मोरङमा ढुंगा-गिट्टीको अवैध उत्खनन बढ्यो

विराटनगर, वैशाख । मोरङमा अवैध रुपमा ढुंगा र गिट्टी उत्खनन बढेपछि प्रहरीले सक्रियता बढाएको छ । यसैक्रममा सोमबार एकएकवटा स्काभेटर र टिप्पर नियन्त्रण गरिएको छ ।

केराबारी गाउँपालिका ७ मुगुस्थित खदम खोलाबाट ‘अनटेस्ट’ लेखिएको स्काभेटर र ढुंगा लोड गरिरहेको ना. ७ ख ६९१२ नम्बरको टिप्पर नियन्त्रणमा लिइएको हो । प्रहरीले भण्डारण स्थलबाट करिब ५ हजार घनमिटर ढुंगा समेत सिज गरी आवश्यक कारबाहीका लागि इलाका वन कार्यालय केराबारीको जिम्मा लगाएको छ ।

यसबाहेक १५ दिनयता चुरे संरक्षण क्षेत्रबाट अवैध रुपमा ढुंगा, गिट्टी, बालुवा दोहन तथा ओसारपसारमा संलग्न ५ टिप्पर, ४ ट्याक्टर र ४ स्काभेटर र करिब ५ हजार घनमिटर ढुंगा नियन्त्रण गरिसकिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यसैगरी, उर्लाबारी क्षेत्रका खोलामा अवैध उत्खनन तथा वन फँडानी बढेको छ । च्यानल निर्माणका नाममा स्थानीय तहको संरक्षणमै खोलाको उत्खनन र वन फँडानी बढेको स्थानीयले आरोप लगाएका छन् ।

वडा नम्बर ४ स्थित सोल्टी खोलामा झन्डै ३ किलोमिटर र वडा नम्बर १ स्थित मिक्लु खोलामा ५ सय मिटर ढुंगारगिट्टी र बालुवा उत्खनन गरिएको उनीहरुले बताएका छन् । त्यस्तै, उर्लाबारी ७ को सरकारी वनमा जथाभावी रुख कटान भइरहेको स्थानीयले बताएका छन् । आमा मिलन केन्द्रको निजी जंगल फँडानीको नाममा सरकारीर पर्ती जग्गाको रुख समेत काटिएको स्थानीयले बताए ।

उर्लाबारी नगरपालिकाका प्रमुख खड्गबहादुर फागोको एकल निर्णयले प्राकृतिक स्रोतको दोहन भएको भन्दै स्थानीयले प्रदेश १ का आन्तरिक मामिला तथा योजनामन्त्री हिक्मत कार्कीसँग गुनासो गरे । गुनासोपछि मन्त्री कार्की नेतृत्वको टोलीले गत शनिबार सो क्षेत्रको अनुगमन पनि गरेको छ । टोलीमा प्रदेशसभा सांसद कुशल लिम्बू, मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य लगायत थिए ।

अनुगमनका क्रममा उपस्थिति रहेकी उर्लाबारी नगरपालिकाकी उपप्रमुख लक्ष्मी भण्डारीले खोला उत्खनन र वन फँडानीबारे अनभिज्ञता प्रकट गरिन् । तर, कार्यपालिकाको बैठकले ‘च्यानल’ खोल्न ४५ लाख रुपैयाँ विनियोजन गर्ने निर्णय गरेको उनले जानकारी दिइन् ।

मानव बस्ती नै जोखिममा पर्नेगरी भइरहेको खोलाको उत्खनन रोक्नेतर्फ समयमै ध्यान नदिएको भन्दै अनुगमनका क्रममा मन्त्रीसहितको टोलीले सर्वसाधारणको खप्की समेत खानुपरेको छ । आक्रोशित स्थानीयबासीले ‘खोलामा यत्रो उपद्रो हुँदा तपाईंहरु कहाँ हुनुहुन्थ्यो, प्राकृतिक स्रोतको संरक्षण र जनताको सुरक्षा तपाईंहरुको दायित्वमा पर्दैन ?’ भन्दै असन्तुष्टि पोखेका थिए ।

खोला र जंगलमा भइरहेको बेथिति रोक्न खोज्दा नगर प्रमुख फागोले हप्किदप्की र धम्की समेत दिएको उर्लाबारी-४ का महेश ढकालले बताए । लोडर र स्काभेटरको प्रयोग गरी दैनिक २/३ सयभन्दा बढी टिप्परले बालुवा/गिट्टी निकासी गरिरहेको उनको भनाइ छ ।

बेतिनी सामुदायिक वन उपभोक्ता समूहका सदस्य मिलन दाहालले खोला उत्खननले सामुदायिक वन र बस्तीलाई असर गर्ने भन्दै यस्ता गलत कार्य तत्काल रोक्न आग्रह गरे । निजी वनका नाममा सरकारी वनको रुख काटिएको विषयमा अनुगमन गर्न जिल्ला वन कार्यालयलाई निर्देशन दिइएको आचार्यको अचार्यको भनाइ छ । आन्तरिक मामिला तथा योजनामन्त्री कार्कीले अवैध निकासी प्रमाणित भए कसैलाई उन्मुक्ति नदिने प्रतिबद्धता व्यक्त गरे ।

Facebook Comments