बिर्तामोडमा प्रोजेक्ट वानको भव्य कन्सर्ट हुने

बिर्तामोड, वैशाख २३ । झापाको बिर्तामोडमा जेठ २ गते बृहत् कन्सर्टको तयारी भएको छ । ‘फेरि उठ्नेछ नेपाल’ सांगीतिक कार्यक्रम बिर्तामोडस्थित सुगम पेट्रोल पम्प नजिकैको मैदानमा हुन लागेको हो ।

नेपथ्यले २०७२ को भूकम्पपछि सुरु गरेको यो सांगीतिक अभियानको चौथो संस्करण देशभर हुने भएको छ । चौथो संस्करणको जिम्मेवारी प्रोजेक्ट वान ब्यान्डले पाएको हो । प्रोजेक्ट वान विभिन्न ब्यान्डका कलाकार मिसिएर बनेको नयाँ ब्यान्ड हो । जसको संस्थापक विकास कायस्थ रहेका छन् । कार्यक्रममा मुक्ति शाक्य, रविन तामाङ, स्वप्निल शर्मा, निरान शाही, निखिल तुलाधर, हरि महर्जन, रोशन कंशाकारलगायत कलाकारले सांगीतिक प्रस्तुति दिनेछन् ।

ब्यान्ड वागन वाई पोजिटिभ भाइब्स काठमाडौँको आयोजनामा हुन लागेको कार्यक्रमको स्थानीय संयोजनको जिम्मेवारी बिर्तामोडस्थित टिम एफएसवाइसी ग्रुपले पाएको कार्यक्रम संयोजक विशाल अग्रवालले जानकारी दिए । कार्यक्रमको उद्देश्य संगीतको माध्यमबाट एकताको सन्देश दिने र युवालाई उत्प्रेरित गर्ने रहेको आयोजक समितिका सदस्य निकेश लिम्बूले जानकारी दिए ।

भूकम्पले राष्ट्रमा ठुलो क्षति पुगेपछि संगीत यात्राको माध्यमबाट ‘फेरि उठ्नेछ नेपाल’ सन्देश दिन हरेक वर्ष कार्यक्रम हुँदै आएको छ । कार्यक्रमको मुख्य प्रायोजन अर्ना बियरले गरेको छ ।

Facebook Comments