ओझेलमा मधुमल्ला बजार

लोकनाथ रिजाल

अन्य सहरमा तीव्र विकास र यातायातको सहज पहँुच भएसँगै पूर्वकै नामी बजार मधुमल्ला भने यतिबेला थला परेको छ । पहाड र तराईबासीको व्यापार व्यवसाय गर्ने मुल थलोको रुपमा रहेको पूर्वकै पुरानो बजार मधुमल्ला ओझेलमा परेको छ ।

पैदलमार्ग हँुदै पहाडबाट यहाँ पहाडमा उत्पादन भएका विभिन्न वस्तुहरु किनबेच हुने गरेको थियो । ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटालगायतका पहाडी जिल्लाहरुको व्यापारिक केन्द्रको रुपमा मधुमल्ला बजार रहेको थियो । अहिले भने अन्य बजार तुलनात्मक रुपमा घना बनिसके भने यो बजार दिनदिनै सुक्दै गएको छ । यो बजारमा विशेष गरेर धेरै समय अगाडि वस्तु किनबेचभन्दा पनि वस्तु विनिमय हुने गरेको थियो । पहाडबाट उत्पादन भएका वस्तुहरु तराईमा उत्पादित अन्य वस्तुसँग साँटफेर हुने गरेको यहाँका पुराना व्यापारीहरुको भनाइ छ ।

राधेश्याम शाह (तेली) २००९ सालमा विराटनगरको कर्सियाबाट आफा आमाबुवासँग बसाइँ सरेर मधुमल्लामा आउँदा यहाँ खासै बस्तीहरु थिएनन्। उनी त्यतिबेला ७ वर्षका थिए । मधुमल्लाको बजार भने ठुलै लाग्ने गरेको उनी सम्झिन्छन् । २०२० सालदेखि व्यवसायमा लागेका शाह अझै पनि व्यवसाय नै गरिरहेका छन् । पहिलाको बजार र अहिलेको बजार हेर्दा उनलाई कहाली लागेर आउने बताउँछन् । उनले बताएजस्तै पूर्वकै पुरानो बजार मधुमल्लाको अवस्था दयनीय बन्दै गएको छ । ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा लगायतका पहाडी जिल्लाहरुको व्यापारिक केन्द्र बनेको मधुमल्ला अहिले अरु बजारको तुलनामा खुम्चदै गएको छ । सबै पहाडी जिल्लाबाट व्यापार व्यवसायको सिलसिलामा मधुमल्ला बजार आउने गरेको र तराईका विभिन्न ठाउँबाट समेत बजार भर्न भेला हुने गरेको पुराना व्यवसायी शाहको भनाइ छ । त्यति बेला तीन दिनसम्म बजार लाग्ने गरेको स्थानीय ६८ वर्षीय रुपबहादुर खड्का बताउँछन् ।

मुख्य बजारको दिन सोमबार भए पनि टाढाटाढाबाट व्यापार व्यवसायका लागि आउने गरेकोले आइतबारदेखि मंगलबारसम्म बजार लाग्ने गरेको थियो । तर, अहिले सोमबार त्यही पनि सानो माब बजार लाग्ने गरेको छ । विशेष गरेर पहाडमा उत्पादन हुने गरेका आलु, घ्यू, अम्लिसो, अदुवा, फलफ तथा जडिबुटीले त्यतिबेला बजार भरिभराउ हुने गरेको थियो । त्यस्तै, पहाडबाट खसी, बाख्रा तथा कुखुरा समेत बेच्ने आउनेको लर्काे नै लाग्ने गर्दथ्यो । बाँसको चोयाबाट बन्ने विभिन्न सामग्रीहरु डोको, डालो, ढाकी, फुर्लुङ, घुम लगायतका सामग्री पनि मनग्य आउने गरेका थिए । तराईका विभिन्न ठाउँबाट अन्य उपभोग्य वस्तुहरु आउने गर्दथे । विशेष गरेर विराटनगरको रंगेलीबाट खाद्यवस्तु दाल, चामल, नुन खरिद गरेर बेच्ने गरेको व्यापारी शाहले बताए ।

