‘अक्सिजनभन्दा बढी मोटिभेसन आवश्यक छ’

— दिपक दर्शन, मोटिभेसनल स्पीकर

हरेक मानिसको खुसी सफलतासँग जोडिएको हुन्छ । तर, सफल व्यक्ति विरल्लै पाइन्छ । असफलता, नैराश्यता र तनावले धेरैलाई ग्रसित पार्छ । अनि खुसी हराउँछ । मान्छेले मुस्कुराउन बिर्सिन्छ । तर, सफलता मात्रै जीवन होइन, सफल बन्ने कोसिस पनि जीवन हो भन्दै झापाली एक युवा मानिसको जीवनमा खुसी फर्काउने अभियानमा छन् । खुसी बाँडे खुसी बढ्ने मान्यता लिएका झापा बाह्रदशी गाउँपालिका डाँगीबारीका दिपक दर्शन जीवनलाई महान अवसरको रुपमा लिन्छन् । मनोक्रान्तिका डा. योगी विकासानान्दबाट प्रेरित भई विगत ५ वर्षदेखि मानिसलाई उत्प्रेरित गर्दै आएका उनी २७ वर्षका भए । बिर्तामोड कनकाई क्याम्पसबाट ब्याचलर गरेका दिपक दर्शन ॅद वे अफ सक्सेस’का सञ्चालक हुन् । उनले सयौँ मोटिभेसनल भिडियो युट्युबमा राखेका छन् । युट्युबमा दिपक दर्शन टाइप गरी उनलाई खोज्न सकिन्छ । जीवन जिउने कला सिकाउँदै आएका उनीसँग विवेचनाकर्मी एकराज प्रधानले गरेको कुराकानी :

जीवन जिउने कला के हो ?
जीवन मान्छेले तीन तरिकाले जिउँछ । यो मनोक्रान्तिले विश्लेषण गरेको कुरा हो । पहिलो म्यानेजमेन्ट अफ लाइफ, दोस्रो इम्पावरमेन्ट अफ लाइफ र तेस्रो एलाइन्मेन्ट अफ लाइफ । म्यानेजमेन्ट अफ लाइफमा मानिसले जसोतसो गरेर जीवन गुजारा गरिरहेको हुन्छ । जस्तो दिनभरि काम र्गयो, बेलुका खायो, सुत्यो । भोलि पनि उसैगरी दिन-रात बित्यो । सामान्य काम गरेर जीवन गुजारा चल्यो । कुनै ठूलो लक्ष्य हुँदैन । कहाँ पुग्नुपर्ने, गन्तव्य पनि हुँदैन । जीवनलाई जेनतेन म्यानेज गर्दै बिताउनु म्यानेजमेन्ट अफ लाइफ । यो लाइफबाट एक स्टेप माथि उठ्ने हो भने इम्पावरमेन्ट अफ लाइफ । जहाँ तपाईंमार्फत् धेरैले काम पाउँछन् । अरुलाई काम लगाएर आफू र अरु सँगसँगै प्रगति गर्दै एक किसिमको सहज वातावरणमा जिउनुलाई इम्पावरमेन्ट अफ लाइफका रुपमा बुझिन्छ । जसलाई जीवनको सशक्तिकरण भन्न सकिन्छ । जीवनका यी दुई कुराले मात्र खुसी ल्याउँदैन रहेछ । खुसी साथ जिउनको लागि एलाइन्मेन्ट अफ लाइफ बाँच्न सक्नुपर्छ । अर्थात्, जसमा आत्मसन्तुष्टि, खुसी, आत्मशान्ति जस्ता कुरा समावेश हुन्छन् । यो भनेकै चैनसँग जीवन बाँच्नु हो । सन्तुष्ट हुनु हो । तर, मानिस साना-साना कुरामा अल्झिएर जीवन तहसनहस पारिरहेका हुन्छन् । मनमा जस्तोसुकै दु:खको पनि सामना गर्छु भनेर अघि बढ्ने मानिसले वास्तवमा सार्थक जीवन बाँच्छ ।

