बौद्ध जयन्तीमा सामाजिक अभियन्ताहरु सम्मानित

भद्रपुर, वैशाख १७ । झापाको बहुधार्मिक संयुक्त स्थल कमलधापमा सोमबार रचनात्मक कार्यक्रमका साथ २५६२ औँ बुद्ध जयन्ती मनाइएको छ ।

सो समारोहमा जातीय सद्भाव र मेलमिलापको उत्कृष्ट उदाहरण प्रस्तुत गरिएको थियो । एउटा संस्था प्रमुख आयोजक रहे पनि विभिन्न जातजातिका बौद्धमार्गीहरुको विभिन्न संगठनहरुले कार्यक्रममा सक्रिय सहभागिता जनाएका थिए । भद्रपुर–२ अन्तर्गत रहेको धार्मिक तथा पर्यटकीय स्थल कमलधापमा मुख्य आयोजक याम्बु छोयलिङ गुम्बा भद्रपुर नगर समितिका अध्यक्ष टिकाराम गुरुङको अध्यक्षतामा आयोजित समारोहको प्रमुख अतिथि झापा क्षेत्र नम्बर ३ का प्रदेश सांसद वसन्त बानियाँले उद्घाटन गरेका थिए ।

शान्तिका अग्रदूत गौतम बुद्धको जीवनीमाथि मुख्य रुपमा चर्चा गरिएको सो समारोहमा समाज रुपान्तरणमा अहम् भूमिका निर्वाह गर्दै आएका स्थानीय चारजना व्यक्तित्वहरुलाई सम्मान पनि गरिएको थियो । सम्मानित भद्रपुर–२ निवासी कुलबहादुर गुरुङ र मिश्रा गुरुङ, भद्रपुर–७ निवासी लक्ष्मी सरोजा गुरुङ र कचनकवल–६ निवासी हर्कराज गुरुङलाई प्रमुख अतिथि सांसद बानियाँ र विशिष्ट अतिथि भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले दोसल्ला ओढाएर सम्मानपत्रले सम्मानित गरेका थिए ।

सांस्कृतिक प्रस्तुतिसमेत रहेको समारोहमा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि बानियाँले भगवान बुद्धले देखाएको मार्ग पहिल्याउन सक्दा नेपाली समाज र देशले शान्ति तथा समृद्धि हासिल गर्न धेरै समय नलाग्ने उल्लेख गरे । यसैगरी, भद्रपुर नगर प्रमुख श्रेष्ठले वर्षौंदेखि कमलधापमा स्थापित जातीय, सामुदायिक सद्भाव तथा एकता अनुकरणीय रहेको भन्दै आपसी भाइचारा र मेलमिलापले मात्र समाज विकासमा सहयोग पुग्ने उल्लेख गरे ।

समाजका अगुवा व्यक्तित्वहरु सनिप भुजेल, क्यानेन्द्र लिम्बू, होम गुरुङ, चन्द्र तामाङ, कौशिल्या अधिकारी, मेदिनी शिवाकोटी, उषा गुरुङ, सीता गुरुङलगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन शिव गुरुङले गरेका थिए भने धनमाया गुरुङले स्वागत गरेकी थिइन् ।

Facebook Comments