झापामा सिन्डिकेट पक्षधर आठ यातायात व्यवसायी पक्राउ

बिर्तामोड, वैशाख २१ । सिन्डिकेट माग गर्दै यातायात बन्द गरेका यातायात व्यवसायीलाई सरकारले पक्राउ गर्न थालेको छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि झापामा मेची बस व्यवसायी संघका अध्यक्ष मोहनप्रकाश उप्रेतीसहित आठजना पक्राउ परेका छन् ।

झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार दिउँसो २ बजेसम्म उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सगरमाथा यातायात प्रालिका प्रबन्ध निर्देशक वसन्त तिवारी, राजकुमार पाण्डे, श्याम थापा र खगेन्द्र उप्रेती छन् । त्यस्तै, नागरिक यातायात प्रालिका कृष्ण काफ्ले, हिमाल यातायात प्रालिका उपाध्यक्ष भूपाल ओली र पूर्वी नेपाल यातायात संघका अध्यक्ष केशव गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको दाहालले जानकारी दिए ।

उनीहरुलाई काँकरभिट्टास्थित बसको टिकट काउन्टरबाट नियन्त्रणमा लिइएको हो । केहीलाई भने बसको कार्यालयबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्ने थाहा पाएपछि केही सिन्डिकेट पक्षधर व्यवसायी भने सम्पर्कविहीन भएको दाहालले बताए । उनीहरु भारततर्फ गएको हुन सक्ने प्रहरीको अनुमान छ ।

यातायात क्षेत्रमा हड्ताल गरेर कानुन उल्लंघन गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले संघ र समितिका अन्य पदाधिकारीलाई पनि खोजी गरिरहेको छ ।

बस व्यवसायीले सेवा ठप्प पारेर हड्तालमा उत्रेपछि सर्वसाधारण यात्रुहरु मर्कामा परेका छन् । यातायात व्यवसायलाई कम्पनीमा दर्ता गरेर सञ्चालन गर्नुपर्नेलगायतको व्यवस्थासहितको यातायात कार्यविधि निर्देशिका संशोधन गरेपछि व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।
यसैबीच, व्यवसायीहरु धमाधम पक्राउ पर्न थालेपछि झापामा बसका टिकट काउन्टरहरु खुल्न थालेको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए ।

Facebook Comments