकट मेल गरिदिन्छौँ । कलकत्तामा हाम्रो मानिसले रिसिभ गरेर टे्रन चढाउँछ ।

त्यसो हुनसक्दा यात्रा सूची पुन: समात्न सकिन्थ्यो । फरक, हरिद्वार बिहानको साटो बेलुका पुगिन्थ्यो । अलिक ढुक्क भयो । स्थानीय बसको मानिसले सम्पर्क र्गयो । थप ढुक्क भइयो । उसले भोलि बिहान १० बजे कलकत्ता पुगिन्छ भन्यो । त्यति भए कलकत्ता समेत अलिकति घुमौँला भन्ने भयो ।

बेलुका आठ बजेतिर बस हिँड्यो । बिहान सात बजेतिर चिया खाने ठाउँमा बस रोकेका बेला हाम्रा साथीहरुले अलिक ढिलो गरे । बसवाला रिसाउन थाल्यो । ट्रेन छुटे म जान्दिन भन्न थाल्यो । कति बेला पुगिन्छ कलकत्ता भनेर सोध्दा १ बजे भन्छ । बाटामा जाम हुन्छ र त्यो कति लामो हुन्छ भन्ने टुङ्गो हुँदैन भन्ने मलाई पनि थाहा थियो र ऊ पनि त्यसै भन्छ ।

नौ बजेतिर कलकत्ताको मानिसले सम्पर्क गरेर सोध्यो, कहाँ आइपुग्यौ ? हामीले ठाउँ सोधेर बतायौँ । ऊ पनि भन्छ, ल, अझत्यहाँ मात्रै ? उसले ड्राइभरसँग पनि कुरा गरेर बस रोक्ने लोकेसनको कुरा र्गयो । बसवाला हामीसँग राम्ररी कुरा गर्न पनि चाहँदैन । १२ बज्यो । अब कति लाग्छ भन्दा एक घण्टा भन्छ । संयोग होली परेकाले बाटो खुला थियो, जाम भएन ।

उता कलकत्ताको ट्याक्सीवाल तारन्तार फोन गरिरहेको छ । सवा एकमा बस रोकियो, ट्याक्सीवाला आएर छिटो वर्ल भनेर कराउन थाल्यो । हतारहतार बसबाट निस्कियौँ, सामान निकाल्यौँ र चारवटा ट्याक्सीमा बस्यौँ । ट्याक्सीवालाको चिनाजानको मानिस रहेछ रेलवेमा, उसले त्यसँग सम्पर्क गरेर सिधै प्लेटफार्ममा छिरायो गाडी ।

रेल लागिरहेको थियो, हामी कुद्दै गएर एउटा डिब्बामा चढ्यौँ । हामी चढिसक्दा रेलले क्वाँ.. गरेर सिटी लाउँदै घस्रिन थाल्यो । त्यसपछि टिकट हेरेर बिस्तारै आआफा डिब्बातिर लाग्यौँ । अरु साथीहरुलाई कस्तो लागिरहेको थियो थाहा भएन म आफभने फाँसीको फन्दाबाट उम्केजस्तो अनुभव गरिरहेको थिएँ ।

सबैलाई बसाएर आफो सिटमा आरामले बसेपछि मैले करिब छ दशकपहिले आमाहरुले गरेको चारधाम यात्राका बारेमा कल्पना गर्न थालेँ । चारधाम मानिएका बद्री, रामेश्वरम, जगन्नाथ र द्वारका भारतका चार दिशामा चार कुनामा पर्छन् । बिनारिजर्भेन, बिनागाइड कसरी त्यत्रो यात्रा सम्पन्न गर्न सक्नु भयो होला ? त्यो यात्रा गर्नेमध्ये मेरी आमा अझहुनुहुन्छ, उहाँलाई घरमा छाडेर आएको छु । मैले मनमनले उहाँहरु सबैलाई प्रणाम गरेँ, धन्य तपाईंहरुको साहस, धैर्य र कष्ट सहन गर्ने क्षमता !

Facebook Comments