एफएलएफ अवार्डमा प्रेमलाई लाइफ टाइम एचिभमेन्ट

बिर्तामोड, चैत । फाल्गुनन्द लिङ्देन फिल्मस् प्रालिले दोस्रोपटक आयोजना गरेको ‘एफएलएफ अवार्ड २०७४’ झापाको बिर्तामोडमा सम्पन्न भएको छ ।

लिम्बू भाषा संस्कृति र कला साहित्यको विकास एवम् विस्तारमा टेवा र्पुयाउने उद्देश्यका साथ आयोजना गरिएको अवार्डबाट उत्कृष्ट लिम्बू फिल्म निर्देशकमा किशोर सुब्बाले अवार्ड हात पारेका छन् । अवार्ड पाउनेहरुमा लिम्बू चलचित्रबाट नायक आशिष लिङ्देन, नायिका नेतिफ आङबुङ, गायक गोविन्द आङबुङ, गायिका मनु नेम्वाङ, संगीत यासेली योङहाङ, कथा सागर केरुङ, सम्पादन पर्शुराम चौधरी, छायाड्ढन तिलक रिजाल रहेका छन् ।

यसैगरी, सांस्कृतिक चलचित्रमा ‘ए सोमिमे’, भाषामा चलचित्र लुधुङकाईले अवार्ड पाए । म्युजिक भिडियोतर्फ निर्देशक लोकेन साँवा, गायक मान तबेबुङ ‘नाजम’, गायिका सुनिता थेगिम, नायक (मोडल) सविन तुम्वाहम्फे, नायिका (मोडल) निशा पोमु, सम्पादन वीरेन्द्र भाट (विपिन), छायांकन रविन्द्र बरालले अवार्ड हात पारेका छन् । फिल्म र म्युजिक भिडियो दुबैबाट उत्कृष्ट भाषा गायक सुसन साम्सोहाङ र उत्कृष्ट संस्कृति नायक घनेन्द्र नेम्वाङले अवार्ड पाए । कार्यक्रममा नायिका निशा पोमु, गायिका मनु नेम्वाङलगायत सोम लामा, रोशन सुवेदीले विभिन्न गीत तथा नृत्य प्रस्तुत गरेका थिए । साहित्यकार यासेली योङहाङले कार्यक्रम सञ्चालन गरेका थिए । अवार्डका ज्युरी उदय सुब्बा, सोभा खजुम, धनवीर साँवालाई सम्मान गरिएको थियो । लाइफ टाइम एचिभमेन्ट अवार्डबाट संगीतकार प्रेम पन्धाकलाई सम्मान गरिएको छ ।

फाल्गुनन्द लिङ्देन फिल्म्स प्रालिले २०७३ सालदेखि यो अवार्ड प्रदान गर्न सुरु गरेको र हरेक वर्ष नियमित रुपमा अवार्ड वितरण गरिने आयोजक संस्थाका प्रबन्ध निर्देशक तथा चलचित्र निर्देशक दिनेश लिङ्देनले बताए । प्रदेश नम्बर १ का आर्थिक तथा मामिलामन्त्री इन्द्र आङ्बोले विजेतालाई अवार्ड वितरण गरेका थिए ।

Facebook Comments