झापामा छायाँकन हुँदैछ ‘नाई नभन्नु ल ५’

‘नाई नभन्नु ल’ को सफलतापछि लगातार सिक्वेल निर्माण गरेर ‘नाई नभन्नु ल ४’ पुग्दासम्म नथाकेका निर्देशक विकास आचार्यले पुन: एक थपेर ‘नाई नभन्नु ल ५’ को छायाँकन सुरु गरेका छन् । झापाको पर्यटकीय स्थलका रुपमा परिचित सालबारीबाट चलचित्रको छायाँकन सुरु गरिएको हो । झापा र इलामका विभिन्न रमणीय स्थानमा यो चलचित्र छायाँकन गरिने निर्माण युनिटले जनाएको छ । पहिलो दिन चलचित्रका मुख्य कलाकार स्वस्तिमा खड्का र अभिषेक नेपाल सेटमा देखिए ।

कान्तिपुर फिल्म एकेडेमीमा अध्ययन गर्दै गरेका नेपाललाई निर्देशक आचार्यले टपक्क टिपेर यस चलचित्रमा होमेका हुन् । नेपालको यो डेब्यु चलचित्र हो । विकास आचार्य निर्देशित चलचित्र ‘नाई नभन्नु ल’ का प्रत्येक सिक्वेलहरुमा कुनै न कुनै अनुहार नयाँ हुने गरेको छ । तर, पुरानै अनुहारमा हरेकपटक बाल कलाकार अनुभव रेग्मी दोहोरिने गरेका छन् । आचार्यले निर्माण गरेका सिक्वेलहरुमा चलचित्रको कथावस्तु र गीतहरु नै दर्बिलो पक्ष मानिन्छ । यसपटक बाल कलाकारमा सेड्रिना शर्मा पनि झुल्कदै छिन् । उनी अनुभव रेग्मीको जोडीको रुपमा प्रस्तुत हुने बताइएको छ । चलचित्रमा दिलिप रायमाझी, केकी अधिकारी, प्रियंका कार्कीको मुख्य भूमिका छ ।

भदौ ८ गते रिलिज डेट राखेर सुटिङमा दौडिएका विकास आर्चायको यो सिक्वेल पनि सफल भयो भने ‘नाई नभन्नु ल ६’ निर्माण हुनेमा दुईमत नहोला । विकास आचार्य र सामीप्यराज तिमल्सिनाको लेखन रहेको यो चलचित्रमा पुरुषोत्तम प्रधानको छायाँकन तथा वसन्त सापकोटाको संगीत रहेको छ ।

Facebook Comments

5 प्रतिक्रिया