एम्बुलेन्सले खेलाडी बोकेपछि प्रहरी फन्दामा

अनिल वाग्ले

बुधबारे, चैत, १९ । एम्बुलेन्सको काम के हो भन्दा सबैको एउटै उत्तर आउँछ, ‘बिरामी बोक्नु ।’ तर एम्बुलेन्स यतिमा मात्र सीमित बनेन । झापाको एक सामुदायिक वनको एम्बुलेन्स भने बिरामी बोक्ने कार्यमा भन्दा अन्य कार्यमा लागिरहेको खुलासा भएको छ ।

झापाको अर्जुनधारा नगरपालिका १ खुदुनाबारीमा रहेको हचुमासा सामुदायिक वनको एम्बुलेन्स खेलाडी बोक्नमा नै व्यस्त रहेको पाइएको हो । आइतबार साँझ ट्राफिक प्रहरी पोस्ट बुधबारेका प्रमुख चन्द्र राउत गस्तीमा रहेका बखत सो एम्बुलेन्सलाई खेलाडी ओसारपसार गरेको अवस्थामा बुधबारेमा फेला पारे । एम्बुलेन्स चालक बालकुमार फुयालले एम्बुलेन्समा भलिबल खेलाडी कोचेर हालेका थिए ।

यो काम उनले आइतबार मात्र गरेका होइनन्, खुदुनाबारीबाट बुधबारे भलिबल खेल्न आउने खेलाडीलाई नियमित ल्याउने गरेका थिए । प्रहरीले फउ गरेपछि चालक फालले शनिबार र आइतबार खेलाडी ओसारेको स्वीकार गर्दै अब यस्तो नगर्ने बताए । चालक फालले एम्बुलेन्सले खेलाडी बोक्ने गरेको सामुदायिक वनका अध्यक्षसहित सम्पूर्ण कार्यसमितिलाई जानकारी भएको बताएका छन् ।

यसैबीच, ट्राफिक प्रहरी पोस्ट बुधबारेका प्रमुख राउतले एम्बुलेन्स दुरुपयोग भएकोमा कानुनी कारबाही गरिने जनाएका छन् । एम्बुलेन्स हाल इलाका प्रहरी कार्यालय बुधबारेको नियन्त्रणमा छ ।

Facebook Comments