‘मोटिभेसन’ क्षेत्रमा किन लाग्नुभयो ?
मान्छेलाई अहिले अक्सिजनभन्दा बढी मोटिभेसनको आवश्यकता छ । मान्छे आत्महत्या गरिरहेको छ । विश्वमै यो क्रम बढेर गएको छ । किन त भन्दा अक्सिजन छ, तर मोटिभेसन छैन । मनमा उत्साह छैन । मनमा उत्साह नभएपछि दिमागमा नचाहिने कुरा खेल्न थाल्छ । जसले डिप्रेसन गराउँछ । त्यसपछि उसको जीवन निराश गराउँछ । सफलताको लागि मानिसको जीवनमा उत्साह चाहिन्छ । उत्साहले जीवनमा खुसी फर्काउँछ । त्यसैले म यो क्षेत्रमा रहेर जीवन बुझाउने र मानिसमा सकारात्मक उत्साह भर्न चाहन्छु । मोटिभेसनलाई मैले जीवनमा बाँच्नका लागि चाहिने महत्वपूर्ण हतियारको रुपमा बुझेको छु । प्रेरणा-उत्प्रेरणा जस्तो शब्द जीवनका लागि आफैँमा शक्तिशाली शब्द हो ।

युवालाई के भन्नुहुन्छ ?
युवाले नेपालमा रहेको अवसरलाई बुझ्न सकेका छैनन् । म पनि एकपटक विदेश बसेको हुँ । तर, मलाई त्यहाँ पुगेपछि महसुस भयो कि नेपालमा गर्ने कुरा धेरै छन् । साथीहरु भन्नुहुन्थ्यो – नेपालमा केही अवसर नै छैन । मलाई लाग्छ, नेपालमा जति अवसर दुनियाँमा कहीँ छैन । किनकि नेपालमा आजसम्म केही भएकै छैन । कति काम गर्न बाँकी छ । यहाँ सरकारले वातावरण बनाइदिन्छ भन्ने आशा राखिन्छ । तर, अवसर त आफैँ खोज्ने हो, बनाउने हो । अरुले बनाएको बाटोमा हिँड्ने होइन, बाटो त आफैँले बनाउनुपर्छ । सरकारसँग गर्दिएन भनेर गुनासो गर्नुभन्दा युवाले म के गर्न सक्छु भन्ने सोच्नुपर्छ । देशका लागि के गर्न सक्छु, सरकारका लागि के गर्न सक्छु भनेर आफैँसँग प्रश्न गर्नुपर्छ । अनि हुन्छ देशको विकास । त्यसैले म भन्छु – देशले मलाई के दियो यो नसम्झनुस्, मैले देशलाई के दिएँ के दिन सक्छु भनेर सम्झनुहोस् । र, काम गर्नुहोस् ।

करियर छान्ने विषयमा धेरै युवा अल्मलिन्छन् नि ?
मेरो बुझाइमा समस्या उनीहरुमा होइन – शिक्षक र अभिभावकमा छ । नानीहरुमा कस्तो क्षमता छ भन्नेमा अभिभावक-शिक्षकको ध्यान जाँदैन । उनीहरु यो बन्, त्यो बन् भन्ने आदेश दिन्छन् । खोक्रो सपना देखाइदिन्छन् । मन एकातिर, सुझाव अर्कातिर आइदिँदा कन्फ्युजन सुरु हुन्छ । भित्र मनले इच्छाए प्यासनलाई प्रोफेसन बनाए मात्र सफल बन्न सकिन्छ । कसैले भन्दिएको भरमा जीवन सफल हुन सक्दैन भन्ने युवाले बुझ्न जरुरी छ । बहाना होइन, सफलता खोज्नुपर्छ । संकल्प गर्नुपर्छ । सधैँ सकारात्मक सोचलाई मनमा लिएर अघि बढ्नुपर्छ ।

नेतृत्व विकास सम्बन्धी पनि काम गरिरहनु भएको छ, राजनीतिमा नेतृत्व भएन भनिन्छ नि ?
हामीले गाली गर्न मात्र सिक्यौँ । तर, आफैँ चाहिँ सुध्रिएनौँ । हामीमा जजमेन्ट गर्ने क्षमताको विकास हुन सकेन । नेतृत्व गर्ने क्षमता भएका धेरै छन् नेपालमा । राम्रा राम्रा छन् । तर, छान्न सक्दैनौँ । चिन्दैनौँ । लहडमा कुद्छौँ । नेतृत्वमा रहेपछि त्याग गर्ने क्षमता हुनुपर्छ । हाम्रो नेतृत्व सत्ता चलाउने लोभमा फँसेको छ । देश विकास त बहाना मात्र भएको छ । नेता सुध्रन र सुधार्न जनता सुध्रिनु पर्छ । जनताले हो नेता जन्माउने, नेताले जनता बनाउने होइन । एउटै मात्र सच्चा देशझनेताले देश बदल्न सक्ने क्षमता राख्दछ ।

Facebook Comments