सैनिक युथ क्लब बन्यो बुद्धशान्ति च्यालेञ्ज कप च्याम्पियन

तीर्थ तिम्सिना

बुद्धशान्ति, चैत २४ । झापाको बुद्धशान्ति-१ स्थित होक्सेमा सम्पन्न प्रथम बुद्धशान्ति च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगितामा सैनिक युथ क्लब च्याम्पियन बनेको छ ।

बुद्धशान्तिस्थित त्रिभुवन माध्यमिक विद्यालयको खेलमैदानमा शनिबार भएको फाइनल खेलमा आयोजक होक्से युवा क्लबलाई ०-१ गोलअन्तरले पराजित गर्दै सैनिक उपाधि जित्न सफल भएको हो ।

सैनिकको जीतमा दोस्रो हाफको ३२ औँ मिनेटमा राजकुमार कन्दङवाले गोल गरेका थिए । उपाधिसँगै सैनिकले नगद पुरस्कार ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता आयोजक होक्सेले भने नगद ३० हजारमा चित्त बुझाएको छ ।
त्यसैगरी फाइनल खेलको म्यान अफ दी म्याच सैनिकका राजकुमार कन्दङवा, उत्कृष्ट गोलरक्षक आयोजक होक्सेका राजकुमार लिम्बू, उत्कृष्ट डिफेन्स सैनिकका विशाल बस्नेत, उत्कृष्ट मिड फिल्डर आयोजक होक्सेका विक्रम राई घोषित भए । सर्वाधिक गोलकर्ताका रुपमा आयोजक होक्सेका बबिन बोहोरा घोषित भए ।

विजेता र उपविजेता टिमका खेलाडीलाई प्रमुख अतिथि जिल्ला फुटबल संघ झापाका अध्यक्ष भगीरथ आले ‘मामा’, सदस्य अमिर श्रेष्ठ, सिद्धकाली मार्केटिङका प्रकाश भण्डारीलगायतले पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा पूर्व फुटबल खेलाडीद्वय पहलमान बराल र सन्तोष थापालाई सम्मानपत्रसहित सम्मानित गरिएको कार्यक्रममा विभिन्न दाताहरुलाई पनि सम्मानित गरिएको थियो । फाइनल खेलअघि आयोजक बुधबारे जेसीज र होक्से कृषि सहकारी संस्थाबीच सम्पन्न शो म्याचमा बुधबारे जेसीज २-१ गोलको अन्तरले विजयी भएको छ । बुधबारे जेसीजका अध्यक्ष प्रकाश भण्डारीको अध्यक्षतामा भएको समापन कार्यक्रममा पूर्ण सञ्जेलले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन मोहन तिम्सिनाले गरेका थिए ।

Facebook Comments