हिपहपकोे उपाधि धुलाबारीलाई

काँकरभिट्टा, वैशाख  । पूर्वाञ्चलस्तरीय हिपहप डान्स च्याम्पियनसिपको उपाधि धुलाबारी डान्स सेन्टरले हात पारेको छ ।

विश्व नृत्य दिवसको सन्दर्भ पारेर आइतबार काँकरभिट्टामा आयोजित नृत्य प्रतियोगितामा प्रथम बनेको धुलाबारीले नगद १५ हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र पुरस्कार जितेको हो ।

मेची सामुदायिक भवनमा सम्पन्न प्रतियोगितामा द्वितीय स्थान हासिल गरेको ड्रिम डान्स क्रियु बिर्तामोड र तृतीय भएको आरटी डान्स एकाडेमी काँकरभिट्टाले क्रमश: नगद ७ हजार र ४ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाएको छ ।

युनिक मुभमेन्ट डान्स सेन्टर र प्रेmन्डसिप डाइरेक्सन क्लब काँकरभिट्टाद्वारा संयुक्त रुपमा आयोजित प्रतियोगिताको उद्घाटन प्रदेशसभा सदस्य श्रीप्रसाद मैनालीले गरेका थिए ।

आयोजक सेन्टरको प्रथम वार्षिकोत्सवको समेत अवसर पारेर आयोजना गरिएको प्रतियोगिताका विजयी नृत्य समूहलाई प्रमुख अतिथि प्रदेशसभा सदस्य मैनाली, मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापा, झापा नृत्य कलाकार संघका अध्यक्ष एलसी श्रेष्ठ, युवा संघ नेपालका सचिव राजु कार्कीलगायतले बधाइ दिएका थिए ।

सो अवसरमा मेचीनगर वडा नम्बर ६ का अध्यक्ष ललित तामाङ, झापा नृत्य कलाकार संघका वरिष्ठ उपाध्यक्ष पदम तामाङलगायतको आतिथ्यता रहेको सेन्टरका सञ्चालक चन्दन राजवंशीले बताए । पूर्वी नेपालका ख्यातिप्राप्त विभिन्न १२ वटा नृत्य प्रशिक्षण केन्द्रका नृत्यकारहरुले सामुहिक नृत्य प्रस्तुत गरेका प्रतियोगिताको निर्णायकहरुमा झापा नृत्य कलाकार संघका महासचिव राजकुमार लाओती, उपाध्यक्ष कृष्ण तामाङ र नृत्य निर्देशक विक्रम विक थिए ।

आयोजक सेन्टरका अध्यक्ष अफरोज खानको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन आयोजक क्लबका अध्यक्ष अभिजित दवाडीले गरेका थिए । प्रतियोगिताको उपाधि हात पारेको धुलाबारी डान्स सेन्टरका सञ्चालक एवम् नृत्य प्रशिक्षक विक्रम गेलालका अनुसार सन् १९८२ देखि विश्वव्यापी रुपमा नृत्य दिवस मनाउन सुरु गरिएको हो ।

Facebook Comments