कृषिकर्मले फेरिएको जीवन

५२ वर्षका लेलु चौधरी र ४० वर्षकी उषावती चौधरी श्रीमान-श्रीमती हुन् । सहारा नेपाल साकोसको सगुन सहारा महिला समूह (समूह नम्बर ५७), ग्रामथान गाउँपालिका-५ तेतरिया मोरङ निवासी हुन् उनीहरु ।

दुवैजना शारीरिक रुपमा कमजोर छन् । श्रीमान लेलुका हात राम्ररी चल्दैन भने श्रीमती उषावतीको खुट्टा कमजोर छ । तैपनि उनीहरु गाउँमा व्यावसायिक रुपमा अगाडि बढेर आफ्नो पहिचान बनाउन अग्रसर छन् ।

२०७१ सालबाट सहारा नेपाल साकोसमा आबद्ध भई सर्वप्रथम ५० हजार रुपैयाँ कर्जा लिएर कुखुराको खोर बनाई दुई सयवटा कुखुरा पाल्न सुरु गरेका उनीहरुले अहिले व्यावसायिक कुखुरापालन, सुँगुर पालन, माछापालन र किराना पसल गरिरहेका छन् ।

‘सुरुका दिनमा घर-परिवार पाल्न अत्यन्तै कठिन थियो । अहिले त्यो अवस्था छैन’, लेलु भन्छन्, ‘पारिवारिक स्थिति एकदमै नाजुक भएका कारण छाक टार्न पनि धौधौ पर्ने गरेको थियो ।’ उनी घरनजिकै रहेको सानो झुपडीमा किराना दोकान पनि गर्छन् । त्यससँगै पालिएका कुखुराको बिक्रीबाट राम्रै आम्दानी हुने गरेको छ । कुखुरा फारमसँगै सुँगुर पनि पालिएको र सुँगुरको बिक्रीबाट पनि थप आम्दानी हुन्छ, उनीहरुको । कहिलेकाहीँ रक्सी पनि पार्छन् उनीहरु । रक्सीबाट निस्किएको कट सुँगुरलाई खुवाउन काम लाग्छ ।

हाल सहारा नेपाल साकोसको तेतरिया सेवा केन्द्रमार्फत् एक लाख ५० हजार कर्जा लिएका उनीहरुले यसअघि पनि सोही कर्जा चलाई समयमा कर्जा चुक्ता गरेको तेतरिया सेवा केन्द्रकी प्रबन्धक मनिषा ओलीले बताए ।

उनका अनुसार चौधरी दम्पत्तिले सञ्चालन गरेको कुखुरा फारममा ११ सय वटा कुखुरा रहेका छन् । सो फारमसँगै माछापालन गरेका उनीहरुले माछा बिक्रीबाट समेत राम्रो आम्दानी गरिरहेका छन् ।

उनीहरुका एक छोरा सीताराम चौधरी, बुहारी निकिता चौधरी, नातिनी डिडियन चौधरीसहित पाँच जनाको परिवार छ । जसमा बुबाआमाको व्यवसायमा छोराबुहारीले सहयोग गर्ने गरेको र बुहारी निकिता पनि सहारा नेपाल साकोसको समूहमा आबद्ध रहेकी छन् ।

उनीहरुको व्यवसाय फस्टाएको मात्र छैन, जसको माध्यमबाट दुई कठ्ठा जमिन समेत किनेका छन् । सोही जमिनमा आफूलाई बस्ने घरसहित कुखुरा फारमका लागि चाहिने घर बनाएर आफूलाई सफल उद्यमीका रुपमा उभ्याउन सफल भएका छन् ।

स्थानीय ग्रामथान गाउँपालिका-५ तेतरिया निवासी गोर्कीकुमारी चौधरी दम्पत्तिको काम गर्ने तरिकाको प्रशंसा गर्छिन् । उनी भन्छिन्, ‘उषावती र उनका श्रीमान असल, इमान्दार, मिलनसार र मेहनती छन् ।’ स्थानीय सरकारी विद्यालयकी शिक्षिका गोर्की मेहनतकै कारण चौधरी परिवारको आर्थिक अवस्था सुधार भएको सफल भएको ठान्छिन् । ग्रामथान-५ कै हिनावती विश्वास सुरुको अवस्थामा सानो पसलबाट व्यवसाय सुरु गरी सबैलाई प्रेरणा दिने ठाउँमा चौधरी परिवार पुगेको बताउँछिन् ।

Facebook Comments