समृद्धिको आधार ‘अबको समाजवाद’

बिर्तामोड, वैशाख ३ । मुलुकका दुई ठुला कम्युनिष्ट पार्टीबीच हुन लागेको एकताको पूर्वसन्ध्यामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रभावशाली नेताहरुले विकसित समाज जस्तै अबको समाजवादको लक्ष्य हुनुपर्ने बताएका छन् ।

झापाको बिर्तामोडमा आइतबार आयोजना गरिएको ‘अबको समाजवाद’ विषयक सम्वाद कार्यक्रममा बोल्दै एमाले नेता तथा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले समाज गतिशील बन्दै जाँदा चुनौतीहरु नयाँनयाँ थपिँदै गएको बताए । चुनौती थपिँदै गए पनि ती चुनौतीको समाधान पुरानै तरिकाले सोच्ने गरिएकाले सही समाधान हुन नसकेको नेता ज्ञवालीको भनाइ छ । उनले भने, ‘अब हिजोका संरचना बासी हुँदै गए । हिजोका धारणाले अबका प्रश्नहरुका उत्तर पाइँदैन । नयाँ ढंगबाट सोच्नुपर्छ ।’

नयाँ तरिकाबाट समाजवादको व्याख्या कसरी गर्ने भन्ने विषयमा छलफल गर्न जरुरी रहेको नेता ज्ञवालीले बताए । ‘अबको समाजवाद कुनै एउटा पार्टीको पेवा सिद्धान्त होइन,’ ज्ञवालीले भने, ‘लक्ष्य के हुने भन्नेबारेमा टोलटोलमा छलफल चलाउनुपर्छ ।’

अमेरिका र चीनको उदाहरण दिँदै उनले अमेरिका जस्तो पुँजीवादी देश डरलाग्दो संकटबाट गुज्रिरहेको बताए । चीन खुला बजारबाट अगाडि बढिरहेको नेता ज्ञवालीको भनाइ छ । उनले भने, ‘अमेरिका जस्तो देश जस्ले पुँजीवादको नेतृत्व गरिरहेको छ, ऊ नै बेलाबेला हच्किएको समाचार हामी पढन पाइरहेका छौँ ।’ उनले समाजवाद नै विश्व हाँक्न सक्ने सिद्धान्त रहेछ भन्ने विषयमा विश्वमा बहस भइरहेको बताए । उनले विश्वमा चलनमा आएको ८ घन्टा काम, ८ घन्टा आराम र ८ घन्टा मनोरञ्जन समाजवादकै उपज भएको बताए । उनले नेपालको समाजवादी आन्दोलनलाई कसैले उल्ट्याउन नसक्ने दाबी गरे ।

नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले नेपालमा समाजवादको बहस नै जोडदार चलाउनुपर्ने बताए । उनले सबभन्दा पहिला समृद्ध बहसको आवश्यकता भएको बताए । नेता श्रेष्ठले बहसले नै नयाँ अवधारणा आउने बताए । उनले भने, ‘समाजवादको बहस घनीभूत नभई समाजवादतर्फ पुग्ने रणनीतिक लक्ष्य पूरा हुन सक्दैन ।’

नेता श्रेष्ठले अब समाजवादतर्फ देशलाई र्डोयाउने हो भने विकास नगरी सुख नभएको बताए । उनले भने, ‘म तीनपटक भन्छु विकास, विकास फेरि विकास ।’ तर, नेताहरुले काम गर्ने क्षमता राखेनन् भने समाजवादको सिद्धान्तले हावा खाने उनले बताए ।

यसैबीच, नेताहरुले पार्टी एकतालाई अब कसैले चाहेर पनि रोक्न नसक्ने दाबी गरे । केही प्राविधिक कारण भए पनि त्यसलाई हल गरेर आगामी वैशाख ९ गते नै पार्टी एकता हुने उनीहरुको जिकिर थियो । नेताहरुले पार्टी एकताको प्रक्रिया कुनै पनि कोणबाट अवरुद्ध हुन नसक्ने दाबी गरेका छन् । नेता ज्ञवालीले कसैको जोडघटाउका कारण पार्टी एकता प्रभावित नहुने बताए । ‘पार्टी एकताको बारेमा व्यक्तिलाई के लाग्छ त्यो तपसिलको विषय हो’, उनले भने, ‘पार्टीको बृहत एकताका निम्ति पद, पोजिसन केही पनि होइन, पार्टी एकता हुन्छ ।’

त्यस्तै, पार्टी एकता संयोजन समितिका सदस्य समेत रहेका श्रेष्ठले पार्टी एकता कम्युनिष्ट पार्टी स्थापना दिवसका दिन वैशाख ९ मा नै गर्ने मोटामोटी समझदारी बनाएको धारणा व्यक्त गरे । ‘सोमबार बस्ने समितिको बैठकले वैशाख ९ मै पार्टी एकता गर्ने गरी छलफल गर्छ’, उनले भने, ‘कदम्कदाचित केही दिन ढिलो भई हाले पनि पार्टी एकता हुन्छ ।’

Facebook Comments