आशिष स्मृति पत्रकारिता पुरस्कार ढकाललाई

इलाम, बैशाख १ । यस वर्षको ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ बाट इलामका पत्रकार नमिन ढकाल पुरस्कृत भएका छन् । मेची अञ्चलको उत्कृष्ट र उदियमान पत्रकारलाई हरेक वर्ष बैशाख १ गते प्रदान गरिँदै आएको पुरस्कार यस वर्ष थाहा खबरका इलाम सम्वाददाता एवम् स्थानीय सन्देश साप्ताहिकका सहसम्पादक ढकाललाई प्रदान गरिएको हो ।

उनलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य राम राना र धीरेन्द्र शर्माले दोसल्ला, सम्मानपत्र र नगद १० हजार रुपैयाँ प्रदान गरे । इलाम सदरमुकाम स्थापना भएको २ सय वर्षको उपलक्ष्यमा आयोजित कार्यक्रमभित्रै समावेश गरेर आशिष स्मृति पत्रकारिता पुरस्कार वितरण गरिएको थियो ।

रेडियो नेपालका तत्कालीन इलाम समाचारदाता आशिष राईको २०५९ साल बैशाख १ गते इलामको माइखोलामा पौडी खेल्ने क्रममा डुबेर निधन भएपछि उनको सम्झनामा २०६० सालमा इलामका सक्रिय पत्रकारहरुको अगुवाइमा ‘आशिष स्मृति पत्रकारिता पुरस्कार कोष’ को स्थापना गरिएको थियो । त्यसयता हरेक वर्ष मेचीका क्रियाशील पत्रकारलाई पुरस्कृत गर्ने गरिएको छ ।
यसअघि सो पुरस्कारबाट इलामका पत्रकार बेनुप भट्टराई, राजु शिवा, तोयानाथ भट्टराई, राजकुमार दाहाल, युवराज गौतम, गोविन्द लामिछाने, कोकिला ढकाल, भीम चापागाईं, पाँचथरका गणेश साङ्पाङ, झापाका मोहन काजी र रमेश समदर्शी राई तथा ताप्लेजुङका आनन्द गौतम र सीता निरौला पुरस्कृत भइसकेका छन् ।

महासंघ इलामकी अध्यक्ष कोकिला ढकालको अध्यक्षतामा भएको कार्यक्रममा स्वर्गीय आशिष राईले इलामको पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानका विषयमा चर्चा गरिएको थियो । नेपाल पत्रकार महासंघ इलामका संस्थापक सभापति धर्म गौतमले स्वर्गीय आशिष राईले इलाममा पत्रकारिकताको विकास गर्न महत्वपूर्ण योगदान गरेको बताए ।

Facebook Comments