त्यतिबेला पैदलै हिँडेर पहाडबाट तराई झर्ने गरेका थिए । हालको मधुमल्ला-रवि सडकखण्ड त्यतिबेला पहाडबाट सामान ढुवानी गर्ने ढाकरेहरुको सबैभन्दा छोटो बाटो रहेकोले पनि बजार एकदमै ठुलो लाग्ने गरेको स्थानीय व्यवसायी रमेशप्रसाद दाहाल बताउँछन् । त्यतिबेला तराईमा ढुवानीको मुख्य साधन भनेको बयलगाडा रहेको थियो । बयलगाडामा रंगेलीबाट दैनिक खाद्यवस्तुहरु आयात हुने गरेको थियो भने यताका उत्पादित वस्तुहरु रंगेली निर्यात हुने गरेको स्थानीय व्यवसायीहरुको भनाइ छ । विशेष गरेर पहिलाको समयमा वस्तुहरुको विनिमय हुने गरेको स्थानीय बताउँछन् । पहिलाको बजार सम्झिदै शाह भन्छन्, ‘त्यतिबेला घ्यूमा नुन साट्ने गर्थे, पहाडतिर नुन नपाइने तर घ्यू पाइने भएकोले वस्तु साँटसाँट गर्ने चलन थियो ।’

एउटा इतिहास बनाएको मधुमल्ला बजार अहिले भने प्रतिकको रुपमा मात्र सीमित भएको छ । पहाड र तराईका उपभोग्य वस्तुहरु किनबेच हुने गरेको पूर्वकै पुरानो बजार मधुमल्ला अन्य सहरहरुको तीव्र विकाससँगै नाममा मात्र सीमित हुन पुगेको छ । तीन दिनसम्म लाग्ने बजार अचेल सोमबार त्यही पनि सानो मात्र लाग्ने गरेको छ । उतिबेला १४ बिघा क्षेत्रफलमा पहाड तराई सबैतिरका हजारौँ मानिसहरुको भिडसँगै बजार लाग्ने गरे पनि अहिले त्यो अवस्था छैन । यो बजारको सिधा कनेक्सन पहाडी जिल्ला र सीमावर्ती क्षेत्र भारतको जोगवनीसँग रहेको थियो । त्यतिबेला यातायातको साधन नहुने भएकोले वस्तु खरिद बिक्री गर्न पहाडी जिल्लाबाट ढाकरेहरु पैदल आउने गरेका थिए । तराईको क्षेत्रमा भने बयलगाडाले प्रतिमन एकदेखि डेढ रुपैयाँसम्म सामानहरु ढुवानी गर्ने गरेको व्यवसायी जयगोपाल शाह बताउँछन् । झापाको गौरीगञ्जबाट समेत यस बजार मट्टितेल आयात हुने गरेको उनी बताउँछन् ।

पूर्वका धरान, इटहरी, बिर्तामोड, दमक सहरको बिस्तारसँगै यो बजार ओझेलमा परेको छ । मधुमल्लाको विकास नहनुको मुख्य कारण सडक सञ्जालको बिस्तार नै रहेको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवी आचार्यले बताए । अन्य ठाउँबाट पहाड र तराई जोड्ने बाटो बनेपछि मधुमल्लाको अस्तित्व हराउँदै गएको उनको भनाइ छ । केन्द्रीय तहमा प्रभाव पार्ने राजनेता नभएकै कारण मधुमल्ला बजारपछि परेको स्थानीयको गुनासो छ । हाल आएर मधुमल्लाबाट पाँचथरको रवि जोड्ने सबैभन्दा छोटो मार्ग समेत निर्माण भएकोले अब मधुमल्ला बजार पहिलाकै अवस्थामा फर्कन सक्ने स्थानीयबासी सन्तोष गौतमले आशा व्यक्त गरे ।

Facebook Comments